काठमाडौं । काठमाडौं महानगरपालिकाले गत मंसिरमा बागबजार क्षेत्रको पार्किङ एकाएक हटायो । एक लाइन पनि पार्किङ गर्न नदिएपछि मंसिर १५ गतेदेखि सो क्षेत्रका व्यवसायीहरु आन्दोलनमा उत्रिए ।
आफूहरुलाई विकल्प नदिएको र सडकको एक लाइनमा पनि पार्किङ गर्न नदिएको भन्दै महानगरको चर्को विरोध भयो । महानगरलाई लाखौँ रुपैयाँ राजस्व बुझाएका व्यापारीको दैनिक जीवनयापन र व्यवसायमा समेत असर परेको छ ।
पार्किङको विकल्प दिनुपर्ने व्यापारीको माग जारी छ । अन्य विकल्प नहुँदा लामो समयदेखि बागबजार क्षेत्रका सडकमा पार्किङ गरिँदै आएको थियो ।
त्यस्तै, पुस ३ गते आइतबार नगरप्रहरी टोली अनामनगरस्थित निजी जग्गामा पार्क गरिएका सवारीसाधन उठाउन पुग्यो । महानगरले आफ्नै जग्गामा पनि पार्किङ गर्न नदिएको भन्दै विवाद हुँदा स्थानीय, नरप्रहरी र ट्राफिक प्रहरीबीच झडपको स्थिति नै बन्यो ।
महानगरको ज्यादतीविरुद्ध नागरिकले नगरप्रहरीको सवारीसाधन लोड गर्ने गाडी चार घण्टा कब्जामा लिए । त्यसपछि महानगरका नगरप्रहरी प्रमखु एसपी राजुनाथ पाण्डेले निजी जग्गामा पार्किङ गर्न पनि नक्सापास हुनुपर्ने अभिव्यक्ति दिए ।
एसपी पाण्डेको सो अभिव्यक्तिपछि सर्वसाधारणले झनै आक्रोशित बने । निजी जग्गामा पार्किङ गरिएको सवारीसाधनलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय रामशाहपथ पुर्याए । सोही दिन साँझ जरिवाना तिराएर सवारी साधन फिर्ता दिइयो ।
त्यस्तै, व्यस्त व्यापारिक क्षेत्र दरबारमार्गमा पनि महानगरले विकल्पबिना सडक पार्किङ निषेध गरेको छ । त्यसअघि नक्सापासविपरीत सञ्चालनमा रहेका लन्डन पब, आरके कम्प्लेक्सलगायतका व्यापारिक कम्प्लेक्सका बेसमेन्ट व्यापारिक कम्प्लेक्समा महानगरले डोजर चलाएको थियो ।
तर, महानगरले डोजर चलाएका व्यापारिक कम्प्लेक्सले अन्डरग्राउन्ड पार्किङ प्रयोजनमा अझै ल्याएका छैनन् । विकल्प नदिएरै पार्किङ हटाउने गतिविधि शंकास्पद रहेको टुँडिखेल अकुपाइ अभियानको निष्कर्ष छ ।
स्थानीयलाई ‘प्रेसर’ दिएर र उचालेर मेयर बालेन्द्र शाह (बालेन)ले खुलामञ्चमै ट्रिपल बेसमेन्ट पार्किङ निर्माण गर्ने रणनीति बनाएको अभियानले जनाएको छ ।
अभियानका गणपतिलाल श्रेष्ठले भने, “विकल्प नदिएरै सडक पार्किङ उठाएर स्थानीय व्यापारीलाई उचाल्ने काम भइरहेको छ । अब स्थानीय र व्यापारीलाई आफ्नो पक्षमा ल्याएर खुलामञ्चमै पार्किङ बनाउने मेयरको रणनीति छ ।”
खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने वा नगर्ने विषयमा छलफल गर्न मेयरले अभियानसँग वार्ता पनि गरेका छैनन् ।
गत पुस १८ गते अभियानले बालेनलाई खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ नबनाउनेबारे ज्ञापनपत्र बुझाउने समय तय भएको थियो । तर, मेयरले भेट्न मानेनन् । त्यसपछि सम्पदा संरक्षणकर्मी र स्थानीयले उपमेयर सुनिता डंगोललाई ज्ञापनपत्र बुझाए ।
सो दिन उपमेयर डंगोलले दिएको अभिव्यक्ति महानगर नेतृत्वसँग बाझियो । उपमेयर डंगोलले भनेकी थिइन्, “सार्वजनिक जग्गा संरक्षण गर्नुपर्ने कुरामा दुईमत छैन । पहिलो कुरा त्यहाँ अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न आवश्यकता हो कि होइन ? यसमा जनताको मर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । जनताको मर्मबेगर काम भए यहाँहरुको आवाज म छँदै छु ।”
कात्तिक २९ गते मंगलबार मेयर बालेनको अध्यक्षतामा बसेको दशौँ कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल अन्डरग्राउन्ड पार्किङ’ निर्माण गर्ने प्रस्ताव पारित गरेको थियो । महानगरले अन्य विकल्पमा छलफल नै नगरी सम्भाव्यता अध्ययन अघि बढाइसकेको छ ।
यसअघि, पूर्वमेयर विद्यासुन्दर शाक्य नेतृत्वले २०७४ सालमै अन्डरग्राउन्ड पार्किङ निर्माण गर्ने गरी खुलामञ्चको अध्ययन गरेको थियो । २०७४÷७५ को नीति तथा कार्यक्रममार्फत उनले भर्टिकल र अन्डरग्राउन्ड कार पार्किङका लागि खुलामञ्च र लैनचौरको अध्ययन गरेको थियो । तर, स्थानीय र संरक्षणकर्मीहरुको विरोध र आन्दोलनले शाक्य निर्णयबाट पछि हटेका थिए ।
अहिले बालेन पनि विद्यासुन्दर पथमा छन् ।
पहिले पुरानो बसपार्क हालको निर्माणाधीन भ्युटावर रहेको ठाउँमा थियो । तर, २०७१ फागुन २२ गते महानगर र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स जेभी प्रालिबीच सम्झौता भएको थियो । त्यसपछि पुरानो बसपार्क खुलामञ्चमा सारिएको थियो ।
त्यसैअनुरुप २९ तलाको भ्यू टावर बनाउने योजना बनाइएको थियो । तर २०७२ साल वैशाख १२ गते महाभूकम्पपछि सरकारले सहरी क्षेत्रका भवनहरु १२ तलाभन्दा माथि बनाउन नपाइने मापदण्ड ल्यायो । त्यसपछि महानगरले १२ तले बनाउने गरी योजना पारित गरेको थियो ।
कूल २३ रोपनी पाँच आना क्षेत्रफल फैलिएको भ्युटावरले पुरानो बसपार्कलाई गुमनाम पारिदिएको छ । भ्युटावरको तल्लो तलामा बसपार्क राख्ने भनिए पनि अहिलेसम्म निर्माण नसकिँदा बसपार्क अलपत्र छ । पाँच वर्षमा काम सकाइसक्नुपर्ने थियो । अहिले सात वर्ष बितिसकेको छ ।
भ्युटावर निर्माण सम्पन्न भए पनि महानगरलाई वार्षिक रुपमा लिज भाडास्वरुप कम्पनीले ७० लाख रुपैयाँ महानगरलाई भाडा बुझाउनुपर्ने छ । लामो समयको विरोधपछि कार्यकालको अन्तिम वर्ष विद्यासुन्दरले खुलामञ्चको बसपार्क हटाएर ताल्चा लगाएका थिए । हाल खुलामञ्चको अस्थायी पुरानो बसपार्क हुँदै गुड्ने सवारीसाधन ‘पिक एन्ड ड्रप’ प्रर्णालीमा सञ्चालित छन् ।
महानगरले सञ्चालनमा ल्याएका स्मार्ट पार्किङ पनि अलपत्र छन् । महानगरसँग कैयाँै विकल्प हुँदाहुँदै पनि खुलामञ्चमा गिद्धे नजर लगाउनु दुर्भाग्य रहेको ट्राफिक विज्ञहरुको भनाइ छ ।
महानगरले धरहरामा निर्माणाधीन अत्याधुनिक पार्किङ, पुरानो बसपार्क, धर्मपथस्थित महानगरको जग्गा, काठमाडौं मलको दुई तला पार्किङ प्रयोजनमा ल्याउने र व्यापारिक कम्प्लेक्सका बेसमेन्टमा कडाइ गर्नेलगायत दर्जनौँ विकल्पहरु छन् ।
महानगरले यस्ता विकल्पहरुलाई अबलम्वन गरी प्रभावकारी कार्यान्वयन गर्दा धेरै हदसम्म पार्किङ समस्या कम गर्न सकिने ट्राफिक विज्ञहरुको सुझाव छ ।
ट्राफिकविज्ञ सीताराम हाछेथूले खुलामञ्च र रत्नपार्क क्षेत्रमा पार्किङ बनाउँदा काठमाडौंको सवारी जाम दोब्बरले बढ्ने बताए । ललितपुर महानगरपालिकाका नगरप्रहरी प्रमुखसमेत रहेका उनले ट्राफिक व्यवस्थापनका लागि असहज हुने खुलामञ्च जस्ता ठाउँमा पार्किङ बनाउने अवधारणा गलत रहेको बताए ।
“मैले पाँच वर्ष ट्राफिक भएर खुलामञ्च क्षेत्रको सडकमा काम गरेको छु । एक मिनेटमा ६८ वटा गाडी गुड्छन् । कुनै मेला हुने बेला २०० जति जाडी गुड्थे । सो समयमा पूरै सडक नै चक्का जाम हुन्थ्यो । अहिले महानगरले त तीन हजार गाडी अट्ने पार्किङ बनाउने भन्दै छ । यसले भयावह स्थिति सृजना हुन्छ,” हाछेथूले बाह्रखरीसित भने ।
दुई किसिमले सो क्षेत्र सवारी अस्तव्यत बन्ने उनको ग्यारेन्टी छ ।
“मानिसहरु गाडी चढ्न हिँडेर आउँछन् । त्यहाँको आकासेपुलले धान्दैन,” उनले भने, “अर्को न्युरोड, थापथली, जमल, बागबजार, सुनधारा, कोटेश्वर, बानेश्वर, अनामनगर, जावलाखेल कुपन्डोललगायतका क्षेत्रका सवारी खुलामञ्चभित्र पस्नुपर्छ । सवारीको चाप थेक्न सक्दैन । त्यहाँ बेसमेन्ट पार्किङ बनाउनु हुँदैन ।”
बेसमेन्ट पार्किङ कम सवारी चाप भएको ठाउँ र प्रशस्तै खुला ठाउँको भएको क्षेत्रमा बनाउनुपर्ने हाछेथूको सुझाव छ ।