काठमाडौं । चैत दोस्रो सातायता नेपालमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ । संक्रमण बढेसँगै कोरोनाकोे नयाँ भेरियन्ट पनि पुष्टि भइसकेको छ, एक्सबीबी.१.१६ । यो ओमिक्रोन समूहकै एक सब भेरियन्ट भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ, ओमिक्रोन भने यसअघिकै सबैभन्दा धेरै फैलिएको भेरियन्ट हो ।
नेपालमा पछिल्ला १५ दिनमा (चैत ११ देखि २५ सम्म) ९०१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ । भारतमा तीव्र रुपमा फैलिइरहेको एक्सबीबी भेरियन्ट संक्रामक भए पनि यसअघिका लहरमा फैलिएको डेल्टाजस्तो घातक भने नरहेको भारतीय विज्ञहरुले बताएका छन् ।
एक्सबीबी.१.१६ ले दीर्घरोगी, रोग प्रतिरोधी क्षमता कम भएका वृद्धवृद्धालगायतलाई भने सिकिस्त पनि बनाइरहेको छ । नेपालमा शनिबारसम्म ३५७ जना सक्रिय संक्रमित रहकोमा १५ जना कोरोना संक्रमित काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत छन् । तीमध्ये पनि आठजना आईसीयू र पाँचजना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ ।
कस्ता छन् लक्षण ?
कोरोना संक्रमण बढेसँगै पछिल्लो समय देखिइरहेको रुघाखोकी र ज्वरो एक्सबीबी.१.१६ कै लक्षण हो कि भन्ने धेरैमा त्रास देखिएको छ । यसको लक्षण र सम्भावनाबारे वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबाहादुर पुन भन्छन्– अहिले देखिइरहेका कोरोना संक्रमितमा पनि ज्वरो, जिउ दुख्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्नेलगायतकै लक्षण देखिएका छन्, जुन यसअघि ओमिक्रोनमा देखिएकै लक्षण हुन् । तर, यी लक्षण कोरोना पोजिटिभ नै होला भन्न सकिँदैन ।
डा. पुन अगाडि थप्छन्– यी लक्षणसँगै अहिलेका संक्रमित स्वाद र गन्ध हराउँदै गएको बताउँछन्, जुन कोरोना पुष्टि गर्ने मुख्य लक्षण हुन् । तर, यदि माथिका लक्षण मात्रैका आधारमा कोरोना भए नभएको यकिन गर्न भने परीक्षण नै गर्नुपर्ने हुन्छ ।
कस्तो अवस्थामा गराउने कोरोना परीक्षण ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएको जनाएको छ । मन्त्रालयले ज्वरो आउने, खोकी लाग्ने, हाच्छिउँ आउने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिएमा आइसोलेसनमा बस्न र लक्षण निरन्तर देखिइरहे कोरोना भाइरसको परीक्षण गराउन आग्रह गरेको छ ।
डा. पुनका अनुसार एक्सबीबी.१.१६ समुदायस्तरमा फैलिइरहेको पुष्टि भइसकेको छ । त्यसैले आफूसँगै बसेका, भेटेका व्यक्तिहरुमा कोरोना पुष्टि भएमा एकपटक परीक्षण गराउँदा राम्रो हुने उनी बताउँछन् । भन्छन्, “सिकिस्त नै नभए पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए ४८ घण्टाभित्र परीक्षण गराउँदा नतिजा फरक पर्ने सम्भावना रहँदैन ।”