काठमाडौं । आर्थिक क्रियाकलापमा आएको सुस्ततासँगै नेपालको अर्थतन्त्र मन्दीमा पुगेको देखिएको छ । निजी क्षेत्रले एक वर्षदेखि बजारमा माग नभएको र कारोबार घटेको बताए पनि सरकार र नियामक निकाय नेपाल राष्ट्र बैंकले भने एकअर्कोलाई दोष दिएर उम्कने गरेका थिए ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा सीमित हुने अनुमान छ । चालु आर्थिक वर्षमा दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक थियो । विभागले गरेको अनुमानले अर्थतन्त्र विस्तारै मन्दीतर्फ जान थालेको देखिएको छ ।
कार्यालयले चालु आर्थिक वर्षमा दुईवटा त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको तथ्यांक सार्वजनिक गरेको थियो ।
आर्थिक गतिविधिमा सुस्तता आएको कारण आर्थिक वृद्धिदर नभएपछि आम्दानीसमेत बढेको छैन ।
नेपालीको औसत आम्दानी १,४१० अमेरिकी डलर, देखिएन सुधार
नेपालीको औसत आम्दानी १४१० अमेरिकी डलर पुगेको छ । राष्ट्रिय तथ्यांक कार्यालययका अनुसार एकवर्षमा ३ अमेरिकी डलरले राष्ट्रिय आयको आधारमा आम्दानी बढेको हो ।
जीडीपीको आधारले हेर्दा भने आम्दानी स्थिर छ । गत वर्षको जस्तै १,३९९ अमेरिकी डलर औसत आम्दानी रहेको छ ।
अहिले उपभोक्ता मूल्यवृद्धि ७ प्रतिशतभन्दा बढी छ । यसको अर्थ गत वर्ष १०० रुपैयाँ पर्ने सामानको मूल्य अहिले १०७ रुपैयाँ पुगेको छ । तर, आम्दानी भने गत वर्षको जस्तै स्थिर देखियो । यसले बढेको मूल्यवृद्धिमा उपभोक्तालाई आम्दानी नबढ्दा खर्च चलाउनसमेत मुस्किल पर्ने देखिएको छ ।
नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश अग्रवालले निजी क्षेत्रले एकवर्षदेखि भन्दै आएको अर्थतन्त्र मन्दीमा गयो भन्ने कुरा तथ्यांक कार्यालयले पुष्टि गरेको बताए ।
“हामीले एकवर्षदेखि भन्दा केही व्यापारीको अनावश्यक हल्ला गरेको भन्ने आरोप लाग्यो,” अग्रवालले भने, “कारोबार नभएको कारण सरकारले पाउने राजस्व घटेको थियो । सरोकारवालाले भने ध्यान नदिएको कारण अहिलेको समस्या आएको हो ।”
विभागको तथ्यांक हेर्दा कृषि क्षेत्रमा धानबालीको उत्पादन बढेको थियो । तर, हिउँदे बाली तथा दुध, अन्डा तथा मासुको उत्पादन घटेको देखिएको छ । यसले उपभोग नभएको कारण अन्डा, मासुको उत्पादन प्रयोग घटेको देखाएको हो । पोल्ट्री व्यवसायीहरूले विगतदेखि व्यवसायमा मन्दी आएको र ऋण तिर्न मुस्किल परेको बताउँदै आएका छन् ।
अर्थतन्त्रमा योगदान गर्ने क्षेत्रहरू सबैको उत्पादन बढ्न नसकेको स्थिति छ ।
उद्योगको भने चालु आर्थिक वर्षमा वृद्धिदर नै ऋणात्मक देखिएको छ । जीडीपीमा उद्योगले ५.३२ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान विभागको छ । वनस्पति, तोरी, सोयाबिन तेलको उत्पादन तथा फलाम तथा स्टिल उत्पादनमा आएको कमीले उद्योग क्षेत्रमा गत वर्षको तुलनामा कुल मूल्य अभिवृद्धि २.०४ प्रतिशतले ऋणात्मक हुने अनुमान गरेको छ । अर्थतन्त्र चलायमान गराउन महत्त्वपूर्ण योगदान गर्ने निर्माण क्षेत्रको वृद्धिदर २.६२ प्रतिशतले ऋणात्मक भएको छ ।
अर्थविद् नरबहादुर थापा नेपालको अर्थतन्त्र मन्दीमा गएको देखिएको बताउँछन् । “अर्थतन्त्रमा मन्दी गएको कुरा प्रष्ट भइसक्यो,” थापाले भने,“अर्थतन्त्रलाई उकास्नका लागि नीतिगत सुधार गर्न ढिलो भइसक्यो ।”
थापा केन्द्रीय तथ्यांक कार्यालयले दुई त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्मक भएको तथ्यांक सार्वजनिक गरेको र अहिले १.८६ प्रतिशत वृद्धिदर वर्षमा हासिल हुने अनुमान गर्नुले अर्थतन्त्र ऋणात्मक हुनबाट मात्र जोगिने तथ्यांक ल्याएको बताउँछन् ।
“अहिले तथ्यांकले ऋणात्मक हुनबाट जोगिएको भनेर आएको छ,” राष्ट्र बैंकको अनुसन्धान विभागको पूर्वप्रमुखसमेत रहेका थापाले भने, “अर्को वर्ष तथ्यांक आउने बेला अर्थतन्त्र ऋणात्मक नै भएको हुन सक्ने तथ्यांक आउन सक्ने सम्भावनासमेत छ ।”
उनले सरकारले खर्च बढाउनुपर्ने र विदेशी र स्वदेशी लगानी बढाउनका लागि नीतिगत सुधारको काम गर्नुपर्ने सुझाव दिए ।
कार्यालयका अनुसार नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको छ । जसले २४.६ प्रतिशत योगदान दिएको छ । चालु आर्थिक वर्षमा २.६९ प्रतिशतले वृद्धिदर हुने अनुमान गरेको छ ।
द्वितीय क्षेत्रअन्तर्गत उद्योग, विद्युत्, ग्यास तथा आपूर्ति तथा ढल र फोहोर व्यवस्थापन र निर्माण क्षेत्र पर्छ । यसको अर्थतन्त्रमा योगदान १२.९ प्रतिशत छ । जसको वृद्धिदर ०.५६ प्रतिशत हुने अनुमान छ । उद्योग र निर्माण क्षेत्रको उत्पादन घटेको कार्यालयले जनाएको छ ।
सेवा क्षेत्रको योगदान ६२.४ प्रतिशत छ । जसको वृद्धिदर २.३३ प्रतिशत मात्र हुने देखिएको छ । मुख्य रूपमा आयात घटेको तथा खुद्रा व्यापार ऋणात्मक देखिएको छ ।
परिसंघका वरिष्ठ उपाध्यक्ष अग्रवाल आफूहरूले ६ महिना अगाडि नै गरेको अध्ययनअनुसार सरकारी निकायबाट तथ्यांक आएको बताउँछन् ।
“मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउने काम भयो,” अग्रवालले भने, “ब्याजमात्र बढ्ने कारणले उपभोग घट्यो भने ब्याज खर्च बढ्दा आम्दानी घट्यो र मूल्यवृद्धि भने घटेन ।”