-1745829512.jpg)
काठमाडौं । बबरमहल–बानेश्वर क्षेत्रमा शिक्षकहरूको आन्दोलन चलिरहेका बेला माइतीघरमा एकाएक ‘अर्धनग्न’ अवस्थामा महिलाहरूको प्रदर्शन देखियो । मुख र टाउकोमा कालोपट्टी बाँधेर कालो पेटीकोट लगाएर महिलाहरूले प्रदर्शन गरेका थिए । यो प्रदर्शन सहकारीबाट पीडित भएका भन्नेहरूको थियो ।
एकाएक नभएर यो प्रदर्शन गएको चैत १७ गतेदेखि नियमित भइरहेको सहकारीपीडित बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघका अध्यक्ष कुशलभ केसीले बताए ।
महासंघद्वारा यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आएकोमा प्रदर्शनशैली सोमबार फरक थियो । महासंघका अध्यक्ष केसीका अनुसार, सहकारीपीडितहरूले सरकारका विभिन्न निकायमा पुगेर ध्यानाकर्षण गराएका छन् । तर, सरकारले यसअघि भएका सम्झौता कार्यान्वयन नगरेको केसी बताउँछन् ।
“हामीले ध्यानाकर्षण पत्र राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई दिएका छौँ,” उनले बाह्रखरीसित भने, “हामीसँग भएका सहमति सरकारले कार्यान्वयन गर्न सकेन । सरकारलाई दबाब दिनका लागि प्रदर्शनको शैली बदल्नु परेको हो ।”
सर्वाेच्च अदालतमा सहकारीसम्बन्धी मुद्दाको सुनुवाइ सोमबार भइसकेको छ । यसअघि यो मुद्दा सुनुवाइ नै नभइ हेर्दा हेर्दैमा राखिएको थियो । प्रदर्शनकारीले माइतीघरबाट बबरमहल पुलसम्म अर्धनग्न अवस्थामा पैदलयात्रा गरेर पुनः माइतीघरमा पुगी कोणसभा गरी समापन गरेका थिए ।
प्रदर्शनमा करिब १५ सय पीडितहरू सहभागी भएको अध्यक्ष केसीको दाबी छ । सहकारी र लघुवित्तबाट पीडित भएकाहरूले संयुक्त रूपमा यो प्रदर्शन गरेका थिए । केसीका अनुसार लघुवित्तबाट पीडित डेढ दुई सय थिए ।