बुवाको तालिकाबद्घ फुर्तिलो जीवन शैली थियो । उमेर २०७७ भदौमा ६९ पूरा भएको थियो । कुनै दीर्घ रोग थिएन । यस्तैमा बुवालगायत सबैको दैनिकी एकाएक फेरियो ।
१५ आश्विन २०७७
मेरो १४ वर्षको छोरालाई टन्सिल बढेर हनहनी ज्वरो आएको छ । बुवा सुतिरहेको नाति नजिक बारम्बार पुगिरहनु भएको छ । प्यारो नातिलाई सुम्सुम्याई रहनुहुन्छ । ज्वरो नापेर आवश्यकताअनुसार सिटामोल खुवाउनु हुन्छ ।
१७, आश्विन
दुई दिन निस्लोट सुतेको छोरोको ज्वरो आजबाट कम भयो । तैपनि लत्रिरहेको छ । शारीरिक कमजोरी भने स्पष्ट देखिएको छ । बेलुकापख छोरीलाई पनि ज्वरो आयो ।
१८, आश्विन
बेलुका चार बजेतिर म कार्यालयमै थिएँ । शरीर एक्कासि गलेर आयो । टाउको दुख्यो । एकै छिनमा ज्वरो बढ्यो । घर हिडेँ । अनिता जागिरमा पुग्नेबित्तिकै ज्वरो आएकाले तुरुन्तै फर्किएकी रहिछ । घर पुग्दा सुतिरहेकी थिई । बेलुका मेरो तालुक कार्यालयबाट तुरुन्त कोभिड जाँच गरेर रिपोर्ट पेस गर्नु भन्ने आदेश आयो । सात दिनका लागि म कार्यरत शाखा बन्द गरिएको जानकारी पनि साथै थियो । बल्ल पो हामी झस्कियौँ - “कतै कोभिड नै त होइन ?”
देशका मुख्य मुख्य सहरमा कोभिडको प्रथम लहरले उर्लँदै थियो । कोभिड जाँच गराउने प्रक्रिया बुझियो । तर, भिडमा लाइन बसेर जाँच गराउने हिम्मत भएन ।
हामी दुवै ओछ्यान पर्यौँ । भान्साको जीम्मेवारी आमाको थाप्लोमा आयो ।
२१, आश्विन
दुईदिने ज्वरोले छोडे पनि शरीर थिलथिलो भएर दुखेकै छ । म पुरुष भएकै नाताले अझै ओछ्यानमा सुतेरै मोबाइलमै घोप्टी रहने सुविधा छ । तर अनिता जबरजस्ती घरधन्दा सम्हाल्न लागिसकेकी छ । अनिताले म नजिक आएर भनी - “बुवालाई पनि ज्वरो पो आयो । १०३ डिग्री” अब घरमा कोही अछुतो नरहने भयो । अनि कोभिड जाँच गराउन निस्किएँ । बेलुका आमालाई पनि ज्वरो आयो ।
२२, आश्विन
बिहान उठ्नासाथै आमाले भन्नु भयो - “राति बुवालाई गाह्रो भयो । राम्रो डाक्टर खोजेर जचाउन पाए हुन्थ्यो ?” लामो समयको बन्दाबन्दीपछि भनेका बेला भनेको डाक्टर जचाँउने सुविधा अझै छैन । मामाले एकजना चिनजानका डाक्टरको नम्बर दिनुभयो । पाटन अस्पतालमा कोभिडका बिरामी नै हेरिरहेका डाक्टर रहेछन् । लक्षण सुनेपछि उनले कोभिडकै शंका गरे । “ख्याल गर्नु सास फेर्न गाह्रो भयो भने अक्सिजन लगाउनुपर्छ ।”
२३, आश्विन
दिउसो म ओच्छ्यानमै थिएँ । अनिता आएर भनी - “बुवा त अजीब कुरा गर्न थालिस्यो ।”
“..... ?? ”
“.....अब म बाँच्दिन पो भनिसिन्छ ।”
“ह्या । बुवा पनि ! त्यसै आत्तिनुहुन्छ ।”
