site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था छैन : अर्थमन्त्री 
फाइल तस्बिर ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्षका लागि विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सक्ने अवस्था नरहेको बताएका छन् ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र र राष्ट्रिय आर्थिक सरोकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको ‘आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सन्दर्भमा छलफल तथा सुझाव संकलन कार्यक्रम’मा अर्थमन्त्री महतले स्रोतका सीमितताका कारण ठूलो आकारको बजेट ल्याउन सम्भव नहुने बताएका हुन् ।

“अहिले सबैभन्दा ठूलो चुनौतीका रूपमा राजस्वको न्यूनता देखिएको छ । विस्तारकारी र ठूलो आकारको बजेट ल्याउन सीमितता छन्,” उनले भने ।

अर्थतन्त्र सुधारका लागि सरकार र अर्थमन्त्रीका रूपमा आफूले अधिकतम प्रयास गरिरहेको उनको भनाइ छ । “अर्थ मन्त्रालयमा आएपछि मैले धेरै समस्याहरू देखे । जति बाहिर बसेर हेर्दा देखिन्थ्यो, त्योभन्दा धेरै समस्या रहेछन् । तर, म सबै समस्या निवारण गर्न सक्छु भन्ने होइन । सुधारका लागि इमानदार प्रयास हुनेछ,” अर्थमन्त्री महतले भने ।

उनले अर्थतन्त्र सुधारका लागि जादु गरेजस्तो आजको भोलि नतिजा नआउने भन्दै यसका लागि धैर्यता चाहिने बताए । “धैर्यता नागरिकले गर्ने तर सरकारले प्रयास नगर्ने भन्ने हुँदैन,” उनले भने, “अर्थतन्त्र सुधारका लागि राज्य संरचनाको सम्पूर्ण प्रयास रहनेछ ।” उनले यसका लागि निजी क्षेत्रको पनि सहयोग चाहिने बताए ।

अहिले सार्वजनिक ऋणको साँवा–ब्याजको दायित्व निकै बढेको अर्थमन्त्री महतको भनाइ छ । भूकम्पपछिको पुनर्निर्माणका लागि लिएको ऋणको साँवा अर्को वर्षबाट तिर्नुपर्ने दायित्व आएको उनले बताए ।

बजेट विनियोजनमा कुशलता र कार्यान्वयनमा क्रियाशीलताका लागि पनि सरकारको जोड रहने उनले उल्लेख गरे ।

“हाम्रा संरचनामा धेरै ठूलो सुधार आवश्यक छ । बजेटको प्रभावकारिता बढाउनुपर्नेछ । अहिलेको समस्या पुँजीगत खर्च नहुँदा बजारमा चाहिएजति पुँजी प्रवाह भएको छैन,” उनले भने, “अर्कोतर्फ, बैंकिङ प्रणालीमार्फत पनि पुँजी प्रवाह हुन सकेको छैन ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले विभिन्न क्षेत्रबाट आएका सुझाव आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रयास गरिने बताए । बजेटमा समेटिन नसकेका विषय १६औँ आवधिक योजनामा समेटिने उनले बताए ।

पूर्वमुख्यसचिव लीलामणि पौड्यालले सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा भएको लगानीले पुँजी निर्माण गर्न र रोजगारी सिर्जना गर्न नसकेको बताए । ऋण लिएको रकम पनि अनुत्पादक क्षेत्रमा खर्च भइरहेको उनले बताए ।

अहिले अर्थतन्त्रमा देखिएको समस्या एकैपटक आएको नभई पछिल्ला तीन दशकयताका नीतिको नतिजा रहेको उनको भनाइ छ । “विगत तीन दशकदेखिका नीतिको सांगोपांगो नतिजा अहिले देखिएको हो । गलत नीतिका कारण थुप्रिएका समस्या हुन्,” उनले भने ।

बढ्दो चालु खर्च र खुम्चिएको राजस्वका कारण सिर्जित वित्तीय असन्तुलन अहिलेको चुनौती भएको उनले बताए ।

अब पूर्वाधारकेन्द्रित बजेट नभई जनताका आधारभूत आवश्यकताकेन्द्रित बजेट बनाउन आवश्यक रहेकामा उनले जोड दिए । आयोजना र कार्यक्रमको प्राथमिकीकरण हुन नसकेको उनले उल्लेख गरे ।

कार्यक्रममा प्रा. डा. शिवराज अधिकारीले नेपालमा भइरहेको लगानीअनुसार आर्थिक वृद्धिदर देखिन नसकेको र आर्थिक वृद्धिदरको तुलनामा रोजगारी सिर्जना हुन नसकेको बताए ।

“लगानी बढेको छ, तर त्यसको तुलनामा आर्थिक वृद्धिदर बढेको देखिँदैन । रोजगारी पनि बढेको छैन । सार्वजनिक ऋण र लगानी बढ्ने तर आर्थिक वृद्धिदर नबढ्ने भनेको पक्कै यहाँ केही समस्या छ,” अधिकारीले भने । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro