
काठमाडौं । ‘प्रहरी दमन मुर्दावाद, शैक्षिक दलाल होसियार, शिक्षक कुट्न पाइँदैन, शिक्षकलाई सम्मान गर,’ शिक्षक आन्दोलनको २७औँ दिन बबरमहलमा गुञ्जिएको नारा हो, यो । २५ दिनसम्म हरेक दिन भाषण, बाजागाजा, जादु देखाउने, नाचगान र देउडा खेल्दै विद्यालय शिक्षा ऐन माग गरिरहेका हुन्थे शिक्षकहरु । तर, २६औँ दिनमा एकाएक झडपको स्थिति बन्यो ।
त्यसपछि शिक्षकहरु प्रहरी र सरकारविरुद्ध झनै आक्रामक बने । सोमबार बिहान ११ बजे सुरु भएको आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीहरु सवार गाडी बबरमहलबाट बानेश्वरतर्फ अघि बढ्दै थियो ।
नयाँ बानेश्वरको आकाशेपुलभन्दा अघिल्तिर प्रहरीको निषेधित क्षेत्र छ । आन्दोलनको अग्र मोर्चामा खटिएका शिक्षकहरु प्रहरीको घेराभन्दा अगाडि नै रोकिए । त्यसपछि महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अगाडि नबढ्न अपिल गरिन् ।
“शिक्षक साथीहरु कतिपय घाइते हुनुहुन्छ । अब अगाडि नबढौँ । हामी आज संयमित भएर कार्यक्रम गर्नेछौँ । भोलिदेखि यो सरकार जसरी प्रस्तुत हुन्छ । त्यसरी नै प्रतिरोध गर्छौँ,” उनले भनिन् ।
महासंघका पदाधिकारीहरुले गाडीमाथिबाटै शिक्षकहरुलाई सम्बोधन गरे ।
त्यसैबीचबाट महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने, “हिजो राज्यले भिजेलान्तेहरु पठाएर शिक्षक आन्दोलन भाँड्यो । आज स्वयम् सेवक साथीहरु चनाखो रहनुहोला ।”
“हिजो शिक्षकमाथि भएको प्रहरी दमनको घोर भत्र्सना गर्दछौँ । तपाईंहरुका सबै बुँदा विद्यालय शिक्षा ऐनमा समेटिएका छन । तपाईंहरु डटिरहनुस्,” उनले थपे ।
यत्तिकैमा एकृकीत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल पनि आन्दोलनमा ऐक्यवद्धता जनाउन पुगे ।
त्यसपछि सञ्चारकर्मीसँग बोल्दै खनालले भने, “शिक्षकहरूको झन्डै एक महिना पुगिसकेको आन्दोलनको मागलाई नसुनिकन जसरी तानाशाही दमनचक्रमा उभिन खोजिरहेको छ सरकार, यसको हामी घनघोर भत्र्सना गर्दछौँ, विरोध गर्दछौँ । यो सरकारको अकर्मन्यता जनविरोधी शिक्षाविरोधी चरित्र हो । यसप्रकारको चरित्रको हामी विरोध गर्छौं ।”
सडकमा शिक्षक आन्दोलन भइरहेका बेला प्रतिपक्षी दल प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, आमजनता पार्टीले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्नेबारेको छलफलका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् ।
आइतबारको आन्दोलनमा शिक्षक र प्रहरीबीच दोहोरो झडप हुँदा प्राइम टेलिभिजनकी पत्रकार सबिना कार्कीसहित ६२ जना घाइते भएको महासंघको भनाइ छ । झडपमा घुसपैठ भएको आरोप महासंघको छ ।
कार्कीको तिलगंला अस्पताल र शिक्षकहरुको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
