कतार (दोहा) । सन् १९९३ मा अस्ट्रियाको भियनामा भएको एक महिना लामो हिमपातले डा. देवकाजी डंगोलको मन फेरियो । काठमाडौं कीर्तिपुरका डंगोल अस्ट्रिया (डिप्लोमा इन चाइल्ड हेल्थ) पढ्न पुगेका थिए ।
पढाई सकेपछि उनले भियनाको अस्पतालमा काम सुरु गरे । त्यति बेला एक कतारी नागरिकको बच्चाको उपचार गर्नुपर्ने जिम्मा आयो । उनको उपचार सफल भयो । ती कतारी नागरिकले उनलाई कतार आउन निमन्त्रणा दिएका थिए । त्यो सन् १९९२ कुरा थियो ।
भियनामा कार्यरत डा. डंगोलले कतार जाने सोचेकै थिएनन् । उतिबेलाको कतार यतिखेर जस्तो विकसित थिएन । जब सन् १९९३ मा एक महिनासम्म भियनामा हिमपातमा पर्यो । त्यसपछि उनलाई भियना छाड्ने मनस्थितिमा पुर्यायो ।
‘‘एक महिना लामो हिमपातपछि मलाई भियना बस्नै मन लागेन,’’ उनले भने । त्यसपछि उनले ती कतारी नागरिकलाई फोन गरी कतार आउन चाहेको बताए ।
तर उनी अस्ट्रियाबाट कतार भने सिधै आएनन् । केही समय उनले युएईको दुबईमा बिताए । त्यहाँ शेखले एउटा हस्पिटल खोल्ने योजना बनाएका थिए । तर, तोकिएको समयमा नखुलेपछि उनी कतारको दोहा पुगे ।
यो सन् १९९३ को कुरा थियो । कतारमा डा. डंगोल आफ्नो पेसामा काम गर्न आएका थिए । तर, हमाद हस्पिटलमा उनलाई कन्सल्ट्यान्टको नियुक्ति नदिने निर्णय भयो । कन्सल्ट्यान्टमा अमेरिकन र बेलायतीको आधिपत्य थियो । जसको तलब त्यो बेला ४० हजार रुपैयाँ हुन्थ्यो ।
उनलाई जनरल प्राटिक्समा नियुक्ति दिने र तलब ७ हजार तोकिएको थियो । तर उनले जनरल प्राटिक्समा काम नगर्ने निर्णय लिए । उनले भने, “मलाई कतार बोलाउने कतारी नागरिकले केही समय त्यो पदमा काम गर्न सुझाव दिए, तर मैले काम नगर्ने निर्णय लिएँ ।”
सन् १९९३ त्यो बेला कतारमा जापानी कम्पनी चिओडा किसोले ग्यास निकाल्ने काम गरिरहेको थियो । कतारले आफूसँग भएको प्राकृतिक स्रोतलाई प्रयोग गर्ने शुरुवाती चरणमा थियो । जापानी कम्पनी चिओडा किसोमा सुरक्षा हेर्ने जिम्मा ब्रिटिस आर्मीमा काम गरेका नेपाली मोगन क्षेत्रीको थियो ।
क्षेत्रीले डा. डंगोललाई जापानिजसँग परिचय गराइदिए । कन्सल्ट्यान्ट नपाएपछि कतार छाड्ने सोचमा पुग्नै लागेका डंगोलले जापानको कम्पनीका प्रतिनिधिसँगको भेटपछि भने व्यवसाय गर्ने निर्णय लिए ।
उनले कतारमा लोकल सब–कन्ट्रयाक्टको काम सुरु गरे । जुन कतारमा नेपालीले सुरु गरेको पहिलो व्यवसाय थियो ।
हरेक दिन केही बिरामीलाई जाँच गरेर सेवा दिनुभन्दा कतार तथा मध्यपूर्व रहेका हजारौँ श्रमिकलाई राहत दिन र नेपालीलाई उद्यमी बनाउने काममा डा. डंगोलको मन रमायो ।
तिनै डंगोल यतिखेर कतार र अमेरिकामा व्यवसाय छन् । उनले सुरुमा व्यवसाय गरेपछि रोजगारीमा आएका नेपालीलाई व्यवसायी बन्न धेरै सहयोग र उत्प्रेरणा प्रदान गरे । ‘‘कतारमा अब हामीहरूले कति जागिर खाने आफ्नो व्यवसाय गर्नुपर्छ भनेर मैले धेरैलाई सहयोग गरेँ,’’ डंगोलले सुनाए, ‘‘मैले आफूले पनि पैसा कमाएँ, व्यवसाय गर्ने अरूले पनि कमाए ।’’
सन् १९९३ ताका डा. डंगोल एक जना मात्र नेपाली व्यवसायी थिए ।
यतिखेर त कतारमा व्यवसाय गर्ने नेपालीको संख्या ५ सयभन्दा बढी भइसकेको छ । सब–कन्ट्रयाक्ट हुँदै सुरु गरेका डा. डंगोलको व्यवसाय रेष्टुरेन्ट, रेमिट्यान्स हुँदै अमेरिकासम्म फैलियो । नेपालमा कतार एयरलाइन्सको एक वर्षसम्म जिएसएको काम समेत डंगोलले गरे ।
एयरलाइन्स खोल्ने इच्छा अधुरै...
कतार एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृतसँग सम्बन्धका कारण डा. डंगोलले जिएसएको जिम्मा पाएका थिए । कतार एयरलाइन्सका सीईओ र डंगोल मिलेर नेपालमा एयरलाइन्स आन्तरिक र बाह्य उडानका लागि खोल्ने तयारी भयो ।
त्यसका लागि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग भेटेपछि प्रक्रिया अगाडि बढ्यो । राजा वीरेन्द्रका कान्छा भाइ धीरेन्द्रसमेत यसमा साझेदार हुने कुरा भयो । नेपालमा बढेको माओवादी विद्रोह र दरबार हत्याकाण्डपछि भने नेपालमा एयरलाइन्स खोल्ने योजना अधुरो रहेको डंगोल सुनाउँछन् ।
वीरेन्द्रको भ्रमणसँगै कतारमा दूतावास
सन् १९९९ मा तत्कालीन राजा वीरेन्द्र कतारको भ्रमणमा थिए ।
त्यतिखेर नेपालको कतारमा दूतावास थिएन । साउदी अरबमा भएको दूतावासले नै कतार हेर्ने गरेको थियो । कतारमा नेपाली दूतावास स्थापना नहुँदासम्म डा. डंगोल नै अवैतनिक दूतको रूपमा काम गरिरहेका थिए ।
कतारमा बस्ने नेपालीको पासपोर्ट नवीकरणको जिम्मा नै डंगोलको जिम्मा थियो । जसलाई कतारको सहकारी निकायले समेत मान्यता दिएको थियो ।
राजा वीरेन्द्र कतार भ्रमणमा हुँदा उनले राखे, ‘‘सरकार, कतारमा नेपाली दूतावास चाहियो ।’’ सँगै राजा वीरेन्द्रले कतारका लागि पहिलो नेपाली राजदूत आफैँ बन्ने कि भनी सोधिएको विषय हाँस्दै अस्वीकार गरेका थिए ।
‘‘म सानो व्यवसायी हुँ, सरकार प्रोटोकल र पोलिटीकल्ली राजदूत हुन मिल्दैन,’’ डंगोलले राजा वीरेन्द्रसँग भएको संवाद सुनाए ।
सन् १९७७ मा नेपाल र कतारबीच दौत्य सम्बन्ध स्थापना भए पनि दूतावास भने सन् २००० को जुलाईमा खुलेको थियो । कतारले त्यसको १० वर्षपछि नेपालमा दूतावास खोलेको थियो ।
रेमिट्यान्स कम्पनीको लाइसेन्स माग
सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री डा. रामशरण महत कतार भ्रमणमा आएका थिए । कतारमा बस्ने नेपालीलाई सहयोग गर्न सन् १९९६ कतारमा ‘नेपाल सहयोग समाज’ डा. डंगोलसहितका नेपालीहरुले खोलेका थिए । त्यसको अध्यक्ष डंगोल थिए ।
कोइराला र महत आएको बेला डंगोलले नेपाल सहयोग समाजबाट स्वागत कार्यक्रम राखेका थिए । त्यो बेला नेपालबाट वैदेशिक रोजगारीका लागि खाडी तथा मलेसियामा आउनेहरूको संख्या बिस्तारै बढ्न थालेको थियो ।
तर, नेपालमा पैसा पठाउन निकै झन्झट थियो । एक दुई महिनासम्म समेत पैसा नपुग्ने स्थिति थियो ।
‘‘मैले प्रधानमन्त्री र अर्थमन्त्रीसँग रेमिटेन्स कम्पनी खोल्न माग गरे,’’ डंगोलले भने, ‘‘मैले आफैँ पनि रेमिट्यान्स कम्पनी खोले, त्यसमा चन्द्र ढकालजी आइएमई सबैभन्दा बढी सफल हुनुभयो ।’’
कतारी हुलाक टिकटमा डा. डंगोल
सन् २००५ मा डा. देवकाजी डंगोलको फोटोसहित कतार सरकारले हुलाक टिकटमा छाप्यो । कतारमा नेपाली समुदायलाई पुर्याएको योगदानको उच्च सम्मान गर्दै कतारको हुलाक टिकटमा डा. डंगोलको फोटो छापिएको थियो ।
नेपालमा डा. डंगोल समाजसेवामा पनि सक्रिय छन् । नेपालमा आरडी फाउन्डेसनमार्फत समाजसेवा गरिरहेका उनले दुई सयभन्दा बढी बालबच्चा पढाउने काम गर्छन् । समाजसेवा गर्न आमा–बुवा नहुने बच्चाहरूको लागि नेपाल टुहुरा कल्याण संघ डा. डङ्गोलले खोलेका थिए ।
हरेक वर्षमा वार्षिक कार्यक्रममा एनआरएनए अध्यक्ष उपेन्द्र महतो सहभागी हुने गरेका थिए । ‘टुहुरा’ भन्ने शब्द नराम्रो देखिएपछि डा. डङ्गोलले आमाको नाममा आरडी फाउण्डेसन खोले । जसको कार्यालय काठमाडौंको कुलेश्वरमा छ ।
‘‘मैले कमाएको पैसा दुःखी र समस्यामा परेकाहरूलाई केही सहयोग गर्न फाउण्डेशन खोलेको हो,’’ डा. डङ्गोलले सुनाए, ‘‘बालबालिकाबाहेक ज्येष्ठ नागरिक जो छोरा–छोरी भएर पनि असहाय छन् । उनीहरुलाई स्वास्थ्य उपचार र अन्य सहयोग गर्दै आइरहेका छु ।’’
एनआरएन अभियानमा
सन् २००० देखि रुसमा व्यवसाय गर्ने डा. उपेन्द्र महतोले गैरआवासीय नेपाली संघ स्थापना गर्न खोजेका थिए ।
सन् २००१ मा डा. उपेन्द्र महतोले डा. डंगोललाई फोन गरेर भारतीयहरूको एनआरआई जस्तो एनआरएन खोल्ने प्रस्ताव गरे । संस्था खोल्ने बेला डा. डङ्गोलले खाडीसहित युरोप र अमेरिकामा रहेका नेपालीलाई जोड्ने काम गरेका थिए । उपेन्द्रले अस्ट्रेलियासहित पूर्वी एसियाको जिम्मा लिएका थिए ।
कतारमा डा डंगोलको अग्रसरतामा नेपाली सहयोग समाज खुलेको थियो । नेपालीहरु हरेक देशमा एक आपसमा सहयोग गर्न विभिन्न खाले संस्था खोलेका थिए । सन् २००३ मा खुलेको गैरआवासीय नेपाली संघ (एनआरएनए)मा संस्थापक अध्यक्ष उपेन्द्र महतो भए भने उपाध्यक्ष डा. डंगोल ।
एनआरएनएको एक कार्यकाल उपाध्यक्ष भएपछि उनी त्यसछि कार्यसमितिमा भने आएनन् । संरक्षकको रूपमा र अभियन्ताको रूपमा निरन्तर सक्रिय छन् । एनआरएनए स्थापनाको दुई दशक पुग्यो । पहिलो विश्व सम्मेलन गर्ने देश नै मध्यपूर्वको देश कतार हो । जुन सन् २००५ मा भएको थियो ।
मध्यपूर्वले अभियानमा महत्वपूर्ण योगदान दिएको छ । तर, अभियान नेतृत्व भने मध्यपूर्वले पाएको छैन । ‘‘स्थापनाको दुई दशक भए पनि नेतृत्व मध्यपूर्वले पाउन सकेको छैन,” डङ्गोलले भने, ‘‘सधैँ मध्यपूर्वले नेतृत्व पाउनुपर्छ भने पनि जहिले पछाडि परियो, अब मध्यपूर्वलाई सबै अभियन्ताले नेतृत्व छाड्नुपर्छ ।”
मेरो इच्छा अभियानको नेतृत्व एक पटक मध्यपूर्वले गरेको हेर्ने धोको छ ।