बुवाको कुरा मलाई साह्रै हल्का लाग्दैछ । ससानो कुरामा आत्तिने स्वभाव छ बुवाको । आजमात्र होइन भारतमा कोभिड देखिएपछि नै बुवा आत्तिन थाल्नुभएको हो । भन्नुहुन्थ्यो- “यसैले सिध्याउने भयो ।”
तैपनि अनिताले बुवाको अवस्था बारे सरिता (दिदी) लाई खबर गरी । सरिता हुरहुराउँदै आई पुगी र भनी - “ पीसीआर जाँच गराउनुपर्छ । अस्पताल जान परे काम लाग्छ ।” बुवाआमाको नमुना नेपाल मेडिकल कलेजमा छोडियो । भिटामिन सीलगायत केही औषधि र अक्सिमिटर सरिताले ल्याई । सबैको औला च्यापेर जाँच गरियो । बुवासमेत हामी सबैको अक्सिजन स्तर ६०/६५ देखायो । हामी कसैलाई सास फेर्न असजिलो भएको थिएन । बुवासमेत ज्वरोबाहेक अरु समस्या छैन भनिरहनु भएको थियो । मेसिन नै गलत भएको वा हामीले जाँचेको तरिका नमिलेको निष्कर्ष निकाल्यौँ ।
आजै स्वास्थ्य मन्त्रालयको वक्तव्य आएको छ - “ कोभिडका बिरामी बेहोस भएमा वा हुन लागेमा मात्र अस्पताल जानु ।” । कोभिडका बिरामीले सामान्य बेड पाउन पनि ठूलै संघर्ष गर्नुपरेको समाचारहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् ।
बुवाको ज्वरो टसको मस भएको छैन । दुई घन्टामा नै सिटामोलको प्रभाव सकिन्छ र भन्नुहुन्छ- “काम ज्वरो आउला जस्तो भयो ।” मेरो पीसीआर रिपोर्ट पोजेटिभ आयो ।
सुत्ने तरखर गर्दै गर्दा बुवा गाह्रो भयो भन्दै बरन्डामा गएर पल्टनुभयो । “सास फेर्न गाह्रो भएको त छैन नि ?” मैले सोधेँ ।
“छैन” भन्नुभयो । बुवा बाहिर सुत्नु भएकोले म भित्रपट्टि सोफामा सुतेँ । राति कतिखेर हो बुवा उठेर भित्र आउनु भएछ ।
“ल ! यो त यहाँ पो सुतेछ,” भन्दै बुवा आफ्नो कोठाभित्र पस्नु भयो ।
२४, आश्विन
बिहान म उठ्दा बुवा घरभित्रैको शौचालय गएर फर्कदै हुनुहुँदो रहेछ । लठ्ठीको सहारा लिनुभएछ । अचम्म लाग्यो ।
शरीर लर्बराएको थियो । अनुहार गलेको देखिन्थ्यो । असन्तुलित पाराले टेकिएको लठ्ठी भुइँको पार्केटमा ठोकिँदा टक्रक टक्रक’ आवाज आइरहेको थियो । मलाई देखेपछि भन्नुभयो, “दम आउलाजस्तो भयो । ”
अनि बरन्डामा गएर सुत्नुभयो । तुरुन्तै अक्सिजन लगाइयो । त्यसपछि अराम महसुस गर्नुभयो । अक्सिमिटरले देखाएको स्याचुरेसनप्रति विश्वास नलागे पनि बेलाबेलामा जाँचिरहेका थिथौँ । अक्सिजन लगाउँदा ७०/७५ र नलगाउँदा ६०/६५ देखाउँथ्यो । अक्सिजन लगाउँदा बढ्ने भएकोले मेसिनले काम गरेकै छैन भन्न सकिएन । मैले उनै पाटन अस्पतालका डाक्टर केशव सिग्देललाई फोन लगाएँ । सबै कुरा बुझेपछि उनले भने - “...ओहो ! तुरुन्तै भर्ना गर्नुपर्छ । आज फेरि अति धेरै बिरामी आएका छन् । के गर्ने होला ? ... सशस्त्रको अस्पतालतिर कोहीसँग चिनजान छ ?”
