site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्त्री श्रेष्ठले हटाउन सक्लान् यातायात कार्यालयका बिचौलिया ? यस्ता छन् चुनौती 

काठमाडौं । मंगलबार उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं उपत्यकाका तीन यातायात कार्यालयमा छड्के जाँच गरे । अनुगमनका क्रममा उनले सेवाग्राहीहरुको गुनासो सुन्दै कार्यदल बनाएर समाधान गर्ने प्रतिवद्धता पनि जनाए । एकान्तकुना, गुर्जुधारा र ठुलो भर्‍याङ यातायात कार्यालयमा मन्त्रीको अनुगमनपश्चात् सातजना बिचौलियालाई प्रहरीले पक्राउसमेत गर्यो । 

मन्त्रालयले पाएको रिपोर्टिङअनुसार सबैभन्दा बढी सेवाग्राहीको चाप एकान्तकुना यातायात कार्यालयमा हुन्छ । मन्त्रीका प्रमुख स्वकीय सचिव विजय गौतमका अनुसार सो कार्यालयबाट सेवाग्राहीहरुले अत्यधिक गुनासो गरेका छन् । 

काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौैं उपत्यका ट्राफिक कार्यालयको संयुक्त टोलीले बिचौलियालाई कारबाही गर्दै आएको छ । यसबीचमा एकान्तकुना, ठूलोभर्‍याङ र चाबहिलबाट पाँचजना र स्वास्थ्य परीक्षण रिपोर्ट फर्जी दिने दुईजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । 

Dabur Nepal
NIC Asia

मन्त्री श्रेष्ठले  यातायात कार्यालयमा ४ बजेसम्म हुँदै आएको काम ५ बजेसम्म गर्न पनि निर्देशन दिएका छन् । आम सर्वसाधारणमा सवारी लाइसेन्सको विषयमा अत्यधिक गुनासो आएकाले मन्त्रालयले ‘एक्सन’ लिने मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सवारी लाइसेन्सका लागि यातायात कार्यालयमा देखिने लाइनको समस्या समाधान गर्न मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । उनले सरकार गठनको एक महिनापछि पनि लाइन देखिए निर्मम भएर कारबाही गर्ने चेतावनीसमेत दिएका छन् ।

मन्त्री श्रेष्ठले सडक विभागको ब्रिफिङ कार्यक्रममा एक महिनाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन दिए । उनले भावी योजना र हाल सञ्चालनमा रहेका योजनाको विवरण जाँच दिनभित्र पेस गर्न पनि निर्देशन दिए । तर, मन्त्री श्रेष्ठले निर्देशन दिएकैभरमा सुधार हुने स्थिति भने छैन । यातायात क्षेत्रको भद्रगोल अवस्थाले सवारी लाइसेन्सदेखि ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ ।

यातायात कार्यालयमा बिचौलियाको बिगबिगी, इम्बोस्ड नम्बरप्लेट जडानमा चर्को शुल्क अुसली, सीमित ट्रायल सेन्टर, इम्बोस्ड खरिद प्रक्रियामा चलखेल, स्मार्ट लाइसेन्स खरिदमा अनियमितता, प्रदेश, विभाग र यातायात कार्यालयहरुको विवादलगायतका अनेक समस्याहरु रहेका छन् ।

त्यस्तै, अनलाइन आवेदन प्रणालीमा सुधार छैन । ट्रायल परीक्षा दिँदा यातायात कार्यालयकै सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यकारी नियमहरुको चाङ छ ।

बिचौलियाको हालीमुहाली

उपत्यकाका यातायात कार्यालयहरुमा बिचौलियाको बिगबिगी छ । ट्रायल पास गराइदिने, फाराम भरिदिने भन्दै हजारौँ सवारी चालकहरु बिचौलियाको फन्दामा पर्ने गरेका छन् । सेवाग्राहीहरुले घण्टौसम्म लाइन बस्नुपर्ने बाध्यता छ । सवारी दर्ता, नवीकरण गर्ने प्रक्रियामा चलखेल हुने गरेको गुनासोहरु अत्यधिक छन् । 

सहजै लाइसेन्स परीक्षा पास हुने प्रयोजनले ल्याइएको निर्देशिका कार्यान्वयन हुन सकेको छैन । मन्त्रालयले फाष्ट ट्रायलको व्यवस्था गर्ने आश्वासन दिँदै आए पनि अहिलेसम्म प्रविधिमा सुधार हुन सकेको छैन ।

इम्बोस्ड नम्बरप्लेट जडान गर्ने डण्डी पनि बिचौलियाले नै बेच्ने गरेको पाइएको छ । त्यस्तै, लामो समयदेखि इम्बोस्ड नम्बरप्लेट विवादमा छ । यातायात कार्यालयहरुले जथाभावी शुल्क असुल्दै आएका छन् । अंग्रेजी इम्बोस्ड नम्बरप्लेट नेपालीमा हुनुपर्ने विवाद पनि कायमै छ । 

चर्को मूल्य तिरेर इम्बोस्ड जडान गर्नुपर्ने चालकहरुको बाध्यता छ । जडान गरिसकेपछि पनि छिट्टै बिग्रने, साइज नमिल्नेलगायत समस्या उस्तै छ ।
 
स्मार्ट हुन नसकेको स्मार्ट लाइसेन्स 

सरकारले विगत लामो समयदेखि स्मार्ट लाइसेन्स वितरण गर्दै आएको छ । तर, सवारीचालकहरुले वर्षौँदेखि लाइसेन्स पाएका छैनन् । विभागले तीन लाखभन्दा बढी चालकहरुलाई स्मार्ट लाइसेन्स वितरण गर्न सकेको छैन । विकल्पमा परीक्षणकालीन लाइसेन्स वितरण गरे पनि आफ्नै प्रविधिमा स्मार्ट लाइसेन्स छाप्न सकेको छैन ।

करोडौँ बजेटमा खरिद गरिएका लाइसेन्स छाप्ने मेसिनहरु विभागमै थन्किएका छन् । नक्कली र सक्कली लाइसेन्स पहिचान गर्न ट्राफिकसँग मेसिनसमेत छैन । 

यी सबै समस्या समाधान गर्दै यातायात कार्यालयका बिचौलिया हटाउन डिजिटलाइजेनस गर्ने मन्त्री श्रेष्ठको भनाइ छ । उनले भौतिक पूर्वाधार केन्द्रित कार्यदल बनाएर परिणाममुखी काम गर्ने दाबी गरे । 

“डिजिटलाइजेसन प्रक्रिया सुरु गर्ने, सहज रुपमा सेवाग्राहीलाई सेवा दिने हो । त्यतिबेलासम्म तपाईँहरु समस्यामा पर्नुभयो भने हामीलाई रिपोर्टिङ टिपाइदिनुहोस्,” मन्त्री श्रेष्ठले भने, “मन्त्रालयले तत्काल कारबाही गर्छ । सेवाग्राहीलाई सहजरुपमा सेवा दिने हाम्रो कर्तव्य हो । जहाँ जहाँ समस्या छ, त्यसलाई समाधान गर्छौँ ।”

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro