काठमाडौं । राम्रो र दर्शकले खोजेजस्तो चलचित्र बनाउन सके विदेशी सिनेमासँग डराउनुपर्ने अवस्था नरहेको सिनेकर्मी बताउँछन् । स्तरीय सिनेमा बनाए घरेलु बजारमा यहीँका चलचित्रको बेलावाला रहने उनीहरूको जिकिर छ ।
चलचित्र वितरक मनोज राठी राम्रो सिनेमा बने प्रदर्शक आफैँ शो उपलब्ध गराउन बाध्य हुने बताउँछन् । ‘कबड्डी’, ‘छक्का पञ्जा’, ‘जारी’ यसका उदाहरण हुन् । “राम्रो चलचित्र बन्यो भने प्रदर्शक आफैँ धेरै शो उपलब्ध गराउन बाध्य हुन्छन्,” मनोज भन्छन्, “दर्शकले रुचाएन भने जति शो दिए पनि सिनेमा चल्दैन । नचल्ने सिनेमालाई शो उपलब्ध गराए पनि त्यसको अर्थ हुँदैन । जति शो दिए पनि आफैँ घट्छ ।”
यसको उदाहरणका लागि चलचित्र ‘छड्के’लाई लिन सकिन्छ । ‘छड्के’लाई राम्रो शो उपलब्ध गराइए पनि अधिकांश शो क्यान्सिल भएका थिए । जसका कारण केही दिनमै सिनेमा उत्रिएको थियो ।
स्तरीय सिनेमा भए सुरुमा थोरै शो पाए पनि विस्तारै आफैँ थपिँदै जाने मनोज बताउँछन् । “राम्रो सिनेमा बनाए, त्यो राति १२ बजे पनि चल्छ । बिहान ६ बजे पनि चल्छ । उच्च शो आफैँ पाउँछ । ‘जारी’ राति १२ बजे पनि चल्यो । माग उच्च रहेकाले सुरुमै उच्च शो पनि पायो,” उनी भन्छन्, “‘केजीएफ’ लाग्दा राति सिनेमा चलाइयो भनेर विरोध पनि भयो । तर, संसारभर नाइट लाइफ चल्छ । हाम्रोमा विरोध भए पनि यसको औचित्य छैन,” वितरक मनोज भन्छन्, “राम्रो सिनेमा भए सिनेमा जति बेला पनि चल्दो रहेछ । हाउसफुल पनि हुँदो रहेछ ।”
आफ्नो चलचित्र राम्रो भए बलिउड अथवा हलिउड सिनेमासँग डराउनु पर्ने अवस्था नरहेको उनको भनाइ छ । कन्टेन्ट बलियो भएको अवस्थामा कसैसँग तर्सिनु नपर्ने मनोज बताउँछन् ।
“कन्टेन्ट बलियो चाहिन्छ । एकातिर दर्शकको च्वाइस छ, अर्कोतिर कन्टेन्ट भयो भने त्यस्तो सिनेमा जे गरे पनि चल्दैन,” मनोज भन्छन्, “कलाकार मात्रै भएर हुँदैन, कन्टेन्ट पनि बलियो चाहिन्छ । कन्टेन्ट बलियो भयो भने कलाकार जो भए पनि हुन्छ । कलाकार यो वा त्यो छ भनेर हुँदैन, कन्टेन्टले दर्शक तान्नुपर्छ । दर्शक सचेत भइसकेका छन् ।”
चलचित्र निर्माता संघले भने सिनेमा हलले नेपाली चलचित्रलाई हेप्ने गरेको आरोप लगाउँदै आएको छ । विदेशी भाषाका सिनेमा नेपाल आउँदा नेपाली चलचित्रलाई हलले बेवास्ता गर्ने गरेको गुनासो निर्माताले गर्दै आएका छन् ।
चलचित्र निर्माता संघका पदाधिकारीले गत माघ तेस्रो साता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग भेटेर नेपाली सिनेमा हलले वर्षमा २५० दिन नेपाली चलचित्र अनिवार्य चलाउनुपर्ने माग गरेका थिए । नेपाली सिनेमालाई प्रदर्शकले प्राथमिकतामा नराख्ने गरेको संघको भनाइ थियो । हलले नेपाली सिनेमा कम्तीमा २५० दिन अनिवार्य चलाउने व्यवस्था मिलाउन संघले मन्त्री शर्मासँग आग्रह गरेको थियो ।
