
काठमाडौं । चीनका प्रमुख चन्द्र वैज्ञानिकले आगामी सात वर्षभित्र चन्द्रमामा मान्छे उतार्ने बताएका छन् ।
चीनले पछिल्ला वर्षहरूमा चन्द्रमाको अन्वेषणका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।
चीनको चन्द्र अन्वेषण कार्यक्रमका प्रमुख डिजाइनर वु वेरेनले केही दिनअघि चिनियाँ प्रसारक सीसीटीभीलाई भनेका छन्, “सन् २०३० सम्ममा चिनियाँ जनताले पक्कै पनि चन्द्रमामा पाइला राख्न सक्नेछन् ।”
चन्द्रमामा अन्तरिक्ष यात्री अवतरण गर्नका लागि आवश्यक हार्डवेयरमा चीनले काम गरिरहेको छ । जसअन्तर्गत क्रू स्पेसक्राफ्टको अपग्रेड त्यसलाई प्रक्षेपण गर्न नेक्स्ट जेनेरेसनको रकेटको विकास एवं ल्यान्डरको निर्माणमा काम भइरहेको छ ।
चीनले नयाँ रकेटको प्रक्षेपण उडान सन् २०२७ का लागि तय गरेको छ भने यसले अन्तरिक्ष यानको अन्तरिक्षयात्रीविनाको परिक्षण गरिसकेको स्पेस डटकममा उल्लेख छ ।
चीनको मुख्य अन्तरिक्ष कन्ट्र्याक्टर चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसन (सीएएससी) का अध्यक्ष वु यानसेङले यस वर्षको सुरुमा चन्द्रमामा मान्छे अवतरण गराउने योजना कस्तो हुनेछ भन्नेबारे एक एनिमेटेड भिडियो प्रस्तुत गरेका थिए ।