काठमाडौं । अमेरिका भ्रमणमा रहेका भारतीय कांग्रेसका उपाध्यक्ष राहुल गान्धी भारतीय विद्यार्थीहरुसँगको भेटघाटमा व्यस्त छन् । उनले अमेरिकामा अध्ययनरत भारतीय विद्यार्थीहरुसँगको साक्षात्कारमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरेर भाषण गर्दै आएका छन् ।
साक्षात्कारका क्रममा राहुलले भारतीय नीति र कांग्रेसमाथि उठ्ने सवालहरुको जवाफ दिइरहेका छन् । उनको जारी अमेरिका भ्रमण स्वच्छ छवि निर्माणका लागि अत्यन्तै महत्वपूर्ण मानिएको बीबीसीले जनाएको छ ।
बीबीसीसँगको कुराकानीमा भारतका वरिष्ठ पत्रकार विनोद शर्माले भनेका छन्, ‘‘राहुलले देशको प्रधानमन्त्री र लामो समयसम्म सरकारको नेतृत्व सम्हालिसकेको कांग्रेस पार्टीको अध्यक्ष बन्न चाहेका हुन् भने उनले विदेशमा अलग छाप छोड्नुपर्छ ।’’
राहुलको छवि असमझदार व्यक्तिका रुपमा चित्रित हुँदै आएको र उनलाई असफल सावित गर्ने कोसिस हुँदै आएको भन्दै पत्रकार शर्माले भने, ‘‘आफ्नो यो छवि सुधार्न अमेरिका भ्रमण राहुलका लागि राम्रो सुरुवात हो ।’’
बीबीसीसँगको कुराकानीमा अर्का वरिष्ठ पत्रकार तवलीन सिंहले राहुलको अमेरिका भ्रमण खासै उपलब्धिमूलक नहुने प्रतिक्रिया दिएका छन् । उनले भने, ‘‘जो कुरा राहुल अमेरिकामा भन्दै आएका छन्, ती कुरा भारतमा भनेपनि जनता सुनिहाल्थे ।’’ पत्रकार सिंहले राहुलले प्रधानमन्त्री मोदीको नक्कल गरेको टिप्पण्ी गरेका छन् । ‘‘विदेश भ्रमणपछि मोदीको कद धेरै माथि उठेको थियो, राहुल पनि यही बाटोमा हिँडिरहेका छन्,’’ उनले भने ।
पहिले नरेन्द्र मोदीले विदेशी भूमिमा कांग्रेसको आलोचना गरेका थिए । अहिले राहुल मोदीको आलोचना गरिरहेका छन् । विदेशी भूमिमा यसरी एकअर्काको आलोचना गर्नु उचित नभएको पत्रकार शर्माको भनाइ छ । ‘‘सीमापार हामी एक हौं भन्ने परम्परालाई नेताहरुले तोडिदिएका छन्,’’ उनले भने ।