
काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युथ क्लब र श्री टुसाल युवा क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् ।
च्यासलले खेलको पहिलो हाफमा नै अग्रता बनाएको थियो । टुसालले भने खेलको अन्तिम मिनेटमा गोल फर्काउँदै पुनरागमन गरेको हो ।
खेलको ३०औँ मिनेटमा अनिल बोम्जनले च्यासललाई अग्रता दिलाए । ९०औँ मिनेटमा प्रदीप सुनारले टुलासका निम्ति बराबरी गोल फर्काए ।
बराबरीसँगै च्यासल र टुसालले तालिकामा आफ्नो स्थान यथावत् राखेको छ । लिगको छैटौँ स्थानमा रहेको च्यासलले कुल ११ खेलमा तेस्रो बराबरी खेल्दै कुल चार जित र चार हारसहित १५ अंक जोडेको हो । लिगको १२औँ स्थानमा रहेको टुसालले पाँचौँ बराबरी खेल्दै कुल ११ खेलमा दुई जित, पाँच बराबरी र चार पराजयबाट ११ अंक बनाएको हो ।