site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसका ११ आकांक्षी, रास्वपाले कसलाई बनाउँदै छ उमेदवार ?

काठमाडौं । उपनिर्वाचन हुँदै गरेको एकमात्रै नगरपालिका हो, कीर्तिपुर । काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयर पदका निम्ति हुने उपनिर्वाचनलाई चासोका साथ हेरिएको छ ।

आगामी मंसिर १६ गते कीर्तिपुरसहित एक नगरपालिका उपप्रमुख, दुई गाउँपालिका अध्यक्ष, चार उपाध्यक्ष र वडाध्यक्ष पदमा चुनाव हुने तय भएको छ । सबै पदका लागि दलहरूले उमेदवार छान्ने गृहकार्य गरिरहेका छन् ।

०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिका नेपाली कांग्रेसले जितेको थियो । नगरप्रमुख राजकुमार नकर्मीको ०८१ साउन १० गते निधन भएको थियो । मृगौलाको रोगबाट पीडित नकर्मीको उपचारका कममा निधन भएपछि रिक्त स्थानमा उपनिर्वाचन हुन लागेको हो ।

एमालेले मानन्धरलाई उमेदवार बनाउने, माओवादीले दोहोर्‍याउँदै 

उपनिर्वाचनका निम्ति मंसिर २ गते उमेदवारी दर्ता हुँदै छ । दलहरूले धमाधम उमेदवार छनोटको गृहकार्य गरिरहेका छन् ।

उपनिर्वाचनका लागि नेकपा (एमाले)ले सुरेन्द्र मानन्धरलाई उमेदवार बनाउने भएको छ । एमालेको कीर्तिपुर नगर कमिटीले मानन्धरको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

उता, नेकपा (माओवादी केन्द्र)ले ०७९ को स्थानीय तह चुनावमा पराजित शिवशरण महर्जनलाई नै दोहोर्‍याउने भएको छ । 

पार्टीका उपाध्यक्ष तथा वाग्मती प्रदेश इन्चार्ज अग्नि सापकोटासहित बसेको नगरसमितिको सोमबारको बैठकले महर्जनलाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ । 

त्यस्तै, राप्रपाले इन्जिनियर ध्रुव महर्जनलाई उमेदवार बनाउने घोषणा गरिसकेको छ । 

कांग्रेसमा ११ आकांक्षी, नकर्मीर्की श्रीमतीको नाम पनि सिफारिस
 
नगरपालिकाको मेयरको उमेदवारका लागि नेपाली कांग्रेसमा ११ आकांक्षी देखिएका छन् । उपनिर्वाचनका निम्ति ११ जनाले आकांक्षा राखेका हुन् । कांग्रेसको नगर समितिले ती नाम क्षेत्रीय समितिमा पठाएको छ । 

क्षेत्रीय समितिले आज जिल्लालाई सिफारिस गर्न लागेको हो । विधानतः तीन जनाको नाम सिफारिस गर्नुपर्ने भए पनि ११ जनाको नाम आइपुगेको क्षेत्रीय सभापति पुकार महर्जनले बताए । 

“विधानतः एक महिला रहने गरी तीन जनाको नाम सिफारिस गर्नुपर्ने हो । तर, नगर समितिले सुरुमा लगातार तीनजना पुरुषको नाम राखेर सिफारिस गरेको छ,” उनले बाह्रखरीसँग भने, “हामीले कारणसहित जिल्लालाई आज सिफारिस गर्दै छौँ ।”

सिफारिसमा नगर सभापति कृष्णमान डंगोलको नाम पहिलो नम्बरमा छ । त्यसपछि बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, किरण केसी, मीनप्रकाश महर्जन र सचिन्द्र महर्जनको नाम राखिएको छ । 

चाौँथो नम्बर सिफारिस भएकी जमुना नकर्मी यसअघिका मेयर नकर्मीकी श्रीमती हुन् । 

रास्वपाले कसलाई उमेदवार बनाउँछ ? 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ०७९ को स्थानीय तहको निर्वाचन हुँदा स्थापना नै भएको थिएन । प्रदेशको चुनाव नलड्ने घोषणा गरेको रास्वपाले उपनिर्वाचन लड्ने निर्णय केन्द्रीय समितिबाट गरिसकेको छ । 

रास्वपाको केन्द्रीय समितिले सहमहामन्त्री विपीन आचार्य संयोजक रहेको उपनिर्वाचन संयोजन समिति बनाएको थियो । तर, उनले केन्द्रीय समितिलाई नै जिम्मा दिएपछि सांसद गणेश पराजुलीको नेतृत्वमा उपनिर्वाचन संयोजन समिति बनाइएको छ । उक्त समितिले उपनिर्वाचनको तयारी थालेको छ ।

“स्थानीय तहका संयन्त्रलाई नै जिम्मेवार बनाएर काम गर्दै छौँ । आज जुम बैठक राखिएको छ, भोलि पनि बैठक बस्छौँ । उमेदवारी आह्वान कसरी गर्ने भन्ने तय हुन्छ,” पराजुलीले भने । 

उनका अनुसार, उमेदवार सिफारिस गर्ने भन्दा पनि एक भन्दा बढी उमेदवार भएमा आन्तरिक निर्वाचन गरेर उमेदवार छान्नेसम्मको तयारी भएको छ । कात्तिक २९ गतेसम्म उमेदवार तय गर्ने गरी काम गरिरहेको उनले बताए ।

कार्यवाहक प्रवक्ता मनिष झाले कीर्तिपुरको उपनिर्वाचनलाई प्राथमिकतामा राखिएको बताए । “संघीय निर्वाचनमा रास्वपाले राम्रो मत पाएको पालिकाको उपनिर्वाचनलाई प्राथमिकतामा राख्छौँ । योग्य, प्रतिष्ठित व्यक्तिलाई उमेदवार बनाउँछौँ,” उनले बाह्रखरीसँग भने ।

प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–१० बाट रास्वपाले काठमाडौं जिल्ला सभापति प्रदीप विष्टलाई उमेदवार बनाएको थियो । उनी आठ हजार ७४३ मत ल्याएर पराजित भएका थिए ।

रास्वपा स्रोतका अनुसार, विष्टलाई नै मेयरको उमेदवार बनाउने तयारी भएको छ । “उहाँले प्रतिनिधिसभाको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा कांग्रेसको भन्दा ११ सय बढी मत ल्याउनुभएको थियो । उहाँलाई नै उमेदवार बनाउने सम्भावना छ,” रास्वपा स्रोतले भन्यो । 

स्थानीय चुनावमा कसले कति मत पाएका थिए ?

०७९ को स्थानीय तहको निर्वाचनमा मेयरमा निर्वाचित नकर्मीले नौ हजार ४३ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिष्पर्धी एमालेका केशवरत्न बज्राचार्यले पाँच हजार ५०७ मत ल्याएका थिए । 

माओवादीका शिवशरण महर्जनले चारहजार ९०, एकीकृत समाजवादीका बटुकृष्ण थापाले एकहजार १५३ मत ल्याएका थिए ।

राप्रपाका जितबहादुर विष्टले ५७२, नेमकिपाका श्रीकृष्ण महर्जनले ५३२, स्वतन्त्र उमेदवार मनोज बुढाथोकीले ३६५, नेपाली कांग्रेस (बीपी)का प्रविद् खनालले ८१ मत प्राप्त गरेका थिए ।

त्यस्तै, आमूल परिवर्तन मसिहा पार्टीका उमेदवार श्यामकाजी महर्जनले २१, स्वतन्त्र भीमकुमार महर्जनले १३ मत ल्याएका थिए ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २०, २०८१  १७:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro