१. चाडबाडको याम सकिएर अब हामी सुख्खा र फुस्रो समयतिर छिर्दैछौँ । सानामा गाउँतिर माघे संक्रान्तिले चाडबाड बिदा गर्ने र साउने संक्रान्तिले चाडबाड बोलाउने भन्नुहुन्थ्यो हजुरआमा, आमाहरू । साउने सक्रान्तिले बोलाएका चाडबाड क्रमशः सकिदैँ छन् । मंसिर, पुष, माघको चिसो र फागुन, चैतको सुख्खा अबका हाम्रा दैनिकी हुन्छन् । चाडबाडले रमाइलो, प्रेम, सद्भाव, उमङ्ग त दिन्छन् नै साथसाथै सामाजिकरूपमा हामीलाई बलियोसँग जोडछन् पनि । काठमाडौं उपत्यकाबाट अनुमानित आठ लाख मानिस दसैं अगाडि बाहिरिएको खबरले आफ्ना प्रियजन तथा थातथलो मानिसका लागि कति आत्मीय हुन्छन् भन्ने दर्शाउँछ । त्यसमा पनि यसपटकको वर्षातले बाटोघाटो तहसनहस पार्दा पनि मानिसहरू रोकिएनन् । यी चाडबाड प्रकृतिसँग सामिप्य राख्दै हाम्रा पूर्वजले बसाएको थिति र चलनको निरन्तरताका द्योतक नहुँदा हुन् त मानिसहरू यति दुःख बेसाउँदै, ज्यानकै बाजी लगाएर किन हिँड्दाहुन् ?
चाडबाडको सुगन्घमा वर्ष दिनभरिको कामको चटारोबाट बाहिर निस्केर यही मौका समयमा घुम्ने, मनोरञ्जन गरी तन, मन र मस्तिष्कलाई पुनर्ताजगी गर्ने चलन पनि थपिँदो छ । चाडबाड मनाउने कुरा गर्दा यसको प्रयोजन, समय, सन्दर्भ, सामर्थ्य र आवश्यक समाग्रीको महत्त्व हुने नै भयो । यी सबै कुरा प्रकृति झैँ नै गतिशील हुने रहेछन् । मानिस हामी त दृश्य अदृश्य रूपमा यस ग्रहमा हुने सबै गतिविधि (यस ग्रहबाहिर पनि पर्ला कि ?) प्रभावित चै गर्ने र त्यसको सञ्चालक र नियन्त्रक चाँहि नहुने न रहेछौँ ।
२. प्रकृतिको अशेष आशीर्वाद पाएको यस भूगोलले आतिथ्यमा पनि विशिष्टता हासिल गरेको छ । पाहुना भगवान हुन् भन्ने गहिरो विश्वास बोकेका यहाँका मानिसङ आफूलाई जतिसुकै दुख भए पनि पाहुनाको स्वागतमा कन्जुसी गर्दैनन् । चाडबाडकै उमङ्गमा पाहुनाको स्वागत गर्ने मौका पनि हामीले पाउछौँ । पर्यटन हाम्रो मुलुकको मुख्य आधार बन्न सक्ने प्रशस्त सम्भावना त देखिएकै छन् । यसलाई कसरी प्रभावकारी र बलियो बनाउने भन्ने चुनौती छ हामीलाई । यसैमध्येको एउटा मूल चुनौती हाम्रो हवाई सञ्जाल कसरी फराकिलो बनाउने भन्ने हो । ठूला हवाईजहाज आउन नसक्ने बित्तिकै हवाई भाडा महँगो हुने भयो । त्यसमा पनि पर्यटक आउने मुख्य बेलामा एयरपोर्ट बिस्तार र मर्मतको कारण उडान समय नियन्त्रित गर्दा कम जहाज आउने भए । यसो हुँदा जहाज भाडामा प्रतिस्पर्घा हुन नपाई झन् महँगिने भयो । आम्दानी र सम्पर्कको अवसर नखुम्च्याईकन विकल्प खोज्ने र कसरी दुष्प्रभाव कम गर्ने भन्नेतिर लाग्नु श्रेयश्कर होला ।
३. दीर्घकालीन सोच, दूरदृष्टि, पारदर्शिता, सामूहिक स्वार्थ र आफ्ना मान्छेमा विश्वास भएमात्र विकास र उन्नति हुन्छ । अवसरै अवसरले भरिपूर्ण यस भूखण्डमा केही गरेर अघि बढ्ने कि अन्त्यहीन नालायकीका कारण दुर्गती निम्त्याउने हो हाम्रै हातमा छ । देश बने हामी सबै बन्छौँ । ममात्र बने न देश बन्छ न त मेरो बनाइ टिकाउ हुन्छ । स्वजन सबै कमजोर हुँदा मेरो बलको कुनै औचित्य रहँदैन । त्यसैले हामी सबै बन्ने कि म मात्र बन्ने आआफ्ना ठाउँबाट सोचौँ र निर्णय गरौँ ।
समयले पर्खिने त कुरै भएन ।