सामान्य घाइते शिक्षकहरु व्यान्डेजसहित आन्दोलनमा सहभागी भए । शिक्षकहरुलाई जबरजस्त विद्यालय पठाउन खोजेको भन्दै शिक्षकले सरकारको चर्को विरोध गरे ।
सरकारसँगको निर्णायक र अन्तिम आन्दोलन भएकाले देशभरका शिक्षकहरुलाई काठमाडौं आउन महासंघले आह्वान गर्दै आएको छ ।
सहअध्यक्ष पराजुलीले आज हिजोको भन्दा दोब्बर संख्यामा शिक्षकको उपस्थिति रहेको बताइन् ।
“शिक्षक साथीहरु स्वतःस्फूर्त तरिकाले आउनुभएको छ । हिजो भन्दा आज दोब्बर संख्या छ । हिजो ३५ हजार जति शिक्षक थिए । आज ५० हजार शिक्षक सडकमा उत्रिए । सरकारले अहिलेसम्म थप वार्ताका लागि बोलाएको छैन,” उनले भनिन् ।
घाइते शिक्षक भन्छन् –राज्यले जति बर्बरतापूर्वक यातना दिए पनि सडक छोड्दैनौँ
आन्दोलनको २७औँ दिन घाइते शिक्षकहरु पनि सडकमा आइपुगे । उनीहरुले राज्यले जति दमन र बर्बरतापूर्वक यातना दिए पनि सडक नछोड्ने बताए ।
पहिलो दिनदेखि शिक्षक आन्दोलनमा आएका राजकिशोर साह पानीको फोहोरा प्रहरीको लाठी प्रहारबाट घाइते भएका थिए । त्यसपछि उनलाई एभरेष्ट अस्पताल लगिएको थियो । उनको घाँटीमा चोट लागेको थियो ।
उनी भन्छन्, “घाँटीमा चोट लागेको छ । राज्यले जति बर्बरतापूर्वक यातना दिए पनि सडक छोड्दैनौँ । जबसम्म शिक्षा ऐन आउँदैन तबसम्म सडकमै हो । शिक्षा ऐन जारी भए मात्रै यहाँबाट फर्किन्छौँ ।”
अधिकांश घाइते ‘डिस्चार्ज’
नेपाल शिक्षक संघका उपमहासचिव नारायण तिमल्सिनाका अनुसार घाइते ६२ जनामध्ये ४५ जनालाई एभरेष्ट अस्पताल, सिभिल अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको थियो ।
कुल घाइतेमध्ये पत्रकार कार्कीसहित १० जना गम्भीर थिए । १७ जना सामान्य घाइते भएका थिए ।
“आधाभन्दा बढी घाइतेहरु डिस्चार्ज भइसक्नु भएको छ । गम्भीर घाइते भएकी पत्रकार साथीको तिलगंगामा उपचार भइरहेको छ । त्यस्तै तीन शिक्षक साथीहरुको पिडौँला फर्किएको थियो । एक जनाको गर्धनमा टाँका लगाउनुपरेको छ,” तिमल्सिनाले भने ।
सात बुँदे, १४ बुँदे होइन शिक्षा ऐन अन्तिम गन्तव्य
शिक्षा ऐन मन्त्रिपरिषद्मा टेबल गर्नका लागि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलले सात बुँदे सहमति तयार पारेको छ । तर, आक्रोशित शिक्षकहरुले सबै मागहरु सम्बोधन गर्नुपर्ने अडान लिएका छन् ।
अध्यक्ष सुवेदीले भने, “सातबुँदे सहमति, १६ बुँदे सहमति भनेर तपाईं भ्रममा नपर्नुहोला । शिक्षा ऐनमा यो समेटिएन त्यो समेटिएन भनेर भ्रम छर्न खोजिएको छ । हामीलाई ऐन चाहिएको हो । त्यसमा सबै शिक्षकका मागहरु छन् ।”
