site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
सडक दुर्घटना : चुनौती र रोकथामका उपायहरू

हालै पाल्पाको रिब्दीकोट गाउँपालिका – २ मालमुलमा ईंट्टा बोकेर गएको ट्रकले साइड दिएकै बेला जमिन भासियो र ट्रक खस्यो । चालक र सहचालक फाल हालेर बाँच्न सफल भए । प्रत्यक्षदर्शीले जमिन भासिएको र ट्रक पल्टिएको भिडियो फेसबुकमा राखेका थिए ।

तानसेन–तमघास सडकमा यसरी साइड दिँदा जमीन भासिएर सवारी साधन दुर्घटनामा परेको पटकपटक सुनिएको छ । पाल्पा–बुटवल सडकको दोभान क्षेत्रमा माथिबाट पहिरो झरेर मानिसहरूको ज्यानै जानेगरी मोटर दुर्घटनामा परेका हुन्छन् । गुडिरहेको बाहनमा ढुंगा खसेर मानिस र साधनको क्षति भएका पनि धेरै घटना छन् । पहाडी सडकहरूमा दुर्घटनाको उच्च जोखिम हुन्छ । 

दुर्घटना भन्नाले कुनै वस्तु वा मानिसलाई हानि वा क्षति हुने आकस्मिक घटना, अपर्झटको कष्टपूर्ण वा अशुभ घटना भनेर परिभाषित गरिएको छ । आकस्मिक घटना अप्रत्याशित रुपमा हुने हुनाले कारणहरू पनि सजिलोसँग पहिचान गर्न सकिँदैन । सडक विभागका इञ्जिनियर सञ्जयकुमार श्रेष्ठले सडक दुर्घटनाका कारणमा द्रूत गतिमा सवारी साधन चलाउनु, मादक पदार्थ सेवन गरेका चालक, यान्त्रिक गडबडी, बाटोको अवस्था, ड्राइभरको थकान, मौसमी अवस्था, पैदल यात्री, छाडा चौपायाजस्ता विभिन्न कारण र चालकको व्यवहार रहेको बताउनु भएको छ । उहाँका अनुसार सडक दुर्घटनाका ५० प्रतिशत घटना उपत्यकामा र आधा अन्य जिल्लामा हुने गर्छन् । त्यसतै काठमाडौंमा मोटरसाइकल दुर्घटना बढी हुने गर्छन् भने बाहिर ठूला सवारी साधन धेरै दुर्घटनामा परेका पाइन्छन् । 

KFC Island Ad
NIC Asia

चुनौतीहरू 
१. नेपालको भौगोलिक र धरातीय अवस्थाका कारण अपेक्षाकृत सजिलै सवारी दुर्घटना हुने गर्छ । सडकको सतह मिलेको छैन । उकालो र भिरालो, साँघुरो सडक दुर्घटनाका कारण हुन् । पहाडी भागमा पहिले सडक सानो भएकाले निर्बाध दोहोरो गाडी चलाउन समस्या हुन्छ । साइड नपुगेर ब्याक गर्नुपर्ने वा चालकहरूको घमण्डीपना वा सबैलाई छिटो पुग्नुपर्ने हतारोका कारण साँघुरोे बाटोमा पार हुन साइड नपुगेर ठोकिएका वा खसेका हुन्छन् । सडक चौडा गर्ना जमीनको अभाव र बजेटको समस्या देखिन्छ । तलतिर ठाउँ नभएको र माथिल्लो भागमा कडा चट्टान वा भिरालो जमिन भएको कारणले बाटो विस्तार गर्ने काम पनि चुनौतीपूर्ण हुन्छ ।

२. नेपालमा चल्ने सवारी साधनहरूको यान्त्रिक अवस्था कमजोर छ । प्रायः ग्रामीण क्षेत्रका साधनहरू दैनिकजसो ग्यारेजमा लगेर सामान्य मर्मत गरी चलाइएका हुन्छन् । इन्धनको गुणस्तर, प्राविधिकको ज्ञान, चालकको सावधानी र ज्ञान, समयसमयमा मर्मत गर्नुुपर्नेमा काम चलाउ प्रवृत्ति धेरै देखिन्छ । रोकिरहेको सवारी साधन आफैँ गुडेर दुर्घटना भएको सुनिन्छ । यसो हुनुमा पक्कै पनि यान्त्रिक समस्या हुनुपर्छ । बीचबाटोमा तेल सकियो भनेर रोकिनुपरेका घटना छन् भने अन्य यान्त्रिक अवस्थाको बारेमा सजिलै अनुमान गर्न सकिन्छ । 

