काठमाडौं । साफ महिला च्याम्पियनसिपअन्तर्गत नेपाल र भारतबीचको खेलका दौरान रेफ्रीको निर्णयप्रति चौतर्फी आलोचना भइरहेको छ ।
प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भुटानी रेफ्री ओम चोकी मुख्य रेफ्रीको भूमिकामा थिइन् । यस्तै, असिस्टेन्ट रेफ्रीमा छोदेन छिरिङ र मोने साल्मा अख्तर थिए । फोर्थ अफिसियलमा चक्मा जाहा, म्याच कमिस्नरमा दोर्जी मिन्दु र रेफ्री एसेसरमा रबेलो मारिया थिइन् । स्मरण रहोस्, रेफ्री एसेसर मारिया भारतकी हुन् ।
दोस्रो सेमिफाइनलमा रेफ्रीको निर्णयकै कारण खेल डेढ घण्टाभन्दा बढी रोकियो । खेलभरकै विभिन्न अवस्थामा नेपालविरुद्ध निर्णय लिएको भन्दै आलोचना खेपिरहेकी चोकीले ७२औँ मिनेटमा नेपालको गोल नदिनु सबैभन्दा विवादास्पद विषय रह्यो ।
खेलको ६२औँ मिनेटमा (म्याच रिपोर्टअनुसार) संगीता बासफोरेको गोलमा भारतले घरेलु टिमविरुद्ध अग्रता बनाएको थियो । त्यो गोलपछि ‘सेलिब्रेसन’ गर्न भारतका सबै खेलाडी मैदान छोडेर बाहिर ‘टेक्निलक जोन’मा आएका थिए । भारतीय खेलाडी खुसीयाली मनाइरहँदा नेपालले रेफ्री चोकीको अनुमतिका खेल सुरु गरेको थियो । नेपालकी फरवार्ड सावित्रा भण्डारी (साम्बा)ले चोकीसँग अनुमति लिँदै खेल सुरु गरेकी थिइन् ।
नेपालले खेल सुरु गरेको थाहा पाउँदा भारतीय खेलाडी हतारिँदै मैदान प्रवेश गरेका थिए । तर, उनीहरू आउन नपाउँदै सावित्राको पासमा प्रीति राईले मध्य भागबाटै प्रहार गर्दै गोल गरेकी थिइन् । नेपालको यो गोलमा रेफ्री चोकीले गोलको इसारा पनि गरेकी थिइन् । तर, भारतीय टिमले विरोध जनाएपछि भने स्कोरबोर्डमा नेपालको बराबरी गोल देखिँदैन । त्यसपछि चोकीले उक्त गोललाई मान्यता दिन नसक्ने जनाउँछिन् ।
चोकीकै अनुमतिमा खेल सुरु गरेको नेपाली टिमलाई यो कुनै आश्चर्यभन्दा कम थिएन । नेपाली टिमले विरोध गरेका थिए । तर, केहीबेरको विरोधपछि नेपाली टिम पुनः मैदानमा आउँछन् र खेल सुरु गर्छन् । मैदानको मध्यभागबाट सुरु भएको खेल केही बेरमै पुनः रोकिन्छ । बल आउट जाँदा समर्थकले पुनः बोतल र कोल्ड ड्रिंङसका बोतल फ्याक्न थालेपछि खेल फेरि रोकियो । त्यसपछि भने नेपाली खेलाडीले खेललाई निरन्तरता दिने मनसाय देखाएनन् ।
दर्शकबाट बनेको तनावग्रस्त वातावरण र नेपाली खेलाडी पनि रुष्ट बन्दा खेल १ घण्टा १५ मिनेटसम्म सुरु हुन सकेन । रंगशालामा उपस्थित भएकाहरूका निम्ति यो कुनै आश्चर्यभन्दा कम थिएन । यस अवधिमा नेपालकी सावित्रा भण्डारी मैदान नै छोडेर चेन्जिङ रुम जाने–आउने गरिरहेकी थिइन् ।
“रेफ्रीले गोल नदिनुमा दुई कारण देखाए । पहिलो विपक्षी टिमका प्रशिक्षक मैदानभित्र रहेको र दोस्रो, अर्को टिमको गोलकिपर आफ्नो पोजिसनमा नभएको । यी दुवै कारण नियमअनुसार थिएनन् । यसैकारण हाम्रा खेलाडी खेल अघि नबढाउने मनसायमा पुगे,” खेलपछि मैदानमा भएको घटनाबारे स्पष्टीकरण दिँदै नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले भनेका थिए ।
रेफ्रीको निर्णय सही वा गलत ?
