site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चेतनको स्वाभिमान मन्त्र 
Sarbottam CementSarbottam Cement

होइन रहेछ ठूलो जन्मनु मात्र । भए पनि देश जुनसुकै । हुन्छौँ मात्र एक अंश पृथ्वीकै । हुन्छौँ थप्ने मात्र काम अर्बौँमा एक । भएर मात्र परिचय मान्छेको । नहुने आप्mनो लागि । होला उपलब्धि परिवारका लागि । बनेपछि परिपक्क उमेर र अनुभवले । खोज्दो रहेछ अर्थ जीवनको । थालिन्छ खोज्न अर्थ बाँचेको उमेरको पनि । पहिले आपूmले अनि समयले । गर्दो रहेछ प्रश्न समयसँगै समाजले पनि । गर्दो रहेछ खोजी देशले पनि ।

पाइँदैन उत्तर सोधिनेसँग । हुँदैन सोधिनहरूसँग पनि । हुन्छन् मात्र आफू र आफ्नो भन्नेबाहेक केही पनि । देखिए पनि टाढिएका जस्ता घरधुरीबाट । हुँदैनन् बन्नसकेका अरूका लागि । हुन्छन् बाँधिएका सीमारेखामा म र मेरो मात्र । तोड्न सक्छन् जसले जालो यस्तो । सक्छन् बन्न अरूका लागि पनि । हुँदैन सजिलो यस्तो गर्न जो कोहीलाई । हुन्छन् दुर्लभमा पनि दुर्लभ नै । बन्छन् एकजना लाखौँमा गन्दा पनि ।

चिनिनुभएको छ चेतन कार्की यसरी नै । नामैले बन्नुहुन्छ पर्याय नेपाली चलचित्रको । नाम आउँछ कालजयी गीतमा । हुनुहुन्थ्यो एक नम्बरमा नै राष्ट्रवादमा । जन्मनुभए पनि स्याङ्जामा । हुर्कनुभए पनि देहरादुन, भारतमा । पाउनुभए पनि शिक्षा त्यतै । दिनुभो देशलाई दिनसम्म । गर्नुभो योगदान सकुन्जेल सधैँभरि । सम्झनुभएर आमा आफ्नो माटोलाई । गरिरहनुभो सम्मान मातृभूमिलाई । गर्नु भएन बेइमानी पाउँदा जस्तै अवसर पनि । बन्नुभो उदाहरण इमानदारको । गर्नुभो गर्व आफ्नै देशप्रति । राख्नुभो सान देशकै सधैँ । मान पनि सधैँ देशकै । बनाउनुभो मन्त्र नै स्वाभिमानको ।

Prabhu Bank
Agni Group
NIC Asia

बन्दै गएको छ देश विभिन्न तन्त्रले । बढिरहेका छन् संख्या लोभीपापीहरूको । लिनलाई अलिकति फाइदा । राख्छन् धरौटी देशलाई समेत । बढिरहेकाले संख्या स्वार्थीहरूका । प्रवृत्ति नै जस्तो बनेको छ फेरिरहने रङ । गर्छन् बहस एक कित्ताबाट एक समय । गरिरहेका हुन्छन् अर्को कित्ताबाट अर्को समय । बनेको छ राष्ट्रिय खेलजस्तै । भइरहने प्रतियोगिता दिनका दिनजस्तै । चलन नै भएजस्तो । पाउनलाई अलिकति देखिने कुरा । गुमाउने धेरै नदेखिने कुरा । पूरा गर्न आफ्नो स्वार्थ । पार्छन् शिर नै अरूका पाइतालामा । बढिरहेको छ बहार विकृतिको । लागिरहेजस्तै मेला स्वार्थको जताततै ।

देखाउनुभो उभिएर पहाडजस्तै चेतन कार्की । सगरमाथाजस्तै स्वाभिमानको । नबेचेर आत्मा कहिल्यै । नझुकाएर शिर कहिल्यै । नसहेर अपमान कहिल्यै । नगरेर नमिल्ने सहमति कहिल्यै । बन्नुभएको छ आदर्शपुरुष चेतन कार्की ।

