प्रेमप्रसाद आचार्यले आत्मदाह गर्नुअघि लेखेको नोट पढेपछि यस देशमा आफैँ केही गरेर स्वरोजगार हुन तथा रोजगारीसमेत सिर्जना गर्न खोज्नेले कस्ता कस्ता बाधा अप्ठेरा भोग्नु पर्दोरहेछ भनेर सबै नेपालीले बुझे होलान् ।
राज्यस्तरबाट गरिनुपर्ने प्रोत्साहनमा समेत विभेद हुँदा, आफूले उत्पादन गरी बेचेको सामग्रीको बजारे सुनिश्चित नहुँदा, विक्री भएर पनि त्यसको मूल्य समयमै र सजिलै नपाउँदा तथा साना उद्यमीहरुलाई हौसला दिन नसक्दा आएका अनेकौं समस्या उनले उजागर गरेका छन् ।
देशमा केही गरेर उदाहरण दिन खोज्दाखोज्दै नभएपछि केही समय विदेशिएको जुन व्यथा प्रेमप्रसादले लेखेका छन् त्यो आज लगभग ५० लाख नेपालीको कथा हो ।
नेपालमा जन्मिएकाले नेपाली भूमिमै सम्भावना खोज्नु स्वाभाविकै हो तर त्यो अवसर नेपालमा सबैका लागि होइन ३० प्रतिशत नेपालीका लागि पनि छैन ।
हामी अहिले श्रम भिसामा आएका देशमा पर्यटन भिसामा आउन सक्ने अवस्था कहिले होला ? विदेशमा नेपालीले कस्तो कस्तो काम गर्न बाध्य छन् र कसरी जीवन यापन गरिरहेका छन् ? के नेपाल सरकार यस विषयमा जानकार छ ? कैयौं नेपाली विदेश आउनुअघि नै मेनपावर कम्पनीका ठगहरुबाट सताइन्छन् । विदेशमा पनि उनीहरुको उस्तै पीडा छ ।
केहीबाहेक अधिकांशले सामान्य मजदुरस्तरको काममा आफूलाई जोत्नुपर्छ । जापान, कोरीया, मलेसिया, दुवई, कतार, साउदीलगायतका कैयौं देशमा रहेका नेपालीले भोगेका पिडाका खबरहरु दिनहुँजसो आइरहन्छन् ।
कहिले मेसिनमा टाउको च्यापिएर मर्यो, कहिले सुतेकै सुत्यै भयो, कहिले मेसिनले हात खायो भनेको सुनिन्छ । कतिपय नेपाली चेलीका पनि त्यस्तै त्यस्तै दर्दनाक कथा छन् । कसले सुन्छ यी आवाजलाई ? जिम्मा कस्ले लिन्छ यी सबै वाध्यताको, अवस्थाको ? कसको कारण आज नेपालीहरुले विदेशमा यस्ता सास्ती भोग्न परिरहेको छ ?
प्रेमप्रसाद आचार्यले संसद् भवन अगाडि मूल सडकमै आफ्नो शरीरलाई जलाई राज्यभित्रका, ठग, लुटेरा, भ्रष्टाचारी, बेइमानीहरुप्रति आत्मघाती आन्दोलन गरेका हुन् । यो सामान्यरुपमा लिई बिर्सन मिल्ने विषय होइन । यसमा सम्पूर्ण नेपालीका मर्महरु समेटिका छन् । तसर्थ उनको यो बलीदान बिर्सने कसैलाई छुट छैन । वास्तवमा उनले उजागर गरेका विषयहरु सबैले ममन गर्न योग्य छन् ।
उद्यमी हुन चाहनेले उनीबाट के सिक्न सक्छ? उद्यमीसँग सामान लिने ठूला व्यापारीहरुले के सिक्न सक्छन् ?
विदेशिएका नेपालीले के सिक्न सक्छौँ ? राज्य संचालनमा रहेकाहरुले नीति निर्माण गर्दा वा त्यसलाई व्यवहारमा लैजाँदा के कसरी गर्नुपर्छ सबै विषयहरु केलाएर आआफ्नो तहबाट मनन गर्दै व्यवहारमा उतार्नुपर्छ ।
राज्य केका लागि हो ? जनताकै हितका लागि बनाइएका हैनन् संघीयता र स्थानीय तहहरु ? हैन भने जनताले देशविदेशमा बगाएको पसिनाबाट आएको राष्ट्रिय सम्पतिमा ब्रह्मलुट गर्ने छुट कसरी मिल्यो ? कसले दियो ?
जनतासँग मत मागेर जनताकै हितका लागि आफ्नो व्यक्तिगत स्वार्थ त्यागेर जिम्मेवारी वहन गर्छौ भनेकाहरुले जनतालाई नै माग्नेको अवस्थामा पुर्याउने र बेहाल हुँदासमेत बेवास्ता गर्ने हो भने यिनलाई भोट किन दिने ? के झुठा आश्वासन र सस्ता सान्त्वनाले जनता सन्तुष्ट हुन सक्छन् ?
यो देशमा गएका सय वर्षमा कति आन्दोलन भए ? ती सबै आन्दोलन केका लागि भए ? लोकतन्त्र, गणतन्त्र, नयाँ नेपाल, संघीयता, समाजवाद, साम्यवाद, जातिवाद यी नामहरुले मात्रै के भयो ? सामान्य नेपालीको अवस्था के छ ? कस्ता कस्ता हिंसाको सामना गर्नुपर्यो देशले ? कति मान्छेहरु विक्षिप्त भए केही याद छ ?
संघीय संसद्, प्रदेश संसद्, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सरकारै सरकार । यता पनि मन्त्री, त्यता पनि मन्त्री, संघमा पनि सासंद, प्रदेशमा पनि सासंद । के गर्छन् प्रदेशका मन्त्री, सांसदले, जनजिज्ञासा हो यो ? देश किन पछि परेको हो ? किन गरिब रहेको हो? यस्तै कारणले न हो ।
हाल विदेशमा रहेर अर्बौंको रकम देशमा पठाइरहेका हामी लाखौँ नेपालीहरु यहाँ मस्तीको जीन्दगी बिताइरहेका छैनौ । हामी स्वदेश फर्केर आफ्नै माटोमा रमाउन चाहन्छौँ । हामीले पठाएको रेमिट्यान्समा हाइसञ्चो नमान । नेपालमा अपार सम्भावना हुँदाहुँदै नागरिक यसरी लामबद्ध भएर विदेशिनु के लज्जाको विषय होइन ? के यही हो सार्वभौम, स्वाभिमानी नेपालीको मौलिक परिचय ?
शैक्षिक पाठ्यक्रम साक्षरता सँगसँगै सीपमूलक र व्यवसायउन्मुख हुनुपर्दो रहेछ भन्ने हामीले यहाँ आएपछि बुझेका छौँ । हामीले नेपालमा गरेको स्नातकोत्तरको पनि कुनै मूल्य रहेन यहाँ । नेताहरु पनि सरकारी बजेटमा विभिन्न देश त घुम्न गईराखेका हुन्छन् तर किन लागु गर्न सक्दैनन् यस्ता राम्रा कुराहरु ? वास्तवमा असल नायकले नै देशलाई सही नेतृत्व प्रदान गर्न सक्छ । नेपाली नेतामा किन यो सदबुद्धि आएन ?
घुसखोरी, भ्रष्टाचार, महिला तथा बालबालिकामाथि हुने बलात्कार तथा हिंसा, कालोबजारी, जातिपातीका नाममा विभेद, ठूला व्यापारीको दादागिरी, शिक्षा, स्वास्थ्य र न्यायमा व्यापार, जस्ता विषयहरुबाट आक्रान्त हाम्रो देश कहिले पूर्ण सुरक्षित, शान्त र गरिखान सकिने बन्ने होला ? खेती वा कुटिर उत्पादनले बजार र त्यसको मूल्यको चिन्ता गर्न नपर्ने दिन कहिले आउला ? कि यसका लागि अरु प्रेम आचार्यहरुले आत्मदाह गर्नुपर्ने हो ?
सधैँ सत्ता र पदको हिसाबमा मात्रै नलाग नेताहरु । आन्दोलनपछि लोकतन्त्र, गणतन्त्र ल्याइयो, संविधान ल्याइयो भनेर हाइसन्चो नमान । लोकतन्त्रको नामले मात्र जनताको जीवनस्तर फेरिने होइन । जनताका प्रतिनिधिले बनाएको संविधानले पनि जनतालाई न्याय र समानताको अनुभूति आफैँ दिने होइन ।
नेपालमा अधिकांश तहमा ढिलासुस्ती छ र कार्यान्वयनको अवस्था पनि फितलो छ । राज्यको एउटा निकाय र अर्को निकायको तालमेल छैन । सरकार आफैँमा प्रभावकारी छैन । गर्न खोज्नेहरुलाई पनि भाँड्न खोजिन्छ । एकअर्कामा देखावटी एकतामात्रै भित्र के के चाल चलिरहेकै हुन्छन्, समीकरण नयाँ नयाँ बनिरहेकै हुन्छ निहित स्वार्थपूर्तिका निम्ति । यस्तो बेथितिका बीचमा यस्ता नेताहरुबाट के आशा राख्नु ? कसरी आशा राख्नु ?
एउटा राजा वा शासक, राष्ट्रपति वा प्रधानमन्त्री पदको व्यक्तिले सामान्य व्यक्तिलाई पनि आफूजत्तिकै महत्त्वपूर्ण मान्नुपर्छ ।
सामान्य नागरिकको जीवनलाई कुशल नायकले त आफू जोखिममै परेर पनि सहायता गर्छ तर यहाँ भने त्यस्तो सोच्नुपनि हास्यास्पद हुन आउँछ ।
हुन पनि नेपालमा जनताका समस्या, रोदन, मरण सबै सामान्यजस्तै लाग्दो हो आफूलाई देशको मालिक ठान्नेहरुका लागि । कति चित्कार विस्मृत भए हालसम्म लेखाजोखा छ ? कतिपय गरिबीमा सपरिवार आत्महत्या, कतै अनेक प्रयत्नमा असफल भएर आत्मदाह, बलात्कार, अपहरण, ठगीका घटना कति भए भए ? न्याय खोई ?
हामी त्यसै विदेसिएका होइनौँ । देशको बेथिती र अस्तव्यस्तताका कारण देशमा के गर्ने अलमल भएर विदेसिन बाध्य भएका हौँ । हामी लाखौँ नेपाली विदेशमा मस्त निद्रामा र्छनौ । हामी पनि आफ्नो देशकै माटोमा रमाउन चाहन्छौँ ।
आफ्नै परिवारसँग बाँच्न चाहन्छौँ । तसर्थः विदेशिन बाध्य लाखौं युवाका लागि देशमा रोजगारी तथा उद्योग व्यवसायको लागि काम गर, आत्मदाहअघि प्रेम आचार्यले राज्यलाई दिएका सुझावको मनन गर । देशमा नै केही गरौँ भन्नेका लागि सहज वातावरण बनाऊ । होइन भने लाखौं युवाको महासागरले एकैपटक उत्तर माग्नेछ – तिमीहरुको औचित्य के ?
पाल्पा नेपाल
हाल : दक्षिण कोरीया