काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको राजनीति भद्रगोल र डामाडोलतर्फ अघि लागेको टिप्पणी गरेका छन् ।
पार्टी संगठन विभागद्वारा आइतबार काठमाडौंमा आयोजित ‘उपत्यका स्तरीय संगठन सुदृढीकरण अभियान’ तयारी बैठकमा बोल्दै थापाले निर्वाचन सकिएर नयाँ सरकार गठन भएको केही महिना नबित्दै जनतामा वितृष्णा देखिनुलाई शुभ सङ्केत मान्न नसकिने बताए ।
उनले हिन्दु राष्ट्रको पुनःस्थापना, भ्रष्टाचार नियन्त्रण, बेरोजगारी समस्याको समाधान र सुशासनको निमित्त जनता सडकमा ओर्लिनु पर्नेमा जोड दिए ।
सो अवसरमा संगठन विभाग प्रमुख एवं महामन्त्री राजाराम बर्तौलाले ‘उपत्यका केन्द्रित संगठन सुदृढीकरण अभियान’ कार्ययोजना प्रस्तुत गरेका थिए भने अर्का महामन्त्री सुशील श्रेष्ठले प्रशिक्षण कार्यक्रमबारे प्रकाश पारे ।