प्रदर्शनका लागि नेपाल ल्याइने विदेशी भाषाका सिनेमाको भन्सार शुल्क तीन दोब्बर वृद्धि गर्न निर्माता संघका अध्यक्ष नवल खड्काले माग गर्दै आएका छन् । “२० लाखको चलचित्र ल्याउँदा पनि त्यति नै शुल्क, तीन करोडको चलचित्र ल्याउँदा पनि त्यति नै भन्सार शुल्क लाग्ने गरेको छ,” उनी भन्छन्, “यसलाई बढाएर तेब्बरसम्म पु¥याउनुपर्छ । यसले राजस्व पनि वृद्धि गर्छ र नेपाली सिनेमालाई पनि फाइदा गर्छ ।” चलचित्र निर्माता संघ नेपाली सिनेमा निर्माताहरूको साझा संस्था हो ।
निर्माता संघले विदेशी भाषाका सिनेमाको छायामा नेपाली चलचित्र परिरहेको जिकिर गर्दै आएको छ । तर, नेपालमा राम्रो ब्रान्ड बनाइसकेका चलचित्रले बलिउड सिनेमालाई चुनौती दिन थालिसकेका छन् । यसको पछिल्लो उदाहरणका रूपमा ‘जारी’लाई लिन सकिन्छ । बलिउड सुपरस्टार सलमान खानको ‘किसी का भाई किसी का जान’लाई ‘जारी’ले ओझेलमा पारिदियो । सुरुका दिनदेखि नै ‘जारी’ले उच्च शो पायो । पाएका शोमा पनि दर्शकको चाप ‘किसीका भा किसीका जान’मा भन्दा ‘जारी’मा नै देखियो । यसले पनि बलियो सिनेमा आएको खण्डमा बलिउडसँग नेपाली चलचित्र डराउनुपर्ने अवस्था नरहेको पुष्टि गर्छ ।
‘किसी का भाइ किसीका जान’ नेपालमा मात्र होइन, भारतमै समेत ओझेलमा परेको सिनेमा हो । यसले भारतमा पनि सन्तोषजनक व्यापार गर्न सकेन । भारतमा यो सिनेमाले पहिलो दिन १५ करोड भारतीय रुपैयाँ मात्र ग्रस कलेक्सन गरेको थियो ।
‘जारी’ आफैँमा ब्रान्ड भने होइन । तर, यो ब्रान्ड निर्माण गरिसकेको ‘कबड्डी’ टिमले बनाएको चलचित्र हो । ‘कबड्डी’का निर्देशक रामबाबु गुरुङ यसका निर्माता हुन् । ‘कबड्डी’का लेखक उपेन्द्र सुब्बा ‘जारी’का निर्देशक हुन् । ‘कबड्डी’का दयाहाङ राई, विजय बराल, बुद्दि तामाङलगायत कलाकार ‘जारी’का कलाकार हुन् । ‘जारी’ आफैँमा पहिला नै आइसकेको सिनेमाको सिक्वेल, प्रिक्वेल वा सिरिज भने होइन ।
चलचित्र ‘छक्का पञ्जा’ सिरिजका निर्माता तथा कलाकार दीपकराज गिरी हिन्दी सिनेमा आउँदैमा डराएर भाग्नुपर्ने अवस्था नरहेको बताउँछन् । घरेलु व्यापार उत्कृष्ट भएको बेला विदेशी सिनेमा आउँदैमा डराउनु नपर्ने आफ्नो अनुभव रहेको उनी सुनाउँछन् ।