Global Ime bank

हुनुहुन्थ्यो देशभक्त कट्टर । हृदयले हुनुहुन्थ्यो शालीन । देखिन्थ्यो अनुहार सदाको हँसिलो । उज्याला थिए आँखाहरू बलिरहेका जस्ता सधैँ । देखिनुहुन्थ्यो सधैँको सफा र चिटिक्क । ध्यान दिनुहुन्थ्यो कुरा सानोसानोमा पनि ।

अक्षर थियो छापाजस्तै सुन्दर र सफा । बुझ्न सक्ने, जस्तै निरक्षरले पनि । थियो बोल्ने कला पनि रसिलो निकै । कलात्मक थियो भाषा पनि मन लाग्ने सुनिरहन । बोल्ने प्रस्टसँग जुनसुकै विषयमा पनि । थाक्नु भएन बोलेर कहिल्यै कुनै विषयमा पनि । हुन्थेन डर अलिकति पनि कसैसँग । बोलेजस्तै ढुक्कले । लेख्नुहुन्थ्यो लागेजस्तै आफूलाई । नभएजस्तै केही पनि नजानेका विषय ।

हुनुुहुन्थ्यो विरुद्धमा सधैँ बेइमान र भ्रष्टहरूको । हुन्थ्यो त्यही भएर आवाज प्रतिपक्षीजस्तै । नहोस् पनि कसरी ? हुनुहुन्थ्यो प्रखर नेपाली भाषामा । बढेहुर्केको भाषा भएकोले हिन्दीमा त्यत्तिकै । कुरै भएन अंग्रेजी भाषाको । बोल्नु र लेख्नुहुन्थ्यो उर्दू र बंगाली पनि । आउनासाथ सन्दर्भ भनिहाल्नुहुन्थ्यो श्लोक संस्कृतको पनि । पकड थियो साहित्यमा त्यस्तै । कविता, गीत, उपन्यास, नाटकहरूमा । बन्यो जीवन नै कलामय र संस्कृतिमय पनि ।

भन्नासाथ चलचित्र नेपाली । आइहाल्छ नाम चेतन कार्कीको । नभनिएको भए पनि पिता नेपाली चलचित्रको । गर्नुभएको थियो काम त्यस्तै नै । ब्रान्ड नै हुनुहुन्थ्यो पटकथा, संवादमा चेतन कार्कीको जस्तो । सदाबहार बनाउन सक्ने कला थियो गीतमा । टिप्न सक्ने लोकभाका टपक्कै । कला थियो झुन्ड्याउन सक्ने ओठओठमा । मिलाउन सक्ने गीतमा कथालाई ठ्याक्कै ।

लेख्नुभएको भए पनि गीत चलचित्रका लागि । बनेको छ संस्कृतिजस्तै तीजको गीतमा । ‘तीजको रहर आयो बरी लै...’ नबजेसम्म यो गीत, नआएजस्तो हुन्छ पर्व तीजको । ननाचेसम्म यो गीतमा छम्मछम्म, हुँदैन मनाएजस्तै चेलीलाई तीज । गाउनुभा’थ्यो नारायणगोपालले पनि उहाँकै गीत पहिले । चलचित्र ‘परिवर्तन’ मा ‘बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो...’, चलचित्र ‘कान्छी’ मा प्रकाश श्रेष्ठ र विमला राईको ‘कान्छी हे कान्छी, कान्छी केही त बोल न...’ लोकभाकाको । हुन् यी केही गीत नमुनाका । देखाउँछ यसैले सामर्थ्य चेतनगीतको ।

फर्किनुभाथ्यो देश अठार सालमा । पढेर देहरादुनबाट । हुनुहुन्थ्यो खेलाडी स्कुल–कलेजमा । बन्नुभो क्याप्टेन नै चार वर्ष आगरा युनिभर्सिटीको । फर्किनुभएपछि नेपाल डाकियो खेल्न फुटबल प्रहरीबाट । भन्नुभो दिए खेल्छु जागिर । जितेपछि खेल माग्नुभो पद डीएसपीको ।