प्रारम्भिक बालविकास सहजकर्ता (ईसीडी) का शिक्षकको तलब १७ हजार ३०० बनाउने, ग्रेड समायोजन, दुर्गम भत्ता उपलब्ध गराउने, मर्यादाक्रम कायम गर्ने, सामाजिक सुरक्षा कोषको नयाँ प्याकेज बनाउने, निजामती अस्पतालबाट शिक्षाको उपचारमा छुटको व्यवस्था गर्नुपर्ने बुँदा लगायत छन् ।
तर, शिक्षकहरुले सरकारले पटक–पटक आश्वासन दिँदै आए पनि माग पूरा नगरेकाले ऐन मन्त्रिपरिषद्मा टेबल नभएसम्म आन्दोलन जारी राख्ने घोषणा गरेका छन् ।
आन्दोलनको मोडालिटी परिवर्तनको अभ्यास
एकै किसिमको आन्दोलन मोडालिटी अबलम्बन गर्दै आएको महासंघमाथि नै शिक्षकहरुले प्रश्न उठाउने बेला भएको बताएका छन् ।
आइतबारको झडपपछि बसेको आकस्मिक बैठकपछि देशभरका शिक्षक नआइपुगेकाले शिक्षक आन्दोलन आंशिक भएको र सरकारलाई दबाब नपरेको आवाज उठेको थियो ।
त्यस्तै आन्दोलनको फरक फरक मोडालिटी लागु गर्नुपर्ने कतिपय शिक्षक घटकहरुको माग छ ।
सहअध्यक्ष पराजुली भन्छिन्, “आइतबार झडप भएपछि हामीले आकस्मिक बैठक डाकेका थियौँ । सो बैठकमा विविध विषयमा समीक्षा भएको छ । आज शान्तिपूर्ण आन्दोलन भयो । अब सरकार जसरी प्रस्तुत हुन्छ । शिक्षकहरुले पनि त्यसरी नै प्रतिकार गर्नेछन् ।”
महासंघलाई विभिन्न किसिमका आन्दोलनको मोडालिटी अबलम्बन गर्न शिक्षकहरुले दबाब दिइरहेका छन् ।
आगामी दिनहरुमा विभिन्न चोक–चोकबाट जुलुस निकाल्ने, सिंहदरबार, बालुवाटार, संसद भवन घेराउ गर्ने, सामुहिक गिरफ्तारी दिने खालका मोडालिटी अबलम्बन गर्नेबारे समिक्षा भएको महासंघले जनाएको छ ।
महासंघप्रति शिक्षकहरुको गुनासो– खर्च सकियो कहिले टुंगो लगाउने ?
आन्दोलनरत केही शिक्षकहरुले महांसघप्रति असन्तुष्टि जनाइरहेका छन् । करिब एक महिनासम्म आन्दोलन गर्दा पनि महासंघका पदाधिकारीले कुनै टुंगो लगाउन नसकेको गुनासो शिक्षकहरुको छ ।
महासंघको समीक्षा बैठकमा भेटिएका एक शिक्षकले भने, “काठमाडौंका सरकारी विद्यालयहरु सञ्चालन भइरहेका छन् । दुर्गमका विद्यालय मात्रै बन्द गर्ने ? देशभर आम शैक्षिक हडताड भनेका छौँ । तर, आंशिक मात्रै भयो । कतिपय शिक्षक साथीहरु खर्च नभएर घर फर्किइसक्नुभयो । अझै कति दिन बस्नुपर्ने हो ?”
घुसपैठ भएकै हो ? के भन्छ प्रहरी ?
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले शिक्षकहरु आक्रामक बन्दा प्रहरीले सामान्य बल प्रयोग गर्नुपरेको बताए । शिक्षक आन्दोलनमा घुसपैठको आरोपमा शिक्षकहरुले एक जनालाई कुटपिट गरेका थिए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
तर, प्रहरी सोधपुछका क्रममा शिक्षक आन्दोलनमै सहभागी हुन आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका ३ स्थित श्री बोल्दे आधारभूत विद्यालयका कार्यालय सहयोगी पेम्बु नुर्बु तामाङ रहेको खुलेको थियो ।
घुसपैठको आरोपमा उनको कपडा च्यातेर शिक्षकहरुले नै कुटपिट गरेका थिए ।