मैले भनेँ - “छैन ।”
“ल ठिकै छ । यहीँ ल्याउनु । कुनै डिस्चार्ज हुने बिरामीको बेड म रोकिराख्छु । जति सक्दो छिटो फिवर क्लिनिकमा आउनु ।”
अब हामी आत्तियौँ र हतारियौँ पनि ।
म आफैँ पनि संक्रमित भएको कारणले एम्बुलेन्समा मिसिइन । छुट्टै मोटर साइकलमा चढेर गएँ । दाइ र सरिता बुवासँगै गए । सरकारले जारी गरेको सूचना मनमा खेल्दै थियो, “संक्रमितहरू जथाभावी घरबाहिर निस्किए पक्राउ गरिनेछ ।”
मभन्दा अघि एम्बुलेन्स अस्पताल पुगेछ । म पुग्दा बुवाको दाहिने हातको मुठ्ठीमाथि क्यानोला भर्खर लगाइएको रहेछ ।
सुई घोपिएको ठाँउबाट थोरै रगत बगेको थियो । दाइ र सरिता सँघै उभिएका थिए । बुवा सामान्य कोभिड वार्डमा भर्ना हुनुभयो । ह्विल चेयरमा राखेर भित्र लगियो । । कुरुवा जान पाउने व्यवस्था थिएन । निरीह हामी उभिएर हेरिरह्यौँ ।
अस्पतालको बाहिर बस्नुको औचित्य थिएन । परे आधा घन्टामा पुगिन्थ्यो । हामी घर फर्कने भयौँ । दाइ र दिदी ट्यासीमा फर्किए । म बाइकबाट फर्कँदै थिएँ । बानेश्वर आइपुग्दा बुवाले फोन गर्नु भयो - “बाबु ! लठ्ठी र चस्मा पठाई दे न ।” मैले हस् त भनेँ तर मसँग ती सामान थिएनन् । दाइलाई फोन गरेर बाटैमा रोकिन भनेँ र ती समान लिएर अस्पतालै फर्किएँ ।
एकपटक कोभिड वार्डमा छिरेको मान्छे छुट्टी भएपछि मात्र निस्कने रहेछ । डिउटी सुरु गर्न जाने कर्मचारीले बोकेर गएमात्र बिरामीका सामान भित्र जाने रहेछ । बाहिर सामानहरू खात लागेका थिए । छेवैमा बिरामीको नाम लेखेर टाँस्न पट्टि राखिएको थियो । मैले बुवाको चस्मालाई लट्ठीमा टेपले बेरिदिएँ र ठेगाना लेखेर त्यहीँ छोडिदिएँ ।
शिवप्रसाद प्याकुरेल ।
कोभिड वार्ड, पहिलो तल्ला ।
२५, आश्विन राति अबेरसम्म निन्द्रा लागेन । बिहान पख मस्त निन्द्रामा थिएँ । चार बजे बुवाले फोन गर्नुभयो । फोन उठाएँ । “....बाबु काँ छौ ?”
“हामी त घर पो फर्कियौँ बुवा !,” मैले ढाँट्न सकिन ।
“ए ! ल ठीक गरेछौ ।” - बुवाले हाम्रो गल्ती देखाउन चाहनु भएन ।
“हिजो बेलुका बेडमा ल्याएर छोडेपछि सिटामोल खान दिए । त्यसपछि कोही पनि आएका छैनन् । अक्सिजन लगाइदिएका छन् । सबै ऐया ! ऐया ! र मरेँ ! मरेँ ! भनेको मात्र सुनिन्छ । डाक्टर नर्स कोही पनि छैनन् । के गर्ने हो विचार गर है ।” - बुवाले आफ्नो समस्या सुनाउनुभयो । मसँग बुवालाई दिने जवाफ थिएन । अवाक् भएँ, बोल्नै सकिँन । सुनिमात्र रहेँ । बुवाले नै फेरि भन्नुभयो -
“अहिले चचाहिँ तातो पानी खान पाए हुन्थ्यो । छ न त हिजो खाना दिँदा दिएको एक बोतल पानी छ तर त्यसै खाने आँट आएन । के गर्ने होला ?”
बैशाख जेठमा पनि बुवा सधैँ मनतातो पानी खानुहुन्थ्यो । एकाबिहानै ज्वरोको बिरामी बुवालाई चिसै पानी खानु भन्न पनि सकिन ।
“थर्मसमा पानी पठाउन सकिन्छ कि म प्रयास गर्छु नि ।” बुवालाई आश्वासन दिन खोजेँ ।
“खोई ! हिजोको लठ्ठी र चस्मा त राति बाह्रबजेभन्दा पछि आयो ।” - बुवाले पत्याउनु भएन ।
दुईवटा समस्या देखियो । एक तत्काल बुवासम्म एक गिलाँस मनतातो पानी कसरी लैजाने ? अर्को बुवाले उपचार नै नपाउने अवस्था आयो के गर्ने होला ? पानी तताएर थर्मस भरियो । सँगै थोरै खाना पनि बनाएर हटकेसमा हालियो । बिहान छ बजे पानी र खाना भाञ्जाले अस्पताल लगेर नामलेखेर छडिदिए ।
अस्पतालमा एकमात्र सम्पर्क सूत्र थिए उनै डाक्टर केशव सिग्देल । तर, महामारीका बेला ड्युटीमा खटिएका डाक्टरलाई पटकपटक फोन गर्नु उचित थिएन । तैपनि लाज पचाउनुपर्ने अवस्था थियो । उनले भने - “तपाईँहरूलाई थाहै छ यसको औषधि छैन । त्यही अक्सिजन दिने हो । फिवर क्लिनिकमै रेम्डिसिभिर पनि चलाई सकियो । तर त्यो एन्टिभाइरलमात्र हो । कोरोनाको अचुक औषधि होइन । कसैकसैलाई काम पनि गर्छ । उपचार नभएको होइन, भएको छ । त्यहाँ वार्डमा डिउटी भने एकजनाको मात्रै छ । म्यान पावर नै छैन के गर्ने । तै पनि आवश्यक नै भयो भने उहाँलाई आईसीयुमा सार्छौँ ।”
अलिदिन अगाडि दिल्लीबाट हेलिकप्टरमा रेम्डिसिभिर ल्याएर बिरमीलाई लगाइएको र बिरामी ठीक भएको समाचार आएको थियो । बुवा हरेक कुराको खबर राख्ने मान्छे । रेम्डिसिभिर लगाएको कुराले बुवामा सकारात्मक उऊर्जा सञ्चार हुने कुरा पक्का थियो । मैले बुवालाई फोन गरेँ ।
“.....तातो पानी आईसीयु जानेतिर ढोकैमा छ रे बुवा । कसैलाई भनेर ल्याउन सकिन्छ त ?”
“याँ सबै बिरामीमात्रै छन् । म त्यहाँसम्म जान सक्दिन । हुन्दे ! चिसै खाइसकेँ । पानी नि नखाई सकिएन ।” सामान्य अवस्थामा त चिसो पानी खान नसक्ने मान्छे ज्वरो आएको अवस्थामा कसरी खानु भयोहोला एकाबिहानै खाली पेटमा चिसो पानी ? मेरो मन चिसो पानीका कुराले निथ्रुक्क भयो । केही बोल्न सकिँन । थप कुरा केही भएन । साँढेसात बजे बुवा आफैँले फोन गर्नुभयो र खुसी हुँदै भन्नु भन्नुभयो - “तैँले पठाएको सामान आइपुग्यो बाबु । पानी पनि खाएँ ।”
बुवाको त्यसै खुसीलाई मैले थप बढाउन चाहेँ - “हिजो तल फिवर क्लिनिकमा रेम्डिसिभिर पनि त दिइसकेछन् नि त बुवा । त्यै औषधि क्या ! अस्तिनै हेलिकप्टर चार्टर गरेर ल्याएर लगाए भनेर समाचारमा आएको थियो नि ?”
सायद बुवाले पत्याउनु भएन । भन्नुभयो - “खै ! के गरे !”
