site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मरणोपरान्त  अंगदान : एकजनाले बचाउन सक्छन् आठजनाको ज्यान

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा २०६९ माघदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु भयो । जहाँ १० वर्षको अवधिमा ९९२ जनाको मिर्गौला प्रत्यारोपण भएको केन्द्रको तथ्यांक छ । सातामा ६ जनासम्मको मिर्गौला प्रत्यारोपण गर्दा पनि अझै ७०० जना पर्खाइको सूचीमा छन् । प्रत्यरोपण गर्नुपर्ने मिर्गौलाका बिरामी वार्षिक तीन हजार भए पनि उनीहरुले मिर्गौला नपाउने समस्याले अकालमै ज्यान गुमाइरहनु परेको छ । 

नेपालको कानुनले मिर्गौला दानका लागि परिवारका सदस्यसहित घरभित्रका सम्बन्धहरु तोकेको छ । मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) नयाँ ऐन २०७२ ले यी सम्बन्धसहित मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएका व्यक्तिहरुको पनि मिर्गौला प्रत्यारोपण गर्ने प्रक्रिया सहज बनाएको छ । ऐनअनुसार अंग ग्रहण गर्ने व्यक्तिको पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाती, नातिनी, सासू तथा ससुराले अंगदान गर्न पाइने उल्लेख छ  । 

त्यस्तै, धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासुससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जा भान्जी, साला साली, फुपू फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाइँ र जेठानले पनि नजिकको आफन्तको रुपमा मिर्गौला दिनसक्ने व्यवस्था गरिएको छ । धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तिमा दुई वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ । 

त्यस्तै, कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ । नेपालको अहिलेको अवस्थालाई हेर्दा मस्तिष्क मृत्यु अर्थात् ‘ब्रेन डेथ‘ भएका व्यक्तिबाट अंगदान गर्न सकिएको खण्डमा मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामीले अकालमै ज्यान जाने अवस्था नआउने डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । 

अकालमै मृत्युपश्चात अंगदानमार्फत बिरामीको ज्यान बचाउन केन्द्रले स्वेच्छिक अंगदानका लागि पनि परमार्श दिइरहेको छ । तर ब्रेन डेथपछि अंगदान गर्न मिल्ने ऐन बनेपश्चात् हालसम्म जम्मा दुई हजार ८४ जनाले मात्रै मरणोपरान्त अंगदानका लागि लिखित सहमति गरेका छन् । यो संख्या अत्यन्तै न्यून भएको र ब्रेन डेथपछि अंगदानका लागि राज्यका सरोकारवाला तहदेखि आम नागरिकसम्मले सचेत हुनुपर्ने डा. श्रेष्ठ बताउँछन् ।

कस्तो अवस्था हो ब्रेन डेथ ? 

अंग प्रत्यारोपण नियमावली ऐनअनुसार टाउकोमा हुने कुनै पनि गम्भीर चोटका कारण मस्तिष्कले काम गर्न छाडेको अवस्था ब्रेन डेथ हो । यो दुर्घटना वा मस्तिष्कघातका कारण पनि हुनसक्छ । यो अवस्थामा व्यक्तिले श्वास लिन सक्दैन, यस्तो अवस्थालाई चिकित्सा विज्ञानले मृतककै रुपमा परिभाषित गरेको छ । तर, उनीहरुमा रक्तचाप, धड्कनजस्ता लक्षणहरु भने महसुस गर्न सकिन्छ । 

ब्रेन डेथ भएका व्यक्तिलाई भेन्टिलेटरको सहायतामा केही दिनसम्म राख्नसकिने भए पनि उनीहरु फेरि जीवनमा फर्किन भने नसक्ने कन्सल्टेन्ट न्युरोसर्जन डा. राजिव झा बताउँछन् । तर, अन्य अंग भने काम गर्नसक्ने अवस्थामा हुन्छन् । नेपालमा ब्रेन डेथ हुने अधिकांश कारणहरुमा सवारी दुर्घटनाबाट टाउकोमा हुने गम्भीर चोट नै देखिएको छ । यसरी विविध कारणले मासिक ३० देखि ४० जनाको ब्रेन डेथ हुने गरेको डा. झा बताउँछन् । ब्रेन डेथ भएका एकजना व्यक्तिबाट आठजनाले पुनर्जीवन पाउन सक्छन् । 

डा.श्रेष्ठका अनुसार ब्रेन डेथ भएका व्यक्तिबाट मिर्गौला, फोक्सो, मुटु कलेजो, प्याङ्क्रियाज, सानो आन्द्रा अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ । नेपालमा  अहिले अभ्यास भएअनुसार दुईवटा मिर्गौला र एउटा कलेजोको हिसाबले नेपालमा अहिले एकजना ब्रेन डेथ भएको व्यक्तिको अंगबाट तीनजनाले पुनर्जीवन पाउनसक्ने अवस्था छ । नेपालजस्तो सवारी दुर्घटना बढी हुने मुलुकमा समयमै दुर्घटनामा परेर मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्ने हो भने कम्तीमा एकजनाको मृत्यु हुँदा दुईजनालाई बचाउन सकिने डा. श्रेष्ठ बताउँछन् । 

ब्रेन डेथपछि कसरी गर्ने अंगदान ? 

मानव शरीरको अंग प्रत्यारोपण नियमित तथा निषेध ऐनले मस्तिष्क मृत्यु भएका व्यक्तिबाट पनि अंग प्रत्यारोपण गर्न मिल्ने व्यवस्था गरेको छ । ऐनको नियमावली २०७३ ले मस्तिष्क मृत्युको घोषणापछि विशेषज्ञ चिकित्सक, प्रहरी अधिकृतलगायतको जाँचबुझ समितिले मृतकको पोष्टमार्टमपूर्व अंग झिक्न स्वीकृति दिनसक्ने व्यवस्था छ । यसमा मृतकको तर्फबाट दुईवटा तरिकाले अंगदान गर्न सक्छन् । पहिलो, व्यक्तिले जीवन रहँदै स्वेच्छाले गरेको अंगदान र दोस्रो, मृतकले अगाडि नै अंगदान गरेको नभए पनि परिवारका सदस्यले दिएको मञ्जुरीका आधारमा गरिने अंगदान । यसरी दिइने मञ्जुरी लिखित र विवरणसहितको हुन्छ, जुन स्वास्थ्य संस्था र मृतकका परिवार दुवै पक्षले राख्नेछन् । 

ब्रेन डेथ भएका व्यक्तिबाट निकालिएका अंगहरु मिर्गौला २४ घण्टाभित्र, कलेजो र प्याङ्क्रियाज १२ घण्टाभित्र, मुटु र फोक्सो चार घण्टासम्म आइसप्याकमा राखेर प्रत्यारोपण गर्न सकिन्छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ब्रेन डेथ भएका व्यक्तिबाट अंगदान गर्न चाहेमा तत्काल विशेषज्ञ टोली घटनास्थलमा पुगी अंग संकलन गर्ने अभ्यास गरिरहेको छ । 

ब्रेन डेथको अवधारणलाई मात्रै आम नागरिकमाझ पु¥याउनसक्ने हो भने मिर्गौला प्रत्यारोपणमा नेपाल आत्मनिर्भर हुनसक्ने केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठ बताउँछन् । केन्द्रले ब्रेन डेथपछिको अंगदानबारे देशैभर सचेतना कार्यक्रम गर्दै आएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  ०६:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro