site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जनसहभागिता बढाउन सार्वजनिक बिदा, ल्यान्डफिल साइटमा फोहोर फाल्न रोकियो
SkywellSkywell

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि सञ्चालनमा आउँदै छ । आइतबारदेखि नै आन्तरिक उडानहरु नयाँ विमानस्थलबाट हुनेछन् । विमानस्थल सञ्चालनको उद्धाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम तय भएको छ ।

उद्धाटन समारोहलाई भव्य बनाउन पोखरा महानगरपालिकाले जिम्मा लिएको छ । शनिबार पत्रकार सम्मेलन गर्दै महानगरले जनसहभागिता बढाउनको लागि आइतबार महानगरअन्तर्गतका कार्यालय विद्यालय र शैक्षिक संस्थालाई बिदासमेत दिएको छ ।

पोखराका मेयर धनराज आचार्यले ११ बजे उद्घाटन समारोह सुरु हुने, अमरसिंह चौरबाट विभिन्न जातजाति मौलिक झाँकी, संघ संस्था, आमा समूह, पर्यटन सम्बद्ध संघ संस्था, उद्योगी व्यवसायी सम्मिलित झाँकी विमानस्थलमा लगिने जानकारी दिए । आइतबार नै महानगरले तत्कालीन अञ्चलाधीश शंकरराज पाठकलाई रथारोहणसमेत गराउनेछ । पाठकलाई तत्कालीन अवस्थामा विमानस्थलको परिकल्पना गरेको भन्दै अभिनन्दन गर्न लागिएको हो । पाठककै पालामा विमानस्थलको लागि भनेर जग्गा अधिग्रहण गरिएको थियो ।

KFC Island Ad
NIC Asia

उद्घाटन समारोह सम्पन्न भएँसगै दिउँसो २ः०० बजेपछि ‘सेलिब्रेसन’सँगै सांस्कृतिक कार्यक्रम, फेसन सोलगायतका कार्यक्रम हुने छ । त्यस्तै, महानगरले आइतबार साँझ सबैलाई दीपावली गर्न आग्रहसमेत गरेको छ ।

“विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन समारोह पोखराका लागि उत्सव हो । पोखरेलीको साथ र सहयोगबाट लामो प्रतीक्षापछि निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउनेछौँ,” मेयर आचार्यले भने, “बेलुका घरघरमा दीपावली गर्नका लागि महानगरवासीमा आग्रह गरेका छौँ ।”

Royal Enfield Island Ad

नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रमराज गौतमले उद्धाटनका लागि आवश्यक तयारी सकिएको जानकारी दिए । विमानस्थलमा अवतरण गर्ने पहिलो विमानका चालकदल तथा यात्रुहरुलाई फूलमालाले स्वागत गरिनेछ । 

विमानस्थलमा आन्तरिक उडान र बाह्य उडानका लागि छुट्टाछुट्टै संरचना बनाइएका छन् भने नेपालकै पहिलोपटक यात्रु चढाउन र झार्नका लागि एरोब्रिज बनाइएको छ । यात्रुहरुका लागि विमानस्थलभित्र र्‍याम्प बस पनि सञ्चालन हुनेछ । हाल विमानस्थल बिहानदेखि बेलुका चार÷पाँच बजेसम्ममात्र सञ्चालन हुने र आगामी २३ फेब्रुअरीपछि दैनिक १८ घण्टा सञ्चालन गर्ने तयारी गरिएको गौतमले जानकारी दिए ।

क्यानले विमानस्थल सञ्चालनका लागि आवश्यक कामसमेत सबै सकेको गौतमले जानकारी दिए । सञ्चालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापनसँगै अध्यागमन, भन्सार, मेडिकल, सुरक्षा, इन्धन, आवश्यक कागजपत्र तयारी लगायतका कामहरु सबै सकिएको उनले जानकारी दिए ।  विमानस्थल सञ्चालनका लागि विशेष अर्थात मुख्य काम सेफ्टी, सेक्युरेटी र सुविधाको कुराहरुको व्यवस्थापन गरिसकेको गौतमले बताए ।

