
काठमाडौं । छिमेकी मुलुकहरूमा कोभिड १९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गर्दा नेपाल सरकारले पटकपटक बुस्टर डोज खोप लिन आग्रह गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमणको जोखिम कायमै रहेकाले यसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डसँगै बुस्टर डोज खोप लगाउन अपिल गरिरहेको छ ।
तर, अपिल गरेअनुसार तत्काल बुस्टर डोज दिनका लागि सरकारसँग खोप भने उपलब्ध छैन । यद्यपि देशभरका कोल्ड स्टोरहरूमा ४७ लाख डोजभन्दा बढी खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ ।
एक करोड ३० लाख जनसंख्या बुस्टर डोज लगाउन बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार १२ र सोभन्दा माथिका दुई करोड २३ लाख २४ हजार ९३३ जनाले दुई डोज र दुई करोड ३२ लाख ८ हजार ४८३ जनाले पहिलो डोज खोप लगाएका छन् । तर, बुस्टर डोज खोप लगाउनेको संख्या भने ७९ लाख ७२ हजार ७९१ मात्रै रहेको छ ।
बुस्टर डोज लिनेको यो संख्या निकै न्यून भएको मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुर बताउँछन् ।
कुन खोप कति मौज्दात ?
स्वास्थ्य सेवा विभागका आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरासियाका अनुसार देशभरका कोल्चेनमा गरेर अहिले ४७ लाख ६१ हजार डोज खाप मौज्दात छ । त्यसमा साइनोभ्याक र भेरोसेल ४२ लाख ८० हजार डोज छ भने १२ वर्षमुनिका बालबालिकालाई दिनमिल्ने फाइजर खोप चार लाख ८० हजार डोज रहेको छ ।
तर, साइनोभ्याक र भेरोसेल खोप नेपालमा बुस्टर डोजका लागि दिन अनुमति नभएकाले तत्काललाई बुस्टर डोज खोप उपलब्ध नभएको चौरासिया बताउँछन् । यसअघि नेपालमा कोभिसिल्ड र एस्ट्राजेनेका खोप बुस्टरका रूपमा दिइएको थियो । हाल ठूलो मात्रामा मौज्दात रहेको भेरोसेल खोपको म्याद गुज्रिने मिति अझै एक वर्ष भएपनि दोस्रो मात्रा लगाउन थोरै जनसंख्या मात्रै बाँकी रहेको हकमा अब सो खोप के गर्ने भन्नेबारे मन्त्रालयले नै निर्णय लिनेछ ।
बुस्टरका लागि ३० लाख डोज फाइजर खोप ल्याइँदै
कोभिड १९ को संक्रमण फरक स्वरूपमा फैलिँदै गएपछि बुस्टर डोज दिनका लागि ३० लाख डोज फाइजर खोप ल्याइने भएको छ । कोभ्याक्स सुविधामार्फत नेपालले माग गरेको ९० लाख डोज भित्रैबाट सो खोप ल्याउन लागिएको चौरासियाले बताए ।
“सुरुमा १५ लाख डोज मात्रै ल्याउने तयारी भएपनि संक्रमण फैलनसक्ने जोखिमलाई ध्यानमा राख्दै एकपटकमा ३० लाख डोज ल्याउने निर्णय भएको छ । सम्भवत: यो खाोप अबको दुई साताभित्रै आइपुग्नेछ,” चौरासियाले भने ।
बुस्टरका लागि थप डाोज फाइजर पनि ल्याउने विभागको तयारी छ । तर यसलाई अल्ट्रा कोल्डचेनमा राख्नुपर्ने हुन्छ । केन्द्रीय कोल्डचेन टेकुको भण्डारण क्षमता ३० लाख डोज भएकाले एक पटकमा सो मात्रा फाइजर ल्याउन लागिएको उनले बताए ।
चौथो डोज दिने तयारी
बुस्टर डोजपछि सरकारले कोभिड १९ विरुद्धको चौथो डोज खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । परिवार कल्याण महाशाखाले चौथो डोज खोप दिने निर्णय गत कात्तिक २० गते नै गरेको थियो ।
महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार १२ वर्षमुनिका पहिलो बुस्टर डोज लगाएका नागरिकलाई सो खोप दिइनेछ । दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ वटा समूह छुट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोध क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामीहरू, गर्भवती र स्वास्थ्यकर्मीहरू रहेका छन् ।
दोस्रो बुस्टर मात्राका लागि जनवरी अन्तिममा फाइजर खोप आइपुग्ने दाहालले बताए ।
यो पनि पढ्नुहोस्
३० लाख डोज फाइजर खोप नेपाल ल्याइँदै, चौथो डोज दिने तयारी