site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रिमियममा आईपीओ निष्कासन गर्दै घोराही सिमेन्ट

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले वैशाख १९ गतेदेखि स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीका लागि प्रिमियममा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३०० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४०० रुपैयाँका दरले आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले तीन लाख ९७ हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्न लागेको हो । उक्त सेयरमा दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १, २, ३, ४, १४, १५, १७, १८, १९, दाङ जिल्ला, बंगलाचुली गाउँपालिका वडा नं. ३, ४ र रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं. ३, ४ का बासिन्दाले आवेदन दिन सक्नेछन् ।

सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने सात करोड ५४ लाख ६६ हजार १०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले सात लाख ५४ हजार ६६१ कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गर्न लागेको हो । 

कम्पनीले निष्कासन गर्न लागेको आईपीओमा स्थानीय वासिन्दाले न्यूनतम १० कित्तादेखि एक लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारमा रहेका नेपालीले भने न्यूनतम १० कित्तादेखि अधिकतम सात लाख ५४ हजार ६६१ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा जेठ २ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग अनुसार आवेदन नपरे जेठ १७ गतेसम्म आवेदन खुला रहने बताइएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने जेठ २ गतेभित्र आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सि–आस्बा प्रणानीबाट आवेदन दिन सक्नेछन् ।

स्थानीयले भने हिमालयन बैंक, नबिल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक, कुमारी बैंक, एनएमबि बैंक, सानिमा बैंक, ज्योति विकास बैंकका घोराहीमा रहेका शाखामार्फत आवेदन दिन सक्नेछन् । आवेदकले बिक्री प्रबन्धक र घोराही सिमेन्ट इण्डष्ट्रीको घोराही कार्यालयबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धक हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेका छन् । 

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्म कम्पनी चार अर्ब तीन करोड ८७ लाख रुपैयाँमा नाफामा रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्