नमिलेपछि खोज्नुभो पढाउन त्रिचन्द्रमा । आश्वासन थियो समाचार वाचनका लागि रेडियोमा । नभएपछि कतै पनि, हुनुभो स्थायी जागिरे मत्स्य विभागमा । बस्नुभो पोखरा, भएर हाकिम । क्वाटरनजिकैको फेवाताल । देखिने उठनासाथ माछापुच्छ«े हिमाल । पार्नु प्रभाव पारेपछि प्राकृतिक सौन्दर्यले । भयो त्यही बेला सम्बन्ध र संगत पनि त्यस्तै । जोडिनुभो मजाले साहित्य र कलासँग । भएको थियो मित्रता पनि कवि भूपी शेरचनसँग । चर्चित थिए उहाँहरूका अनेक सन्दर्भमा । साधनमा थियो सेतो घोडा । चर्चित छ सन्दर्भ सेतो घोडाको चेतन कार्कीसँग ।

लेख्नुभो ‘आत्मा बेचेको छैन’ नाटक त्यहीँ । सफल भयो अत्यधिक । असफल बनाउन लागेका थिए निमित्त अञ्चलाधीश । मनोरञ्जन नगराएको निहुँमा साथीभाइहरूलाई । प्रदर्शनीको एक दिनअघि रोक्न खोजेका थिए मञ्चन नै । बिक्री भइसकेको थियो सबै टिकट । निहुँ मात्र थियो पाण्डुलिपि स्वीकृति नगरेको । भएको हस्तलिखित नाटकको पाण्डुलिपि दियो त्यहीँ नै । थिएन फोटोकपीको जमाना । नभए पनि पाण्डुलिपि भयो मञ्चन मजाले । पाउनसम्म पायो चर्चा पनि ।

बनाउने भयो पहिलोपटक नेपाली चलचित्र सूचना विभागले । डाकियो निर्देशन गर्न हिरासिंह खत्रीलाई भारतबाट । राखियो नाम ‘चेतना’ । डाकियो चेतन कार्कीलाई सघाउन हिरासिंह खत्रीले । दिनुभो राजीनामा मत्स्य विभागबाट । वर्ष थियो पच्चीस साल । पाउनुभो जिम्मेवारी मुख्य सहायक निर्देशकको । नभएपछि लेख्ने पटकथा, संवाद र गीत । लगाइयो लेख्नलाई चेतन कार्कीलाई नै । थिएन अनुभव त्यस्तो केही पनि । लेख्नुभो आँट गरेर । बन्नुभो त्यहीँबाट मानक पटकथा, संवाद र गीतकार चलचित्रमा । ‘परिवर्तन’ राखियो नाम ‘चेतना’ चलचित्रलाई । प्रवेश गर्नासाथ चलचित्रमा । पाउनुभएको थियो ठूलाठूला अवसर । भए पनि चुनौती हुनसम्मको । पाउनु भएको थियो सफलता त्यस क्षेत्रमा ।

गर्न थाल्नुभएपछि काम शाही नेपाली चलचित्र संस्थानमा । बन्न थाले नेपाली चलचित्रहरू ‘मनको बाँध’ र कुमारी । लेख्नुभो संवाद दुवैमा । बन्नुभएको थियो निर्माण नियन्त्रक पनि । निजी क्षेत्रबाट बन्यो चलचित्र ‘कान्छी’ । लेख्नुभो त्यसमा पनि गीत र संवाद ।

मान्नुभयो गुरु नै हिरासिंहलाई । राख्नुभो पुरस्कार पनि । ‘हिरासिंह खत्री चलचित्र पुरस्कार’ ।