नयाँ विमानस्थल सञ्चालनसँगै पुरानो विमानस्थलबाट हुँदै आएका सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुने भएका छन् भने साना जहाज, हेलिकप्टर र अल्ट्रालाइटको उडान भने पुरानो विमानस्थलबाट हुनेछ ।
 
आन्तरिक उडान नियमित हुने भए पनि उद्धाटनको दिन अन्तर्राष्ट्रिय उडान भने नहुने भएको छ । बुद्ध एयरले उद्धाटनको दिन पोखरा–बनारस सिधा उडान गर्ने लक्ष्य राखे पनि भारतले अनुमति नदिएका कारण अन्तर्राष्ट्रिय उडान भने नहुने भएको हो ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको विमानस्थलमा यसअघि ५ देखि १२ मंसिरसम्म थाइल्यान्डबाट आएको एरोथाई कम्पनीको विमानले यान्त्रिक परीक्षण, विमानस्थलमा आपत्कालीन अवस्था आइपरेमा सबै मिलेर कसरी चाँडोभन्दा चाँडो उद्धार गर्न सकिन्छ भनेर २३ मंसिरमा दुर्घटना अभ्यास, ७ पुसमा यति एयरलाइन्स र बुद्ध एयरसँगै ८ पुसमा सौय एयरलाइन्सको जाहाज अवतरण गरेका थिए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स, फ्लाई दुबईलगायतले उडानमा चासो राखेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते विमानस्थलको शिलान्यास गरेका थिए । गत जुलाई १० मा काम सक्नेगरी विमानस्थल निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी चाइना सीएएमसीईले शिलान्यासको डेढ वर्षपछि काम थालेको थियो । कोरोनाकालमा पनि निरन्तर खटिँदा ९३ प्रतिशत काम पूरा भएपछि गत चैत तेस्रो साता नेपाललाई हस्तान्तरण गरेको थियो ।

विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन् । यी जहाज २०० सिटभन्दा कम यात्रु क्षमताका हुन् । यो विमानस्थलले तीनवटा ठूला र आठवटा साना गरी ११ वटा जहाज पार्किङ गर्न सक्छ ।

विमानस्थलको धावनमार्ग दुई हजार ५०० मिटर र चौडाइ ४५ मिटर तथा धावनमार्गको मोटाइ ३४ सेन्टिमिटर छ । विमानस्थलसँग व्यस्त समयमा प्रतिघण्टा ६१० जना यात्रु व्यवस्थापनको क्षमता छ । १४ हजार वर्गमिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेको आयोजनाले बताएको छ ।

सर्‍यो ल्यान्डफिल साइट

विमानस्थलको लागि सबैभन्दा बढी समस्या बनेको ल्यान्डफिल साइट सरेको छ । विमानस्थलको साढे दुई किलोमिटर क्षेत्रभित्र पोखरा १४ स्थित बच्छेबडुवामा महानगरले फोहोर बिसर्जन गर्ने गरेको थियो । फोहोरकै कारण पक्षीको आवागमन देखिँदा त्यसले हवाई सुरक्षामा जोखिम उत्पन्न गरेको थियो । ल्यान्डफिल साइटको विकल्प नखोजेसम्म विमानस्थल सञ्चालनमा चुनौती नै देखिएपछि पोखरा महानगरले त्यहाँ फोहोर फाल्न छाडेको छ ।

त्यसको सट्टा तत्कालका लागि पोखरा ३२ स्थित लामेआहालमा फोहोर फाल्ने र पोखरा ३३, पुँटिडारको झाँक्रीखोलामा प्रशोधन केन्द्र बनाउने योजना रहेको मेयर आचार्यले जानकारी दिए । पोखरा ३३ मेयर आचार्यको आफ्नै वडा पनि हो ।

“दुई दिनभित्र ग्लोबल टेन्डर निकाल्ने तयारी छ । सबैभन्दा राम्रो प्रस्ताव जसको आउँछ, त्यो सार्वजनिक गर्छौँ,” मेयर आचार्यले भने ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, पुस १६, २०७९  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro