अहिले बजारमा बाघको चर्चा छ
अनि, उसको मूर्तिको ।
थरीथरीका बाघ र त्यसका प्रतिमा
कहीँ मोटो बाघ, कहीँ पातलो
कहीँ बाघजस्तै, कहीँ बिरालो
कहीँ सिकारी, कहीँ लुते कुकुरजस्तो
कहीँ चिसोले फुलिएको,
कहीँ लू लागेर सुकेको बाघ
कहीँ च्यवनप्रास खाएर तंग्रिएको
कहीँ अस्थिपञ्जर मात्रै
तर, कहीँ पनि भेटिएन त्यस्ता बाघका प्रतिमा
जुन कसरामा डुल्ने बाघजस्तै देखियोस्,
बर्दियाको सडकमै भुल्ने बाघजस्तै देखियोस् ।
अहिले बजारमा राजनीतिको चर्चा छ
अनि, दल र त्यसका राजनेताको ।
थरीथरीका राजनेता
हुक्के, बैठके, अगुवा र पछुवाका कोही
पत्नी, सालो, भान्जो र ज्वाइँका कोही
घुस, कमिसन र भागबन्डाले भुँडी भरेका
मेसो मिलाएर ठूलै भ्रष्टाचार गरेका
सर्वहाराका नाममा धनले महल भरेका
सडकमा टाउको फोड्ने,
सत्तामा घाँटी जोड्ने
दिमाग सुकेका
पेट ह्वात्त फुकेका
तर, कहीँ पनि भेटिएनन् त्यस्ता राजनेता
जसले जनातको चुलो बालोस्,
भत्किएको सडक टालोस्
खुम्चिएर मरिच बनिसकेको अर्थतन्त्रमा
आलुदममा जसरी सुधारको झोल हालोस्
र, गरिबीको मौनतामा टोलाइरहेको जनमनमा
सुख र समृद्धिको दियो बालोस् ।
सदाबहार चर्चामा मान्छे पनि छ
थरीथरीका मान्छे
कोही बाजको नजर, चिलको उडान भएका
कोही हात्तीजस्तै बलिया
कोही गधाझैँ लाचार
कोही जलगैँडाझैँ फुकेका
कोही खङ्ग्रङ्ङै सुकेका
कोही मौरीजस्ता मिहिनेती
कोही कमिलाजस्तै गोलबद्ध
अनि, अरिंगालले जसरी चिल्ने पनि
जोडी परेवाझैँ मिल्ने पनि
तर, कहीँ छैनन् मान्छेजस्तै मान्छेहरू
जसले सानालाई माया गरोस्, ठूलालाई मान
हुनेलाई गर्न सिकाओस् नहुनेलाई दान
कमजोरलाई सघाओस्
विध्वंश र हिंसा भगाओस्
तर, अहँ
विकृत राजनीतिभित्र
बाघको मूर्तिमा पनि आकार खोजिरहेको मेरो समाजले
राजनेतामा जनउत्तरदायी चरित्र
र, मान्छेमा मानवता कहिल्यै खोजेन ।