बनाउनुभएपछि चलचित्र ‘विश्वास’ । गर्नुभयो निर्देशन पहिलोपटक त्रिचालीस सालमा । थियो कथा उहाँकै । गर्नुभो पटकथा, संवाद पनि उहाँले नै । लेख्नुभो गीत पनि सबै । डाक्नुभएको थियो अभिनय गराउन मलाई पनि । गएको थिएँ नौडाँडामा पोखरा । बसेको थिएँ दिनभरि नै सकिएपछि पनि आफ्नो काम ।

होइन जोडिएको चेतन कार्कीसँग चलचित्रले मात्र । लागेको थिएँ कलाको क्षेत्रमा पनि । प्रेरित गर्नुभएको थियो लाग्नलाई साहित्यमा पनि । लेख्ने गर्थेँ रहरले कविता । सुनाउँथे कहिलेकाहीँ उहाँलाई । दिनुहुन्थ्यो सल्लाह सुधार्नलाई । रहरले नै निकालेको थिएँ कवितासंग्रह पैँतालीस सालमा ‘ललिता’ । लेखिदिनुभएको थियो शुभकामना उहाँले नै पहिलो कृतिमा । लेख्नुहुँदा मेरो नाम लेख्नुहुन्थ्यो श्री३म भनेर । भन्थेँ आफूले लेखेजस्तै लेखिदिन । मान्नु हुन्थेन र बताउनुहुन्थ्यो यसरी लेख्नुको कारण ।

रमाउन थालेपछि सिर्जनामा । भएको थियो चढेजस्तै भूत साहित्यको । बनाएँ फेरि अर्को योजना छयालीस सालमा । सातजना साथीहरूको सात–सातवटै कविता राखेर संग्रह निकाल्ने । छानेका साथीहरू पनि भए तयार मेरो प्रस्तावमा । कविहरू थिए नारायण आचार्य, मनरूप नेप्च्युन, विकास अमात्य, वासुदेवमणि अधिकारी, बालमुकुन्द खनाल, वैकुण्ठ विष्ट र म । लाग्यो रहर फेरि भूमिका लेखाउने सातैजना अग्रजबाट । हौसला बढाउनुभो चेतन दाइले । लेखिदिनुभो पहिले भूमिका उहाँले नै ।

नाम राखेको थिएँ ‘सरगम’ कवितासंग्रहको । लेखाउन भूमिका गएँ घरघरमा अग्रज लेखकहरूको । गर्थेँ परिचय आफ्नो पहिला अनि गर्थेँ रहर गरेको कुरा । धाएको धायै गरेर भए पनि लेखाएरै छोडेँ अग्रजहरूबाट । हुनुहुन्थ्यो लेखिदिने सिद्धिचरण श्रेष्ठ, मोहन कोइराला, रमेश विकल, चेतन कार्की, मञ्जुल, वानिरा गिरी अनि किशोर पहाडी ।

थियो पुल्चोकमा एउटा पसल । उत्तरपट्टि थियो दमकल कार्यालयको । थियो पसल गुरुङ अंकलको । भन्थ्यौँ हामी र अरू पनि अंकलको पसल । भेटघाट गर्ने ठाउँ थियो चेतन दाइको । बस्नुहुन्थ्यो जमेर सोकेस पछाडिको कुर्सीमा । पुग्थे अरू पनि भेट्न चाहनेहरू चेतन दाइलाई । पुग्थे सुन्न चाहनेहरू रोचक र ज्ञानवर्धक कुरा । भन्दा हुन्थ्यो अखडा नै त्यही चेतन दाइको । सारियो पछि पसल अंकलको । दमकलकै अगाडिको लाछी गल्लीमा । राख्नुभो स्टेसनरी पसल फेरि कवि मुरारी सिग्देलले । दमकलकै उत्तरपट्टि नै । बन्यो अखडा फेरि चेतन कार्कीको त्यहीँ नै ।