Royal Enfield Island Ad

सेवाको गुणस्तरका लागि सवारी साधनको इञ्जिन, सिट आदिको राम्रो मर्मत गर्नुपर्छ । दुर्भाग्य, यहाँका बसमा राखिएका सिट कभर फोहोर हुन्छन् । सिट फोल्डिङ नहुने, किलाकाँटी बाहिर निस्केर कपडा च्यात्ने, झ्याल वा ढोका च्यातिएर यात्रीलाई घाउ पार्ने, दिनभरको यात्रामा गीत बजाउने स्पीकरसमेत नभएको धेरै उदाहरण छन् । अर्थात्, सवारी साधनको यान्त्रिक र अन्य भागको गुणस्तर कायम गर्ने चुनौती छ । जसोतसो सडकमा गुड्नसक्ने हुँदासम्म चलाउने र कहीँ ट्राफिक चेकमा पर्‍यो भने दुईचार सय घुस खुवाएर हिँड्ने चलन छ । आफ्नो साधन ठीक अवस्थामा नराख्ने र घुस खुवाएर पुरानो साधनलाई जेनतेन धकेलिरहँदा मालिक ज्यान जाने होइन, यात्रीको ज्यान जाने हो । यो लापरवाही गर्ने चलन ठूलो चुनौतीका रुपमा छ ।

३. सार्वजनिक सवारी साधन मादक पदार्थ सेवन गरी चलाउने चलन अत्यन्त कम भएको छ । यद्यपि निजी र साना सवारी साधन चलाउनेहरू भने साथीहरूको लहैलहमा परेर वा नजिकैको ट्राफिक प्रहरिले खासै रोक्दैन भन्ने हिम्मतकासाथ मादक पदार्थ सेवन गर्ने र अलि पर पुगेर दुर्घटनामा पर्ने गरेको पाइन्छ । नियम कानुन नागरिकको सुरक्षाका लागि बनाइएका हुन् । उदाहरणका लागि मादक पदार्थ सेवन गरी सवारी साधन चलाउन नपाइने नियम दुर्घटना नहोस् र चालक एवं यात्रीको यात्रा सुरक्षित रहोस् भनेर बनाइएको हो । 

त्यस्तै सवारी साधनमा ब्रेक, साइड बत्तीहरू, हर्न, एक्स्ट्रा टायर, भित्र फोहोर राख्ने बाल्टी, भाडाअनुसारका मुभी वा एसी, स्पीकर आदिको व्यवस्था हुनु जरुरी छ । यी व्यवस्थाले यात्रा सहज र सुरक्षित बनाउँछ । चालकले हातका इसाराले गाडीलाई उछिन्न दिने गरेको देखिन्छ । यी यान्त्रिक तथा व्यवस्थापकीय सुविधाको अभावमा ट्राफिक छलेर, बहाना बनाएर, घुस खुवाएर वा सम्भव भएको अवस्थामा बाटो नै फेरेर पनि गुडिरहने चलन छ । विद्यमान नियमहरूको पालना गर्ने संस्कार नहुनु ठूलो चुनौती हो । 

४. सवारी साधनको क्षमताको परिधिभित्र रहेर चलाउनुको साटो पाए जति उठाउने चलन छ । ग्रामीण भागमा चल्ने सवारी साधनमा यात्रीका अतिरिक्त बाटा र छतमा सामान भरिएको हुन्छ । अप्ठेरो बाटो, साँघुरो सिट, बाटामा समेत खुट्टा राख्ने ठाउँ हुँदैन । यसरी गाडीको क्षमताभन्दा बढी भार भएर गाडी अनियन्त्रित हुने, टायर पंक्चर हुने, सजिलोसँग मोडहरूमा नकाटिने वा ब्रेकले राम्रोसँग काम नगर्ने हुँदा पनि दुर्घटना भएको हुन्छ । दुर्घटनाग्रस्त सवारी साधनमा क्षमताभन्दा बढी यात्री वा मालसामान रहेको पटकपटक सुनिएको हुन्छ । 

त्यसैगरी सानोसानो दूरीका मानिससमेत चढाउने ओराल्ने र भाडामा किचकिच परिरहँदा यात्री र स्टाफको वीचमा विवाद भैरहेको हुन्छ । कतिपय सवारी साधन चालकका आफ्नै हुन्छन् । उनीहरू यात्रीसँगको विवादमा मुछिन्छन् । यसले गर्दा उनीहरूको मानसिक स्थिति खलबलिएको हुन्छ । यसको परिणामस्वरुप गाडी चलाउँदा ध्यान पुग्दैन र दुर्घटना हुन्छ । 

५. सडकमा रहेका छाडा चौपाया, हाँस कुखुरा, पैदल यात्री, सडकका खाल्डाखुल्डी, पानी जमेको, हिलो, चिप्लो बाटो, निर्माण सामग्री राखिनु, अर्को सवारी चालकले गति वा पार गर्ने ठाउँको सही आकलन गर्न नसक्नु जस्ता साधारण खालका गल्ती पनि दुर्घटनाका कारक बनेका छन् । ग्रामीण बजार क्षेत्रमा केटाकेटीले एक्कासि बाटो काट्ने र उनीहरूलाई बचाउन खोज्दा गाडी अनियन्त्रित भई दुर्घटना हुने गरेको पनि छ । सडकसम्बन्धी सर्वसाधारणको चेतनास्तर पनि दुर्घटनाका लागि जिम्मेवार छ ।

दुर्घटना न्यूनीकरणका उपाय

१. नेपालको भूगोलमा ध्यान दिँदा विशेषगरी पहाडी भिरालो भेगमा बाटो चौडा गर्दा पहिरोको झन बढी जोखिम हुने देखिन्छ । यसैले विभिन्न ठाउँबाट बाटो बनाई पहुँच मार्गको विविधीकरण गर्नु आवश्यक छ । उदाहरणका लागि बुटवल–पाल्पा हुँदै गुल्मी र अर्घाखाँची जाने गाडीहरूका लागि सालझण्डीदेखिको बाटो, चुरे वरपरका ढुंगा खानीका लागि चरङ्गे–झुम्सा वैकल्पिक बाटो, झडेवातिरका लागि खैरेनी–गोठादी सडक उपयोगमा ल्याउने र अन्य ठाउँका लागि पनि दस बीस किलोमिटर वरपरका सम्भावित ठाउँबाट नयाँनयाँ सडक निर्माण गर्नु आवश्यक छ । सरकारी अधिकारी र राजनीतिक नेतृत्वको हठका कारण कतिपय ठाउँमा धेरै लगानी गर्दा पनि बाटो अवस्थामा सुधार भएको छैन ।

विकल्पमा काम गर्ने हो भने विकासको विस्तारसँगै दुर्घटना र जोखिम पनि न्यूनीकरण गर्न सकिन्छ । अहिले राजमार्ग वरपर आफूलाई पायक पर्ने ठाउँबाट जबर्जस्ती बाटो खन्ने र गाउँमा पुर्‍याउने गरिएको छ । ती कच्ची स्थानीय बाटोका कारण राजमार्ग नै असुरक्षित भएका छन् । पहिरोको जोखिम बढेको छ । यो समस्याको कारण पनि राजनीतिक नेतृत्व वा जनप्रतिनिधिको अपरिपक्कता नै हो । तसर्थ सडकको जोखिम कम गर्न जनप्रतिनिधिहरूले भूमिका खेल्नुपर्छ । बाटो निर्माणको नीतिगत आधार तय भइरहेका बेला संरचनालाई कम क्षति पुग्ने गरी नयाँ संरचना बनाउनेतिर ध्यान दिनु आवश्यक छ ।

२. राजनीतिक नेतृत्व अर्थात् जनप्रतिनिधिहरूले विकास निर्माणका काममा समझदारी बनाउनु आवश्यक छ । हाकिम, सांसद वा मन्त्रीअनुसार फरकफरक प्राथमिकतामा काम हुने र अघिल्लो निर्णय कार्यान्वयनमा प्रभाव पारिने गर्नाले अहिलेसम्म ठूला परियोजनासमेत बिथोलिएका र काम ढीलासुस्ती हुने वा रोकिने अवस्था छ । यसले गर्दा चालु अवस्थाका सीमित बाटोहरूमात्र चलेका छन् । बाटो बिग्रने र सवारी साधनको चाप बढी भै सडक भत्किने र दुर्घटना बढी हुने भइरहेको छ । तसर्थ राज्यको लगानीको सही सदुपयोग र सेवा प्रभावकारिता बढाउनका लागि निर्णय गर्नुपूर्व विचार पु¥याउने र निर्णय कडाइकासाथ पालना गर्ने गर्नुपर्छ । 

३. सवारी साधनको गुणस्तर सुधार गर्नु अर्को महत्वपूर्ण उपाय हो । यसका लागि सवारी जाँचको दायरा बढाउने र कमजोरी देखिएमा गाडी ग्यारेजमा पठाई अर्को गाडीमा यात्री पठाउने गर्नुपर्छ । दुईचार सयको रसीद काटेर दुर्घटना नहुने होइन । भार बढी लिएका गाडीहरूबाट भार हटाई अर्कोे गाडी ब्यवस्था गर्न लगाउने र सिट र भारको स्वीकृती अनुसारमात्र यात्रु र भार बोक्न पाइने नियम कडाइका साथ पालना गराउनुपर्छ । 

४. गति सीमा र समय कार्डको पालना गराउनु पर्छ । कतिपय सवारी साधनले यात्रीको सातो जाने गरी कुदाउने र कुनै ठाउँमा पट्यार लागुञ्जेल विश्राम गराउने गर्छन् । हाइ वे ट्रयाकिङ र पेटोलिङ्गको बाक्लो उपस्थिति हुनु जरुरी छ । 

५. स्टाफ सचेतनाका माध्यमबाट धेरै दुर्घटना कम गर्न सकिन्छ । मापसे परीक्षणका कारण अचेल मद्यपानबाट हुने समस्या कम भएको छ । त्यसैगरी गति सीमा, गाडीको अवस्था र मर्मत, हर्न बजाउने, ब्रेक लगाउने, गति सिमा कायम गर्ने, चल्ती गाडीमा यात्रीसँग झमेला वा गफगाफमा नअल्मलिनेलगायत मसिनरी र मानवीय कार्यमा विचार पु¥याउनुपर्ने बारेमा समयसमयमा चालकहरूलाई सचेतनाका कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । 

६. ट्राफिक नियमको पालना गर्नु, यात्रा गर्दा मौसमसम्बन्धी जानकारी लिनु, यात्रामा अनावश्यक लफडा नगर्नु यात्री र चालक सबैको कर्तव्य हो । पैदल यात्रीले बाटो काट्दा दायाँबायाँ हेरेरमात्र काट्ने, जेब्रा क्रस वा आकाशे पुल भएका ठाउँमा तिनको प्रयोग गर्ने, सडकमा हाँस, कुखुरा र गाइवस्तु छाडा नछाड्ने आम मानिसहरूको कर्तव्य हो । कतिपय देशहरूमा पैदल यात्रीका लागि विशेष सुरक्षा कानून हुन्छ र चालकले परैदेखि गाडी रोकेर यात्रीलाई पार गर्न समय दिनुपर्छ भने पैदलयात्रीको अधिकार क्षेत्र अनुसार कतिपय ठाउँमा गाडीले यात्री वा पशुपंक्षीलाई ठक्कर दिंदा कानुनी सजाय नहुने र पैदल यात्री र पशुपंक्षी मालिक स्वयम् नै जवाफदेही हुने व्यवस्था पनि छ । तसर्थ सडक दुर्घटनासम्बन्धी ज्ञान र सकारात्मक सहयोगको कर्तव्य सर्वसाधारणको पनि हो ।  

निष्कर्षः
आकस्मिक यान्त्रिक खराबीका कारण सडक दुर्घटना हुनसक्छ तर धेरै दुर्घटना बाटो र गाडीको अवस्था र मानवीय त्रुटिका कारण हुनेगरेका छन् । आकस्मिकरुपमा आएको यान्त्रिक गडबडीका कारण हुने दुर्घटनालाई रोक्न नसकिएला तर मानवीय त्रुटिलाई न्यून गर्न सकियो भने सडक दुर्घटनालाई धेरै मात्रामा कम गर्न सकिन्छ । अर्थात्, मानिसले सतर्कता अपनाउने, सचेतना बढाउने र नियमहरूको पालना गर्ने गरेमा दुर्घटना कम हुनेछ ।       


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  ०८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro