
काठमाडौं । भक्तपुरको मध्यपुरथिमिमा शनिबार हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दूर जात्रा अर्थात् सुथः सिया मनाइएको छ ।
बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिमा मनाइने सिन्दूर जात्रा अति प्रसिद्ध छ । थिमिमा मात्र मनाइने सिन्दूर जात्रामा बिहानै बालकुमारी र कालिका अर्थात् बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको थियो । बिहानै सिद्धिकालीको खट ल्याएर आफ्ना गणहरूसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु भएको थियो ।
जात्रा सुरु भएपछि पमाहरू हातहातमा चिराग अर्थात् बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइएको थियो ।
यसैगरी, विष्णुवीर, सिद्धिकालीलगायत देवदेवीहरूको खट ल्याएर यो जात्रा मनाइएको छ ।
थिमिमा ३२ खट सहभागी रथ बोकेर परम्परागत रूपमा मनाउँदै आएको भए पनि पछिल्लो समय खटको संख्या घट्दै गएको छ । जात्रामा बालकदेखि वृद्धवृद्धासम्म सहभागी थिए ।
एकापसमा छ्यापिएको सिन्दूरका कारण मध्यपुरथिमि क्षेत्रको सडक राताम्मे भएको थियो । यो मध्यपुरथिमिको सबैभन्दा ठूलो जात्रा हो । जात्रामा थिमि क्षेत्रबाट २३ र नगदेश, बोडे र टिगनीबाट नौ गरी ३२ खटसहित नगर परिक्रमा गर्ने परम्परा छ । यसमा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दूर खेल्दै सिन्दूर जात्रा मनाइन्छ ।
मूल देवता खटमा राखी धिमे बाजाका साथ चिराक बाली सिन्दूर जात्रा मनाइने परम्परा छ । जात्रा प्रत्येक चोक, चौबाटो, घर र टोलमा पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दूर छर्ने, फूल बर्साएर स्वागत गर्ने प्रचलन छ ।
जात्रामा काँया बाजा, भुस्याबाजा, धिमे बाजा बजाएर देवताका खटलाई घुमाउँदै एकार्कालाई सिन्दूर दल्ने, आपसमा सिन्दूर खेली जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दूर जात्रा भनिएको हो ।