“घरेलु सिनेमाको व्यापार उत्कृष्ट भएको समयमा विदेशी सिनेमाले काम गर्दैन । सलमानकै सिनेमा आउँदा पनि हाम्रो चलचित्र आएको छ । तर, त्यसले त्यति धेरै असर गरेन,” दीपक स्मरण गर्छन् । विदेशी सिनेमासँगै रिलिज हुँदा पनि आफ्नो चलचित्रले उत्तिकै व्यापार गरिरहेका उनको दाबी छ ।
“रणवीर कपुरको सिनेमा ‘तू झूठी मैं मक्कार’, अजय देवगणको ‘भोला’ र अंग्रेजी सिनेमा आउँदा पनि हामीले झेल्यौँ । यी सिनेमा भारतमा पनि राम्रो चलेका सिनेमा थिए,” दीपक भन्छन्, “एकैसाथ तीनवटा सिनेमा आउँदा पनि हाम्रो घरेलु सिनेमाले झेल्न सक्नु भनेको हाम्रा सिनेमाले विदेशी चलचित्रलाई पनि झेल्न सक्छन् भन्ने सन्देश हो ।”
ब्यानर र कन्टेन्ट राम्रो भए दर्शकले नेपाली सिनेमा हेर्नेमा शंका नरहेको दीपक बताउँछन् । “राम्रो सिनेमालाई दर्शकले प्रेम गर्नुहुन्छ । त्यसैले राम्रो कन्टेन्ट र मिहिनेत गरेका छौँ भने डराउनु पर्दैन,” उनी भन्छन् ।
ठूलो हाइप भएका ‘बाहुबली’, ‘केजीएफ’जस्ता सिनेमासँग भने डराउनुपर्ने अवस्था रहेको उनको भनाइ छ । ब्रान्ड छ भन्दैमा मिहिनेत नगरी आए त्यसले काम नगर्नेमा दीपक सचेत छन् ।
“अहिले मैले हामी सबै बलिउड सिनेमासँग डराउँदैनौँ भन्दा झुट हुन्छ । ठूलो हाइप बनाउने बाहुबली, केजीएफजस्ता सिनेमासँग भने अझै पनि डराउनुपर्ने अवस्था छँदै छ,” दीपक स्पष्ट पार्छन््, “यस्ता सिनेमा आउँदा शो बाँडिन्छ । शो नपाउँदा सिनेमाको व्यापार राम्रो हुँदैन ।”
ब्रान्ड बनाउन मिहिनेत गर्नुपर्नेमा उनको जोड छ । ‘छक्का पञ्जा’ वा ‘कबड्डी’ जस्तै बनाउँछु भन्नेतर्फ लाग्नुभन्दा आफ्नै नयाँ टेस्टसहितको ब्रान्ड बनाउनुपर्ने उनी बताउँछन् । “म पनि कबड्डी र छक्का पञ्जाजस्तै सिनेमा बनाउँछु भनेर बनाउनुभन्दा पनि म आफ्नै ब्रान्ड बनाउँछु भनेर सिनेमा बनाउनुपर्ने आवश्यकता छ,” दीपक भन्छन्, “यसो भयो भने भारतीय स्टारका सिनेमा आउँदैमा हामी हतास हुनु पर्दैन । दर्शकको माया पाएको ब्रान्ड र ब्यानरले घरेलु बक्सअफिसमा राम्रो व्यापार गर्छ ।”
प्रायः नेपाली मेकरले बलिउड सिनेमाका क्यालेन्डर हेरेर आफ्नो चलचित्रको रिलिज डेट तोक्छन् । कतिपय निर्देशक तथा निर्माताले आरक्षणका आधारमा नेपालमा विदेशी भाषाका सिनेमा रिलिज गर्नुपर्ने माग गर्दै आएका छन् । तर, त्यसको विरोधमा आवाज उठाउनेहरूको संख्या धेरै छ । कला/साहित्यलाई भूगोलका आधारमा निषेध गर्न नहुने उनीहरूको तर्क छ ।
विदेशी सिनेमा प्रदर्शनमा आरक्षणको व्यवस्था गरेको चीनको उदाहरण दिएर नेपालले पनि त्यस्तै प्रावधान ल्याउनुपर्ने बताउने एउटा जमात छ । विदेशी सिनेमाले नेपाली कला, साहित्य र संस्कृतिको अतिक्रमण गरेको तर्क उनीहरूले पेस गर्दै आएका छन् ।