बस्नुहुँदा पसलमा अंकलको । हुन्थ्यो सधैँ अगाडि कोकको बोतल । छेउमा हुन्थ्यो भुटेको चना पनि धेरैजसो । खाइरहनुहुन्थ्यो चना र पिइरहनुहुन्थ्यो कोक । पुस–माघको चिसोमा पनि पिउनुहुन्थ्यो दशबाह्र बोतलसम्म सानो । लिइरहनुहुन्थ्यो विस्तारै बडो स्वादले । हुन्थ्यो च्याप्नुभएको सुगन्धित खैनी ओठमा । देखिन्थ्यो कहिलेकहीँ राखेको र फ्ँयाकेको पनि । बस्नुहुँदा पसलमा खाली हुन्थेन कोक र चना कहिल्यै ।

संगत उहाँकै र सल्लाह पनि उहाँकै । लागेका थियौँ हामी कला क्षेत्रमा । गर्थ्यौँ स्कुलमा पनि नाटक र प्रहसनहरू । पास भएपछि एसएलसी । प्रेरणाले उहाँकै स्थापना गरेका थियौँ पद्म सांस्कृतिक ग्रुप छत्तीस सालमा । थियौँ हामी सुरुमा मनोज दुवाडी, पूर्ण थापा र म । हुनुहुन्थ्यो संरक्षक उहाँ नै ।

गरिरहन्थ्यौँ सानासाना कार्यक्रमहरू । गर्यौँ विद्यालयस्तरीय प्रतियोगिताहरू । हौसियौँ हामी कार्यक्रम गर्न पनि ठूलै । गयौँ नाचघरमा पनि । पर्थ्यो हलभाडा चार सय रुपियाँ । थिए कुर्सी पनि चार सय नै । हुनुहुन्थ्यो महाप्रबन्धक नारायणगोपाल ।

लियौँ हल विविध सांस्कृतिक कार्यक्रम गर्न चैत तीस गते छत्तीस सालमा । चर्चित भएको थियो नेपाली चलचित्र ‘सिन्दूर’ त्यति बेला । चर्चित भएका थिए हास्यकलाकार चंखे अर्थात् गोपालराज मैनाली । चर्चित चंखेलाई गरिदिनुभो अनुरोध चेतन दाइले । लेखिदिनुभएको थियो सानो पत्र उहाँलाई ।

मान्नुभो सजिलै हेर्नासाथ चेतन दाइको पत्र । लेखिदिनुभएको थियो त्यसरी नै अरू कलाकारलाई पनि । हुनुहुन्थ्यो गायक संगीतकार दीपक जंगम, नायिका सुषमा शाही, हास्यकलाकार आनन्द थापा, रेडियो नेपालका चर्चित प्रस्तोता धन लामा । थिए अरू पनि ।

गर्यौँ प्रचार रत्नपार्कमा लामो ब्यानर झुन्ड्याएर । टास्यौँ भित्ताभित्तामा पोस्टरहरू । हिँड्यौँ माइकिङ गरेर मिटरवाले ट्याम्पुमा । बेचेका थियौँ टिकट टेबल, कुर्सी राखेर रत्नपार्कमा । बेच्यौँ मजाले टिकट ।

कार्यक्रम हुने दुई दिन बाँकी हुँदा । डाक्नुभो नारायणगोपालले नाचघरमा । समय थियो साँझ पाँच बजे कार्यक्रमको । भन्नुभो तपार्इंहरूलाई दिएको समयमा हाम्रो आफ्नै कार्यक्रम गर्नुपर्नेभो । देखाउनुस् अब दिउँसो । धेरै टिकट बिक्री भइसकेकोले गाह्रो हुन्छ खबर गर्न भनेँ । गरेँ अनुरोध गर्नुसम्म । मान्नु भएन पटक्कै नारायणगोपाल । भन्नुभयो झन् ठाडोसँग– त्यसो भए क्यान्सिल गरिदिनुस् । नलागेपछि केही पनि । बाध्य भएका थियौँ दिउँसो नै गर्न ।