फिफाको ‘लज अफ दी गेम’को ‘ल–८’ मा एक टिमले किक–अफ गर्नुअघि विपक्षी टिमका सबै खेलाडी उनीहरूकै हाफमा हुनुपर्ने बताइएको छ । उक्त सेमिफाइनलमा भारतका खेलाडीले गोल गरेपछि खुसीयाली मनाउन सबै उनीहरूकै हाफमा थिए । यसैकारण भुटानी रेफ्री चोकीले नेपाली टिमलाई मध्यभागबाट बल चलाउन अनुमति दिएकी थिइन् ।
“लज अफ दी गेमअनुसार खेल सुरु गर्ने अनुमति दिइसकेपछि भएको गोलले मान्यता पाउनुपर्थ्यो । मैले यो विषय आएपछि फिफाका रेफ्रीहरूसँग पनि कुराकानी गरे । उनीहरूले पनि त्यसमा कुनै समस्या छैन गोल हुनुपर्थ्यो भन्ने पक्षमा थिए,” बाह्रखरीसँगको कुराकानीमा एक फिफा रेफ्रीले भने, “पहिलो हाफको ह्यान्डबल र दोस्रो हाफको रातो कार्डबारे भने रेफ्रीको गल्ती थिएन । मैदानभित्र केही सेकेन्डमै निर्णय दिनुपर्ने हुँदा रेफ्रीमाथि पनि यस्तो कुरामा दबाब हुन्छ ।”
नेपाल र भारतबीचको खेलकी मुख्य रेफ्री चोकी भुटानबाट फिफा ब्याच पाउने पहिलो महिला रेफ्री समेत हुन् । उनले सन् २०१९ मा फिफा रेफ्रीको ब्याच पाएकी थिइन् ।
नाम नखुलाउने सर्तमा बाह्रखरीसँग कुराकानी गरेका एक रेफ्रीले आइतबारको खेलमा भुटानी रेफ्रीभन्दा रेफ्री एसेसरबाट गल्ती भएको टिप्पणी गरे ।
“भुटानी रेफ्री चोकी अनुभवी हुन् । एएफसीको इलाइट रेफ्रीमा पर्छिन् । उनले यसअघि एएफसीका ठूला–ठूला प्रतियोगिता समेत सञ्चालन गरिरसकेकी छन् । तर, आइतबारको खेलमा भने रेफ्री एसेसरको कारण उनी विवादमा परिन्,” उनले भने, “उनकै अनुमतिमा नेपालले खेल सञ्चालन गरेको थियो । तर, गोलपछि रेफ्री एसेसर मैदानमै आउँदा दबाबमा उनले गोल दिन सकिनन् । त्यसरी रेफ्री एसेसरलाई मैदानमा आउने अनुमति नै हुँदैन । अझ रमाइलो कुरा रेफ्री एसेसर भारतकै हुन् । हाल भुटानी रेफ्रीको चौतर्फी आलोचना भइरहेको छ । उनको करियरकै सबैभन्दा ठूलो विवादमा फसिन् ।”
आइतबार रेफ्री एसेसरको भूमिकामा रहेकी रेबेलो मारियाले सन् २०१० मा एएफसी र २०११ मा फिफा रेफ्री ब्याच लिएकी थिइन् । उनी भारतीय महिला फुटबल टिमकी पूर्वखेलाडी समेत हुन् । उनले सन् २००१ मा भएको एएफसी महिला च्याम्पियनसिपको भारतीय टिमको कप्तानी सम्हालेकी थिइन् ।
बाह्रखरीसँग कुराकानी गरेका एक रेफ्रीले यस घटनामा अखिल नेपाल फुटबल संघ (एन्फा)ले दक्षिण एसियाली फुटबल महासंघ (साफ)मा उजुरी गर्नुपर्ने बताउँछन् ।
“भारतविरुद्धको जितले खेलको रेफ्री प्यानलबाट भएको सबै गल्ती छोपियो । नेपालले हार बेहोरेको भए त्यहाँको स्थिति बेग्लै पनि हुन सक्थ्यो । खेलका दौरान रेफ्री प्यानलबाट गल्ती भएको छ । यसबारे एन्फाले सम्बन्धित निकायमा उजुरी गर्नुपर्छ । आइतबारको गल्ती जितले छोपिए पनि आगामी दिनमा त्यस्तो हुन नदिन कदम चाल्नुपर्छ,” उनले थपे ।
रेफ्रीलाई कस्तो कारबाही हुन सक्छ ? भन्ने प्रश्नमा उनले फिफा वा फुटबल सम्बन्धित निकायले कारबाहीलाई गोप्य राख्न सक्ने बताए ।
“धेरैजस्तो केसमा रेफ्रीलाई हुने कारबाही फिफा वा अन्य फुटबल निकायले सार्वजनिक गर्दैनन् । रेफ्रीलाई पनि कारबाही हुन्छ । उनीहरूलाई कारबाही स्वरुप निश्चित खेलका लागि निलम्बित गरिन्छ,” उनले भने ।
उजुरीबारे सोचेका छैनौँ : एन्फा
उनले उजुरी गर्नुपर्ने बताइरहँदा एन्फाले भने हालसम्म त्यसबारे केही नसोचेको जनाएको छ । एन्फाका प्रवक्ता सुरेश शाहले प्रतियोगिताको प्राविधिक टिमले त्यस्ता कुरा हेर्ने हुँदा हालसम्म उजुरीबारे नसोचेको बताए ।
“रेफ्रीसम्बन्धी कुरा प्राविधिक टोलीले हेर्छ । त्यसैले हामीले आइतबारको घटनाबारे उजुरीसम्बन्धी हालसम्म के गर्ने भन्नेबारे निर्णय गरिसकेको छैनौँ,” प्रवक्ता शाहले बाह्रखरीसँग भने ।
रेबेलाप्रति पाकिस्तानी प्रशिक्षक पनि थिएनन् खुसी
प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तान र भारतले खेलेका थिए । उक्त खेल भारतले ५–२ ले जितेपछि पाकिस्तानी प्रशिक्षक आदिल रिज्कीले पनि रेफ्रीको आलोचना गरेका थिए । उनले भारतको खेलमा भारतीय रेफ्री एसेसर भएको भन्दै निराशा पोखेका थिए । त्यस खेलमा पनि रेबेला नै रेफ्री एसेसरको भूमिकामा थिइन् ।
“मलाई लाग्छ रेफ्री खेलको सबैभन्दा ठूलो समस्याको रूपमा रहे । त्यसले पक्कै पनि हाम्रो टिमलाई असर गर्यो । त्यहाँ निकै खराब निर्णयहरू भएका थिए । भारतको खेलमा भारतकै रेफ्री एसेसर । यसबारे आयोजकले सोच्नुपर्थ्यो,” खेलपछि पाकिस्तानी प्रशिक्षक रिज्कीले भनेका थिए ।