दिउसोँ अनिताले जुक्ती निकाली- “एउटा इलेक्ट्रिक जग बुवासम्म पुर्या उन पर्यो । बेड छेउ जोड्ने ठाऊँ त पक्कै होला ।”
त्यसमा मैले पनि थपेँ - “उसोभए एउटा मल्टिप्लग पनि पठाइदिऊँ । स्विच यताउता रहेछ भने पनि काम आउँछ ।”
“उसो भए बुवालाई सोधौँ एकपटक ।” तुरुन्तै अनिताले फोन लगाई ।
“.....त्यती भए त काइदा हुन्थ्यो । ” बुवाले भन्नुभयो । किनिएका नयाँ सामानमा नाम टाँसेर अस्पताल बाहिर छोडियो ।
२६, आश्विन
हिजो बिहान मलाई जसरी नै उही समयमा सरितालाई फोन गर्नु भएछ तर समस्या अर्कै । बिहानको खाना हिजो दिउँसो एक बजेतिर मात्र आयो । बेलुका आउँदै आएन । घरबाट पठाएको बिस्कुट खाएर सुतेँ । पानी त अब चिसै खानु पर्ला ... हिजो दिउँसो छातीको एक्स रे चाँही गरे । के गर्ने हो विचार गर है ।”
रेम्डिसिभिर अभाव भएको र खोज्न मानिसहरू वीरगञ्जसम्म पुगेका समाचारहरू अनलाइन र छापामा आएका छन् । आज भने बिहानको खाना बुवाले समयमै पाउनुभयो । तर हामीले हिजो दिउँसो बुवालाई पठाएका सामानको अत्तोपत्तो भएन । हरायो !
२९, आश्विन
बिहानै डाक्डर केशव सिग्देलले मामालाई मेसेज पठाएछन् । त्यही मेसेज मामाले मतिर पठाउनुभयो । जुन यस प्रकार थियो -
भरत सर, हिजो बेलुका उहाँलाई आईसीयुमा सारिएको छ । अक्सिजन स्याचुरेसन मिलाउनको लागि हुड सी प्याप (hood C-pap) मा राखिएको छ । त्यसपछि उहाँको स्वास्थ्य स्थिर छ । उहाँको स्वास्थलाभको कामना गरौँ ।
हामीले के रहेछ हुड सी प्याप भनेर सोधखोज गर्दा थाहा भयो टाउको पूरैलाई अक्सिजनको थैलोभित्र बन्द गरेर राख्ने प्रविधि रहेछ ।
आईसियुमा सरेर हुड सी प्याप लगाएपछि भने बुवाले अलि आराम महसुस गर्नु भएजस्तो बुझिन्छ । समय समयको सन्तुलित खाना, पर्याप्त हेरविचार पाउनुभएको महसुस हुँदैछ । हामीले अन्दाज लगायौँ, जति पाउनु दुःख वार्डमा पाउनुभयो । अब उठ्नुहुन्छ बुवा ।
३०, आश्विन
आइसियुमा फोन गरेर सिधै डिउटीका डाक्टरसँग कुरा गर्न पाईने सुविधा छ । एका बिहानै कुरा भयो । तर सकारात्मक कुरा गरेनन् । भने, “...बाहिरबाट हेर्दा त राम्रै देखिन्छ । उहाँले पनि अलि सजिलो महसुस गर्नुभएको छ । अक्सिजन १५ लिटर चलाएका छौँ । तै पनि स्याचुरेसन ८० मात्र छ । खाना खुवाउन अक्सिजन निकालेलेको बेला अक्सिजन स्वाट्टै घट्छ । कतिखेर खाना सक्काउनु होला र फेरि लगाउनुजस्तो हुन्छ । कुनै पनि बेला भेन्टिलेटरमा राख्नुपर्ने हुनसक्छ ।”
१, कार्तिक
सायद खाना खान अक्सिजन निकालेको बेला हुनुपर्छ बुवाले दिनको एकपटक बिहान वा बेलुका फोन गर्नुहुन्थ्यो ।
मधुरो आवाजमा बोल्नुहुन्थ्यो । त्यो पनि पूरै बुझिन्नथ्यो । बुवाको फोन आउँदा मेरो मन डराउन थालेको थियो । बुवालाई के जवाफ दिने भन्ने चिन्ता रहिरहन्थ्यो ।
हिजो बेलुका भने बुवाको फोन आएन । बिहान सात बजे अस्पतालमा फोन गरेर जानकारी लिएँ । भने - “ हिजो बेलुकाबाट भेनन्टिलेटर राखिएको छ । तर पाइप छिराउने खालको होइन । दिउँसो अक्सिजन घटाएर हेर्छौँ । हेरौँ कत्तिको लिन सक्नुहुन्छ ? ” महिला डाक्टरले जानकारी गराइन् । थाहा भयो भेन्टिलेटर धेरै प्रकारको हुँदो रहेछ ।
बिहान करिब एघार बजे अस्पतालबाट फोन आयो - “प्लाज्मा थेरापी गर्नुपर्छ । अस्पतालबाट चिठी लिएर जानु !”
ब्लड बैंक सोल्टीमोडमा प्लाज्मा दिने मान्छेलाई कुरेर बसेको थिएँ । ३ :०३ मा बुवाले फोन गर्नुभयो । बुवाको फोन आएपछि मन अत्तालियो । हात खुट्टा लगलगाए । बल्लतल्ल उठाएँ । “ ..बाबु ... म अब कति दिन बस्नपर्छ ? ”
बुवाको आवाज दबेको तर बुझिने थियो ।
"अब प्लाज्मा थेरापी गर्ने बुवा । डोनर पाइसकियो । गरेपछि दुई चार दिन बस्नपर्छ ।"
"ए ! ल" भनेर फोन काट्नु भयो । धेरै बेल्ने अनुमति र शक्ति दुवै रहेनछ । प्लाज्मा डोनरको कागज पत्र नमिलेकाले त्यस दिन काम भएन ।
२, कार्तिक
बिहानै फेसबुकमा समवेदना देखेँ । मेरो मुखबाट एक्कासि निस्कियो -
“लौ ! रामचन्द्र दाइ त मरेछन् ।”
भान्सामा काम गरिरहेकी अनिताले ढोकैमा आएर सोधी - “को रामचन्द्र भन्या ?”
“यहीँ गाउले दाइ हुन् ।”
रामचन्द्र भन्ने हाम्रै गाँउको मान्छे, बुवाभन्दा करिब पन्ध्र वर्ष कान्छो । कोभिडले पाटन अस्पतालमा भर्ना भएका रहेछन् । उही आईसीयुमा बुवासँगै । बुवा ससानो कुरामा पनि आत्तिने मान्छे । आँखै अगाडि आफैँलाई लागेको रोगले आफ्नै गाउँ ठाउँको भाइ मरेको देख्दा बुवाको मनोदशा कस्तो भयो होला ? बुवाको अवस्था आफ्नो शय्या छोडेर दायाँबायँ गर्नसक्ने खालको नभएकोले रामचन्द्र दाइ त्यही वार्डमा भर्ना भएको बुवालाई पत्तै नहुन पनि सक्छ । तैपनि दिनहुँ कुनै न कुनै मृत्युको साक्षी बुवाले बस्नुपरेको अनुमान लगाउन गाह्रो थिएन ।
हल्ला सुनियो - “रामचन्द्र दाइ त तगडै थिए रे ! सबैलाई फोन गरेर बस्थे रे । दुई दिनअघिसम्म फोनमा अब दुईचार दिनमा डिस्चार्ज हुन्छु होला भन्दै थिए रे !” तर बुवा त साह्रै गल्नुभएको छ । अक्सिजन फुकालेर कुरा गर्दा एक मिनेट पनि कुरा गर्न नपाउँदै सास सकिन्छ ।
०००
नौ बजेतिर घरको लाइनमा फोन बज्यो । आमाले उठाउनु भयो । बुवाले गर्नुभएको रहेछ । अप्रत्यक्ष बुवाले आमासँग बिदा माग्नुभएछ । भन्नुभएछ -
“म फर्केर आउँला नआउँला । तैँले घर परिवारको विचार गर्नु । मेरो दराजमा बाहिरै पैसा छन् । आपतका बेला परचक्रीको हात पर्ला । सुरक्षित गरेर राख् ।”
आमाले रुँदै बुवाका दराजका पैसा सम्हाल्नु भयो । खाना खाएर फेरी ब्लड बैँकतिर गएँ । डोनरको रगत निकालियो ।
रगतबाट प्लाज्मा छुट्याउन समय लाग्ने रहेछ । बेलुका लिन जाने गरी फर्किएँ । रगतबाट प्लाज्मा छुट्याएर अस्पताल पुर्याउन समय लाग्ने देखियो । बेलुका आठ बजे बुवालाई मेसेज लेखेँ, “बुवा नआत्तिनु है । प्लाज्मा छुट्याउन समय लागेको मात्र हो । आउँछ ।” राति नौ बजेतिर म र भान्जा गएर अस्पतालमा प्लाज्मा छोडिदियौँ ।
३, कार्तिक
बिहान आठ बजे मोबाइलमा बुवाको फोन आयो । प्लाज्मा दिएकी दिएनन् थाहा थिएन । बुवालाई के भन्ने होला ? मुटु थिचेर फोन उठाएँ ।
“बुवा ?”