स्वाद परेको बेला थियो अलिअलि अभिनयको । हौसला पाएर चेतन दाइको । गरेका थियौँ कार्यक्रम ठूलै । भएको त्यसपछि नै हुनुपर्छ छोड्न नसकेको कलामा गहिरोसँग । स्थापना गर्यौँ फेरि ललितपुर कला संस्कृति प्रतिष्ठान त्रिपन्न सालमा । बनिदिनुभएर सल्लाहकार चेतन दाइ नै ।

गर्यौँ हास्यव्यंग्य कार्यक्रम गाईजात्रामा । प्रत्येक वर्ष भनेर ला’का गाईजात्रा । सल्लाह दिनुभएपछि चेतन दाइले । गर्न थाल्यौँ सम्मान पनि हास्यकलाकारलाई । गाईजात्रा कार्यक्रमको उद्घाटनमा । दिनुहुन्थ्यो सल्लाह सम्मान गर्ने कलाकारको नाम । लेखिदिनुहुन्थ्यो सम्मान र अभिनन्दनपत्र पनि । लगाउनुभएको छ गुन तिर्र्नै नसक्ने गरी । दिइरहनुहुन्थ्यो प्रोत्साहन सबैलाई । कन्जुस्याइँ गर्नु भएन कहिल्यै ऊर्जा दिनलाई । होलान् कतिकति हामीजस्ता भाग्यमानीहरू । बिर्सन सक्दिनँ एक छिन पनि उहाँलाई ।

हुनुहुँदा पोखरामा एक्काइस सालमा नै । जोडिनुभएको थियो हिमाञ्चल सांस्कृतिक परिषद्सँग । आउँथे लिनलाई सल्लाह उहाँसँग । गर्नुपर्यो भने साहित्य र सांस्कृतिक कार्यक्रम । स्कुल, क्याम्पस वा जुनै संस्था भए पनि ।

हुन्थ्यो त्यति बेला लोकनृत्य प्रतियोगिता राष्ट्रिय नाचघरमा । अवसर मानेर प्रजातन्त्र दिवस फागुन सातमा । सहभागिता गराइन्थ्यो चौधै अञ्चलको । राखियो गण्डकी अञ्चलको छनोट समितिमा चेतन कार्कीलाई । विभिन्न जिल्लाबाट आएका नृत्यहरूबाट छनोट गर्नका लागि । राख्नुभएको थियो अञ्चलाधीशले । छनोट गरेको नाचलाई । गराउनुभो अभ्यास पनि उहाँले नै । जानुभो टोली नेता बनेर काठमाडौं प्रतियोगिताका लागि । पायो सर्वश्रेष्ठको पुरस्कार पनि गण्डकी अञ्चलले नै ।

भएको थियो गहिरो सम्बन्ध कवि भूपी शेरचनसँग बाइस सालमा । चर्चित भइसकेको थियो ‘हामी’ कविता भूपीको । भएको थियो सम्बन्ध अन्तरंग नै । नछुट्टिने गरी प्रत्येक साँझ रमाइलो गरेर । गरियो अनुरोध त्यही बेला लेख्नलाई नाटक देखाउन स्कुलमा । हुनुहुन्थ्यो श्याम पन्त हेडसर मल्टिपर्पोज स्कुलको । छापिएको थिएन कतै पनि रचना उहाँको त्यस बेलासम्म राम्रो पत्रिकामा । छापिएको थियो एउटा कविता स्कुलको पत्रिकामा । बरु, बज्न थालेको थियो कहिलेकाहीँ लोकभाकाको एउटा गीत । नातिकाजीको संगीतमा गाएका थिए तारादेवी र भुवन थापाले । गाउनु पनि भएको थियो केही गीत मिलेर महेन्द्र खनालसँग । भएको थिएन कुनै पनि रेकर्ड ।

लेख्नुभो नाटक दुई महिना लगाएर । राख्नुभो शीर्षक ‘आत्मा बेचेको छैन’ । गराउनुभो अभ्यास पनि दुई महिना नै विद्यार्थीहरूलाई । हुनेभो मञ्चन टिकटमा नै नाटक । रोक्न खोजियो निमित्त अञ्चलाधीशबाट । स्वीकृति नलिएको भनेर । बुझाएपछि पाण्डुलिपि हस्तलिखित । पछि छाप्न खोज्दा पनि रोक्न खोजियो प्रेसमा नै गएर ।

लेख्नुभएको थियो नाटक स्कुलका लागि । छाप्ने बेला बनाउनुभो उपन्यास । बन्यो पहिलो कृति नै चेतन कार्कीको । छापेको थियो कल्याण पाकेट बुक्स, पोखराले तेइस सालमा । भानु प्रकाशनले तीसमा । धर्मपत्नीले एकहत्तर सालमा निकाल्नुभो तेस्रो संस्करण ।

भएको थियो त्यही बेला साहित्यिक भेला पोखरामा । पृथ्वीनारायण क्याम्पसमा तेइस सालमा । हुनुहुन्थ्यो अतिथिहरू भवानी भिक्षु, कमल दीक्षित, वासु शशी, कृष्णप्रसाद पराजुली, वासुदेव लुइँटेलहरू । किनेर पढ्नुभएको रहेछ वासुदेव लुइँटेलले ‘आत्मा बेचेको छैन’ ।

भोलिपल्टको कार्यक्रममा बोल्नुभो त्यही उपन्यासको बारेमा लुइँटेलले ।

‘यस वर्षको मदन पुरस्कारका लागि राम्रो पुस्तक पाउन हामीलाई धौधौ पर्यो । हिजो यहाँ एउटा किताब किनेर पढेँ । बडो अनाकर्षक गेटअप तर बडो रोचक शीर्षक । किन यो मूर्ख लेखकले यो किताब मदन पुरस्कारमा पठाई दिएन ? त्यसको तालुमा आलु पो फलिहाल्थ्यो कि !’ भन्दै सबैलाई देखाउनुभएको थियो ‘आत्मा बेचेको छैन’ । के हुनसक्छ योभन्दा ठूलो मूल्यांकन र पुरस्कार ? दम देखाउँछ चेतन कार्कीको त्यति बेलादेखि नै ।

लेख्नु भए पनि उत्कृष्ट पुस्तक । दिनसम्म दुःख दिएको थियो प्रशासनले । भएर त्यही हो कि ! ‘आत्मा बेचेको छैन’ पुस्तक मात्र नभएर चेतन कार्कीको । आदर्श नै बन्यो जीवनको । गर्नुभो आत्मसात् मन्त्रजस्तै सधैँ ।

होला यही कारण, मान्नु भएन अध्यक्ष बन्न चलचित्र विकास बोर्डको । गर्नुभो राजीनामा आफूभन्दा तल्लो तहका बढुवा गरेपछि । एकचालीस सालमा चलचित्र संस्थानबाट । बनिसक्नुभएको थियो पटकपटक निमित्त महाप्रबन्धक । पालो थियो स्वतः हुने उहाँकै । तल्लो तहकाले प्रयोग गरेको थियो शक्ति दरबारको ।

उदाहरण थियो स्वाभिमानको र आत्मा नबेचेको । आएको थियो अवसर नजिक हुन दरबार नै । पढाउनुहुन्थ्यो नेपाली श्रीमती काकीले सेन्ट मेरिज स्कुलमा । अब्बल थियो नेपालीमा उहाँको । आएको थियो अनुरोध अधिराजकुमारी श्रुतिलाई पढाउन । लिएर गएपछि सेनाले सिकाएको थियो दरबारी तरिकाहरू पनि । हुनु हुँदैन नजिक दरबारसँग भनेर दिनु भएन स्वीकृति पढाउन श्रुतिलाई ।

जन्मनुभएको थियो कात्तिक बाइस गते पन्चानब्बे सालमा । हुनु भएन त्रियासी वसन्तपछि । जेठको दुई गते अठहत्तरमा ।

पढ्दा नै देहरादुनमा सन् सन्ताउन्नमा । गर्नुभा’थ्यो सम्पादन गोर्खा छात्र संघको पत्रिका ‘बिहानी’ । गर्नुभो नेपालमा ‘दून समाज नेपाल’ को पत्रिकाको पनि ।

