
काठमाडौं । चितवनको टाँडीमा भाटभटेनी सुपरमार्केटको नेतृत्वमा दुई अर्ब लगानीमा भव्य कोल्ड स्टोर तयार हुँदैछ । अबको पाँच महिनाभित्रै काम सम्पन्न गर्ने तयारी भइरहेको भाटभटेनी सुपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जानकारी दिए ।
उनका अनुसार एक महिनादेखि काम सुरु भएको हो ।
“हामीले छ महिनाभित्र मल्टिटेम्प्रेचर खालको कोल्ड स्टोर सञ्चालनमा ल्याउने तयारी गरेका छौँ, १० महिनाभित्रै पूर्ण सञ्चालनमा आउला,” बाह्रखरीसँगको कुराकानीमा भने ।
उनका अनुसार यो कोल्डस्टोर सञ्चालनमा आएपछि चितवन आसपासका कृषकलाई ठुलो सहयोग पुग्नेछ । “कुन फलफूललाई कुन तहको तापक्रम चाहिन्छ । त्यहीअनुसार तयार पारेर राख्न सकिन्छ,” स्टोरका बारेमा प्रष्ट पार्दै उनले भने ।
७२ हजार स्क्वायरफिटमा तयार हुन लागेको कोल्ड स्टोरमा एकैपल्टमा पाँच सय ट्रक सामान राख्न सकिन्छ । “७२ हजार स्क्वायरफिट क्षमताको रहन्छ,” उनले भने, “पाँच सय ट्रक सामन एक समयमै स्टोर गरेर राख्न सक्छौँ ।”
चितवन कृषि उर्वर भूमि भएको हुनाले यहाँ र यस वरपर उत्पादन भएका वस्तु स्टोर गरेर छ महिनासम्म जस्ताको त्यस्तै अवस्थामा राख्न सकिनेछ ।
नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहेका व्यवसायी उमेश श्रेष्ठ र गुरुङसहितको टिमले कोल्डस्टोर सञ्चालनमा ल्याउन लागेको हो ।
“हामीले सञ्चालनमा ल्याउन लागेकोजस्तो स्टोर भारतमा पनि निकै कम छन्,” उनले भने, “कृषकले आफ्नो उत्पादन २४ घण्टाभित्र स्टोरमा पुर्याउन सके ६ महिनासम्म जस्ताको त्यस्तै राख्न सकिनेछ ।”
उनले आफूहरुले कृषककै घरमा पुगेर पनि उत्पादन संकलन गर्ने, कृषकलाई उचित मूल्य दिने बताउँदै भने, “उहाँहरुले आफ्नो सामान आफैँ स्टोर गरेर राख्छु भन्न पनि पाउनुहुनेछ ।”
उनले गाजरको उदाहरण दिँदै कुनै बेला १०–१५ रुपैयाँ पर्ने गाँजर केही महिनामै दुई सय पुग्ने बताए । भाटभटेनीले कोल्ड स्टोरसँगै चितवनको टाँडीमा अहिलेसम्मकै ठुलो स्टोर बनाउँदैछ । “अहिलेसम्म भएकामध्ये सबैभन्दा राम्रो इटहरीको हो,” अध्यक्ष गुरुङले भने, “त्योभन्दा राम्रो चितवनमा बन्दैछ ।”