
काठमाडौं । राम कार्की (नाम परिर्वतन) सामाजिक सञ्जाल इन्स्टाग्राम लामो समयदेखि चलाउँछन् । कक्षा १२ पास गरेका कार्की पढाइमा पनि अब्बल छन् ।
उच्च शिक्षाका लागि केही दिनभित्र उनी अमेरिका जाँदैछन् । अध्ययनका लागि उनले अमेरिकाको भिसा पाइसकेका छन् । उनीजस्तै उनका नजिकका साथी श्याम बस्नेत (नाम परिवर्तन) पनि पढाइमा राम्रै छन् ।
उनीहरु दुवैजना रमाइलो गर्न क्लब होस् वा अन्य ठाउँ घुम्न सँगै हिँड्थे । दुवैजना इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय थिए ।
वैशाख पहिलो हप्ता भने राम कार्कीलाई एक युवतीले फलो गरिन् । रामले युवतीको प्रोफाइल हरे, राम्री देखे ‘फलोब्याक’ पनि दिए । रामलाई लमजुङ उदिपुरकी १८ वर्षीया युवती सक्रिया खनियाले फलो गरेकी थिइन् ।
सक्रिया र रामबीच इन्स्टामै करिब एक हप्ता कुरा भयो ।
हलो/हाइबाट सुरु भएको बोलचाल भेटघाट गर्नेदेखि रमाइलो गर्नेसम्मका कुरा हुन थाले । दुवै जनाबीच लामो सम्बन्धमा नबस्ने तर रमाइलो गर्ने हिसाबले भेट गर्नेबारेमा कुराकानी भयो । तर सक्रियाको प्रस्ताव थियो, ‘‘म एक्ले होइन एकजना साथी पनि छ । उ पनि बस्छ । तपाईंको मिल्ने साथी छ भने चारजना बस्नेगरी कतै बस्दा हुँदैन ?”
राम झन् खुसी भए । सक्रियाको कुरा स्वीकार गरे । हुन्छ मेरो मिल्ने साथी आउँछ । म कुरा गर्छु भनिहाले । सक्रियाको योजना अनुसार नै रामले आफ्नो मिल्ले साथी श्यामलाई रमाइलो गर्न जाने प्रस्ताव गरे । सक्रियासित उनकी साथी २४ वर्षीया सुनसरीकी कविता राई थिइन् । उनीहरु चारजना कुनै एक होटलमा बस्ने योजनामा पुगे ।
राम र श्यामले सुरुमा उनीहरुलाई ठमेलको कुनै होटलमा बस्ने प्रस्ताव गरेका थिए । तर, उनीहरुले ठमेल ‘असुरक्षित’ हुने भन्दै कलंकी बसौँ भन्ने प्रस्ताव गरे ।
राम र श्याम दुवैजना कलंकीको एक होटलमा पुगे । तर, युवतीहरु आफैँले होटल बुक गरिसकेको जानकारी दिए । राम र श्याम दुवैजना युवतीले बुक गरेको कलंकीको होटलमा बस्न पुगे शुक्रबार साँझ ।
राम र श्याम युवतीसहित होटलको कोठाभित्र के छिरेका थिए चारजना युवाहरु ‘ढोका खोल’ भन्दै पुगिहाले । चार युवाहरुले युवतीकै अघि राम र श्यामलाई कुटपिट गर्न थाले, मोबाइल खोसे । ती युवाहरुले आफूहरु सादा पोशाकका प्रहरी भएको बताएका थिए ।
प्रहरीले बेटिङ खेलेको पत्तो लागेको बताउँदै थुनामा बस्नुपर्ने बताएपछि अमेरिकाको भिसा लागेका रामको होस हवास् उड्यो । पाँच लाख नभएपछि आफ्नो बैंक खातामा रहेको तीन लाख ६३ हजार रुपैयाँ दिन तयार भए ।
त्यही रकम उनले कोठामा प्रवेश गरेका सन्दिप परियार र सन्दिप बिकको बैंक खातामा ट्रान्सफर गरेर छुटकारा पाए ।
...अनि खुल्यो युवती प्रयोग गरेको रहस्य
राम र श्याम दुवैले अनलाइन बेटिङ्ग गरेका थिएनन् । तर, प्रहरी हुँ भन्दै रकम लुटेर भागेपछि भने उनीहरु प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे । प्रहरीले उनीहरुले रकम पठाएको बैंक खातामार्फत् अनुसन्धान थाल्यो ।
बैंक खातामा रकम हाल्न लगाउने दुवै युवालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढायो ।
पीडित राम र श्याम प्रहरी कार्यालय उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेलगत्तै कार्यालयको ‘इन्टेलिजेन्स पिलर नम्बर–८’ का डीएसपी रोशन खड्काको टोलीले घटनामा संलग्न चारजना युवाहरुलाई पक्राउ गर्यो ।
राम र श्यामको ‘रेकी’ गर्ने थप दुई जनासहित ती दुई युवतीलाई समेत पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा नवलपरासी देवचुली नगरपालिका–१६ का सन्दिप परियार, चितवनका सन्दिप विक, चितवनकै अतित क्षेत्री, चितवनकै बादल तामाङ, नवलपरासीका अनिस केसी र चितवनकै विवेक मल्ल ठकुरी छन् ।
उनीहरुमाथि कार्यालयको आपराधिक लाभ कसुर मुद्दामा अनुसन्धान सुरु गरेको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेका युवाहरुले योजनावद्ध रुपमा युवती प्रयोग गरेर प्रहरी हुँ भन्दै लुटेको अनुसन्धानका क्रममा खुलेको छ ।
एसपी आचार्यले भने,‘‘उनीहरुले योजनावद्ध रुपमा युवती प्रयोग गर्ने र होटलमा बस्न लगाउने अनि पछि आफैँ गएर प्रहरी हुँ भन्दै त्रासमा पारेर लुट्ने गरेको खुलेको छ । हामी थप अनुसन्धान गर्दैछौँ ।’’
प्रहरीले पक्राउ परेकी युवतीहरु हनी ट्यापमा समेत प्रयोग भएको हुन सक्ने आशंका गरेको छ ।
प्रहरीले उनीहरुको बैंक खाता र कारोबारको समेत अनुसन्धान थालेको छ । प्रहरीको प्रारम्भीक अनुसन्धानका क्रममा लुटपाट घटनाका मुख्य योजनाकार विवेक भएको खुलाएको छ । पक्राउ परेका सन्दिप विक र अतित क्षेत्री यसअघि समेत यस्तै प्रकृतिको घटनामा संलग्न रहेको खुलेको छ ।
उनीहरुले युवती प्रयोग गरेर लुटपाट गर्ने तथा हनी ट्यापमा पार्ने गिरोह नै सञ्चालन गरेको आशंका प्रहरीको छ । उनीहरुले अलिकति सम्पन्न र सामाजिक प्रतिष्ठा भएका युवाहरुलाई जालमा पार्ने गरेको प्रहरीको भनाइ छ ।