“बावु ! राति प्लाज्मा दिए । अब म कहिले घर आउन पाउँछु ?” बुवाको आशावादी स्वर सुनियो । तर, बुवा घर फर्कन प्लाज्मा थेरापीले चमत्कार गर्नुपर्छ । जुन सम्भावना अत्यन्त कम छ ।
“प्लाज्मा थप्नु पर्ने पनि हुनसक्छ । त्यसपछि दुई तिनदिन बस्नुपर्ने हुनसक्छ” - कुरा बनाएँ ।
“ए ! ल ।”- लामो कुरा भएन । बेलुका छ बजेतिर अस्पतालबाट फोन आयो । “फुल भेन्टिलेटरमा नराखे उपाय छैन । के गर्ने भन्नुस् ? तुरुन्तै नराखे बचाउन सकिन्न ।”
मर्नु भन्दा बहुलाउनु निको । हामीले अनुमति दियौँ ।
फुल भेन्टिलेटरमा राखेपछि अब बुवाको फोन आउनेवाला थिएन । मैले के भनेर बुवालाई सान्त्वना दिऐँ भनेर सोच्नुपर्ने अवस्थाको अन्त्य भयो । मैले मुक्ति पाएँ ।
४, कार्तिक
भेन्टिलेटरको कुरा आमालाई थाहा थिएन । बिहानै चार बजे आमाले भन्नुभयो - “अब बुवालाई त्यहाँ राखेर हुँदैन । हिँड् ! निकालेर पशुपति लैजाऊँ । अन्तिम अवस्थामा दसदानमात्रै भए पनि पाउनुहुन्छ । दाजुलाई पनि भन् ।” म अवाक भएँ । आमा आफ्नो कोठाभित्र पस्नुभयो । मैले मोबाइलबाट दाइलाई खबर गरेँ । बाहिर निस्किँदा आमा हातमा ब्याग बेकेर बरण्डामा उभिनुभएको रहेछ । मेरो अगाडि बुवाको बास्तविक अवस्था आमालाई जानकारी गराउनेभन्दा अर्को विकल्प थिएन, गराएँ । भने - “ बुवा भेन्टिलेटरमा हुनुहुन्छ । निकाल्नासाथै रहनुहुन्न । पशुपति पुर्याउनै भ्याउँदैनौ । बरु घरैमा दशदान गरौँ ।”
बुवाको नामबाट दशदान, वैतरणीलगायत शास्त्रले बताएअनुसारका अन्तिम अवस्थामा गरिने सबै दानहरू गरियो ।
५, कार्तिक
कोरोनाले आफ्नो रौद्र रूप देखाउँदै मेरो घरको मूल खाँबो भाँचिदियो । बिहान नौ बजे अस्पतालबाट मोबाइलमा शोक सन्देश आयो । कोरोना कल्पको एक अध्याय सक्काएर मेरो परिवारको प्रेत कल्पमा प्रवेश गर्यो । डायरी लेखन रोकियो । सायद, अब मेरो घरभित्र कोरोनाको उपद्रो सकियो होला । यसबारे लेख्ने कुरा पनि बाँकी छैन । मेरो कोरोना डायरी सकिएको अनुमान गरेँ ।
१३, कार्तिक
बिहान सवाआठ बजे कोरोनाको जोडदार पराकम्प पटटट सुरु भयो । एकाएक तीखा शब्द बाँणहरू बर्सिए - “मर्नु भएको होइन । मारेका हुन् ।”
धिक्कार छ मलाई जसले पितृहत्याको दोष सहनु पर्यो । सम्झने प्रयास गर्दैछु, बुवालाई बचाउने मेरो प्रयासमा के कस्ता कमजोरी भए ? सायद, मैले कुनै प्रयास नै पो गरिन कि ? बरु मैले उल्टै बुवालाई मृत्युको मुखमा धकेल्ने षड्यन्त्र त गरिन ? आज चेतना शून्य छु । केही सम्झन सकिरहेको छैन । आजमात्र थाहा पाएँ कोभिड -१९ले मेरो जीवनमा कालो छ्यापेको रहेछ । यस प्रश्नले मलाई चितासम्मै लखेटिरहनेछ - “के म आफ्नै बाउको हत्यारा हुँ त ?”