हुनुहुन्थ्यो धनी धनले भन्दा बढी मनले । पढ्नुभएको थियो गोर्खा मिलिटरी स्कुल देहरादुनमा । राखिदिनुभयो छात्रवृत्ति तीनवटा त्यहीँ । गुरु दिनदयाल रावतको, पिता जुद्धवीर र माता चन्द्रमाया कार्कीको नाममा । दिनुभएको छ दान जग्गा पनि । जन्मेको गाउँको स्कुललाई ।

हुनुभएर ज्ञानी हुनसम्मको । भएर विद्वान् सबै विषयमा । गर्नु भएन घमण्ड कहिले कसैसँग । देखिएन दम्भ कुनै सन्दर्भमा पनि । फलेको वृक्ष झुकेझैँ सधैँ । बन्नुभयो शिष्ट पनि र शालीन पनि । लेख्नैभएको छ ‘आत्मा बेचेको छैन’ को तेस्रो संस्करणको भूमिकामा–

‘म साहित्यकार होइन, साहित्यानुरागी हुँ । म चलचित्रविज्ञ पनि होइन, चलचित्रकर्मी मात्र हुँ । उपन्यास, कविता, गीत, पटकथा, संवाद, नाटक लेखेर मैले साहित्यको सेवा गरेँ भन्ने दम्भ गर्ने हैसियत छैन ।

झन् ‘आत्मा बेचेको छैन’ उपन्यासको रचनाकालमा त म अल्लारे ठिटो मात्र थिएँ । रगत तातो भए पनि, उत्कट स्वाभिमान भए पनि, अनुभवहीन, लोक व्यवहारबाट अनभिज्ञ । रोमान्स र रोमान्चका पछाडि दगुर्ने एउटा उरन्ठ्याउलो युवकले ‘आत्मा बेचेको छैन’ भन्नु नै नेपालका लागि सामान्य हैन कि ?

तर, विश्वास गर्नुस् – लेखकले आजसम्म आत्मा बेचेको छैन ।’

छन् उहाँका प्रकाशित आठ कृतिहरू । उपन्यास छन् तीन । ‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ । गीतिकवितामा ‘जून निदाउन थाल्यो’ । गजलमा ‘हो देश मेरो पनि’ । हिन्दी, उर्दू कविताको ‘कल्पना टुट चुकी है’ । कविताको ‘हत्केलाले सधैँभरि सूर्य छेकिँदैन’ । भनेर कथा र कुण्डली ‘बसी बियाँलो’ ।

लेख्नुभएर पनि यति धेरै सिर्जना । सयौँका अजम्मरी गीतहरू भएर पनि । लेख्नुभएको छ ‘हत्केलाले सधैँभरि सूर्य छेकिँदैन’ मा । अन्त्यमा मन्तव्यको – ‘म साहित्यानुरागी अवश्य हुँ, तर साहित्यकार भनाउने ‘खूबी’ नभएकोले कुनै पनि स्वनामधन्य साहित्यकारसित मन्तव्य वा भूमिका लेखाउने आँट गरिनँ । आशीर्वचन माग्न स्वाभिमानले दिएन । त्यसैले प्रकाशक खोज्ने कुरै थिएन । जीवनसंगिनीले, म छु नि बूढा भनिन् । जय होस् ।’

हो योे विनम्रता हुनसम्मको । छ व्यंग्य पनि हुनसम्मकै । छ अहिले फेसन देखिएभन्दा फरक हुने । गरेर सबै खर्च देखाउँछन् चलेको प्रकाशकको नाम । देखाउन अरूलाई बिकाउ भएको भएँ लेखक भनेर । नदेखिने तर सत्य । बनिरहेको छ विडम्बना अहिले पनि । लेख्नुभए पनि सन्दर्भ आफ्नै चेतन कार्कीले । बनेको छ गम्भीर प्रश्न सबैका लागि । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  ०५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC