जनकपुरधाम । मधेस प्रदेशमा प्रत्येक वर्ष १२ लाख मेट्रिक टनभन्दा बढी धान उत्पादन भइरहेको छ । नेपालमा हुने कूल उत्पादनको करिब ३० प्रतिशत धान मधेसमै फल्छ । तर, सरकारले मधेस प्रदेशमा मात्रै ५२ हजार क्विन्टल धान खरिद गर्ने गरेको छ । बाँकी धान किसानले सस्तोमा व्यापारीलाई बिक्री गर्ने गरेका छन् ।
हर्दिनाथ धान बाली अनुसन्धान केन्द्रका निर्देशक डा. रामवरण यादवले गत वर्ष १२ लाख ७५ हजार ५५५ मेट्रिक टन धान मधेसमा उत्पादन भएको बताए । यसपालि पनि सोही हराहारीमा उत्पादन भएको उनको भनाइ छ ।
तर, सरकारले धान खरिदको जिम्मेवारी दिएका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानको धान खरिदमा कन्जुस्याइँ गरेको देखिन्छ । देशमा करिब ५६ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । जसमध्ये १२ लाख ७५ हजार मेट्रिक टन धान मधेसमा उत्पादन हुने गरेको डा. यादवले जानकारी दिए ।
धान खरिदको लागि मधेस प्रदेशमा तीनवटा संस्था राखिएको छ । लहान, वीरगञ्ज र जनकपुरधाममा राखिएको यी तीनै संस्थाले ५२ हजार क्विन्टल धान खरिद गर्ने गरेका छन् ।
लहान र वीरगञ्जले १७/१७ हजार क्विन्टल र जनकपुरधामको कार्यालयले १८ हजार क्विन्टल खरिद गर्ने गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जनकपुरधामका प्रमुख उपेन्द्र लिम्बुले जानकारी दिए । सरकारले खरिद गरेको धान चामल बनाएर कारागार तथा सरकारी संस्थाहरुमा जाने गरेका छन् ।
‘कार्यान्वयनमा जोड दिनुपर्छ’
प्रदेश नीति आयोगका उपाध्यक्ष भोगेन्द्र झाले कम मात्रामा धान खरिद हुनुमा नीति कार्यान्वयनमा प्रश्न उठाए । सरकारले खरिद गरेको धान निर्यात नहुनु र देशमै खपत गर्ने कानुन अभाव रहेको बताए ।
“सप्लाई सिस्टम मजबुत बनाउनु पर्छ । त्यसको लागि सरकारसँग पनि स्रोतसाधन अभाव छ,” उनले भने, “सबैभन्दा बढी भएको नीति निर्माण कार्यान्वयन पक्ष कमजोर छ । यसलाई बलियो बनाउनु पर्छ ।”
उत्पादन भएको सबै धान सरकारले खरिद गर्न सक्ने सरकारको सामथ्र्य पनि नरहेको उनले बताए । उनका अनुसार देश आर्थिक संकटमै रहेको हुनाले उत्पादित सबै धान खरिद गर्न सक्दैनन् । तर, सरकारले किसानको उचित मूल्य दिनलाई नीजि संस्थालाई पत्राचार गर्न सक्छन् । नियम बनाउन र लागु गराउन सक्छन् ।
सरकारले सर्मथन मूल्य तोक्न पनि ढिलाइ गरेको कारण लक्ष्यअनुसार धान सरकारले खरिद गर्न नसकेको उनले बताए । “नीजि संस्थाले खरिद गर्ने विषयमा संस्थागत व्यवस्था भए हुनुपर्छ,” उनले भने, “सरकारले राम्रो गर्ने प्रयास गरेका छन् । तर, विभिन्न कारणले त्यो कार्यान्वयन नभएको देखिन्छ ।”
किन उत्पादन कम हुन्छ ?
डा. यादवका अनुसार धानखेतमा भइरहेको विषादी प्रयोगले पनि उत्पादन कम हुने गरेको छ । “लामो समय खडेरी भएपछि धानखेतमा घाँस बढ्न थाल्छ,” उनले भने, “घाँस हातले हटाउनुको साटो किसानले विषादी प्रयोग गर्छन् । र, विषादी प्रयोगले उत्पादकत्वमा कमी आउँछ ।”
मुख्यतः रासायनिक मलको अभाव, अनियमित सिँचाइ, रोगकीराको प्रकोपलगायत कारण उत्पादकत्व घट्ने उनले बताए । तर, पछिल्लो समय अत्यधिक विषादी प्रयोगले उत्पादनमा कमी आएको उनको भनाइ छ । अत्यधिक विषादीको प्रयोगले माटोमा अम्लीयपन बढेपछि उत्पादकत्वमा ह्रास आउँछ ।
मधेसमा कुल खेती योग्य जमिनको करिब ३० प्रतिशतमा मात्रै सिँचाइ रहेको र बाँकी जमिनमा अकासे वर्षाको भरमा खेती हुने गरेको उनले बताए । तर, सरकारले ७० प्रतिशतमा सिँचाइ गरिएको झुटो दाबी गर्ने गरेको उनले बताए । मुख्यतः पानी, मल अभावमा उत्पादनमा प्रत्येक वर्ष कमी आएको छ । यस वर्ष गत वर्षभन्दा उत्पादन करिब १० प्रतिशतले कमी हुने उनको अनुमान छ ।
“धानलाई रासायनिक मल आवश्यक पर्छ । तर, उचित मात्रामा प्रयोग भइरहेको पाइएन,” उनले भने, “किसानले खेतमा आवश्यकताभन्दा बढी मलखाद प्रयोग गरिरहेको छ । जसले बालीलाई तत्काललाई फाइदा गरेको देखिए पनि दीर्घकालमा ठूलो असर गर्छ ।”
एक कठ्ठा धानखेतमा ६ किलो युरिया र एक किलो पोटास छर्नुपर्नेमा धान चाँडै बढ्ने र बाला लाग्ने लोभमा किसानले मलको दोब्बर प्रयोग गर्दा उत्पादन कम हुने गरेको उनको विश्लेषण छ । यस्तै, एकै जातको धानबाली निरन्तर लगाउने, खडेरी, बाढीको डुबान र बाला लाग्ने बेला सिँचाइ अभावले पनि धानको उत्पादन घट्ने गरेको उनले बताए ।
धनुषा प्रदेशकै अब्बल
मधेस प्रदेशको सबैभन्दा बढी धान उत्पादन धनुषामा हुँदै आएको छ । गएको वर्ष धनुषामा प्रतिहेक्टर चार मेट्रिक टन धान उत्पादन भएको थियो । गतवर्ष चैते र असारे गरी जिल्लामा करिब ६५ हजार हेक्टर क्षेत्रफलमा धानखेती भएको थियो ।
यस्तै, करिब ६३ हजार १०० हेक्टर क्षेत्रफलमा असारे धानखेती गरिएकोमा गतवर्ष दुई लाख ५१ हजार टन धान उत्पादन भएको थियो ।
“अन्य जिल्लाको तुलनामा धनुषामा सिँचाइको उपलब्धता पनि बढी भएको छ । धानखेतीका लागि उर्वर भूमि पनि छ,” यादवले भने, “सीमा नाकासँग जोडिएको हुनाले जिल्लामा मल अभाव हुने बित्तिकै भारतबाट ल्याएर किसानले समयमै मल छर्छन् ।”
धनुषामा कमला, नक्टाझिज र सिर्सिया गरी तीनओटा सिँचाइ आयोजना सञ्चालनमा छन् । अन्य जिल्लामा प्रतिहेक्टर तीन दशमलव पाँच मेट्रिक टन धान उत्पादन भए पनि धनुषामा भने कम्तिमा तीन दशमलव सात मेट्रिक टन उत्पादन हुन्छ ।