site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
साना व्यवसायीलाई विकल्प दिँदैन, लखेट्छ मात्रै !
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंका फुटपाथमा व्यापार गर्नेहरु महानगरका मेयर बालेन्द्र शाह (बालेन) नेतृत्वसँग प्रतिरोध गरिरहेका छन् । 

‘सहरका गरिबलाई उठिबास लगाउन खोजिएको’ भन्दै विकल्पको खोजीमा साना सडक व्यापारी छन् । 

तर महानगर भने व्यापारीमाथि झनै आक्रामक बन्दै गएको देखिन्छ । 

Prabhu Bank
Agni Group
NIC Asia

यसका लागि महानगरले १६२ जना थप नगरप्रहरी भर्ना गरेरै चोक–चोकमा खटाउन थालिएको छ । 

हाल फुटपाथ व्यापारीलाई व्यवस्थापन गर्नुको साटो जबरजस्त गाडा खोस्ने, दुर्व्यवहार गर्नेलगायतका गतिविधिमा महानगर अग्रसर देखिन्छ । 

Global Ime bank

महानगरका नगरप्रहरी आफ्नो गाडीमा नभइ ट्याम्पो तथा सार्वजनिक यातायात चढेर छापामार शैलीमा फुटपाथमा ठेला तथा साइकल जफत गर्न पुग्छन् । 

केही दिनपहिले ठेलासहित भाग्दै गरेकी अन्दाजी ५५–६० वर्षीया एक महिलाको ठेला नगरप्रहरीले लखेटी–लखेटी खोस्यो । 

ती महिलाले रुदै अनुनय–विनय गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बन्यो ।

उक्त भिडियोमा उनले ठेला खोस्दै गरेको नगरप्रहरीलाई भनेकी छिन, “नानी मेरो दुःख गरी खाने भाडो यही हो । नलैजानुस् न । मेरो कोही छैन, केही छैन । ठेला लैजाने भए छोराछोरी र मलाई पनि लैजाउ । गरिखाने भाँडो नै लिए पछि के खाएर बाँच्ने ? गरिबको यति लगेर तपाईँहरुलाई कति चाँही पुग्छ र ?” 

काठमाडौं महानगरले फुटपाथ व्यापारीमाथि गरेको जबरजस्ती शैली पहिलो भने होइन । 

गत असार १७ गते बालुवाटरमा मकै बेच्दै आएको चेतेन्द्र दम्पतीमाथि पनि त्यसै गरी जबरजस्त बल प्रयोग गर्यो । 

नगरप्रहरी टोलीले मकैसहितको ठेला जफत गर्यो । 

त्यतिबेला मेयर बालेनको चर्को आलोचना हुँदा अधिकांशले तत्कालीन नगरप्रहरी प्रमुख धनपति सापकोटाका कारण बालेनले गाली खानुपरेको आरोप लगाए । 

त्यसपछि बालेनले सापकोटालाई हटाएर नगरप्रहरी प्रमुखमा एसपी राजुनाथ पाण्डेलाई नियुक्त गरे । 

एसपी पाण्डे नेतृत्वले नै गत असोज अन्तिम साता थापाथली क्षेत्रबाट पानीपुरी र चटपटे बेच्दै गरेको एउटा ठेलागाडा उठायो । सो ठेलागाडा थियो लमजुङकी ३४ वर्र्षीया शर्मिला तामाङको । 

त्यसपछि जफत भएको ठेला फिर्ता लिन शर्मिला पनि अनुनय–विनय गर्दै महानगर कार्यालयसम्मै पुगिन । 

शर्मिलाको सो दृश्य सामाजिक सञ्जालमा निकै भाइरल बन्यो । 

शर्मिलाले दायाँ हात भाँचिएर स्टिल हालेकाले उपचार गर्न स्टिल झिक्न र घर परिवार पाल्नका लागि फुठपाथ व्यापार गर्न बाध्य रहेको बताएकी थिइन् ।  

उनको ठेला विदेशमा बस्ने नेपालीको सहयोगमा प्राप्त भएको थियो ।  शर्मिलाको  ठेला फिर्ता माग्न गरेको अनुनय–विनयपछि केही मनकारीले सहयोग रकम जुटाए । 

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पनि आफ्नो एक महिनाको तलब शर्मिलालाई दिने घोषणा गरे । 

“महानगरले कैयौँ फुटपाथ व्यापारीको बाध्यता नबुझेर बल प्रयोगको बाटो मात्रै रोज्दै आएको छ । कुनै विकल्प दिन सकेको छैन । महानगर भने नियमको पालना गरेको भन्दै गौरव ठान्छ । महानगरको यस्तो रवैयाका कारण कैयौँ फुटपाथ व्यापारीको गरिखाने भाँडो नै गुम्छ,” एक व्यापारीले भने । 

फुटपाथ व्यापारीमाथि नगरप्रहरीको दुर्व्यवहार गर्ने घटना सामान्य जस्तै नै बनिसकेको छ । 

थापाथलीस्थित फुटपाथमा व्यापार गर्ने ६० वर्षीय तेजबहादुर तामाङ र सीता लामा दम्पतीको फुटपाथ व्यापार कैयौँ पटक नगरप्रहरीले जफत गरिसकेको छ । 

कतिबेला नगरप्रहरी आएर लेखेट्ने हुन उनीहरुलाई पत्तै हुँदैन । कनै विकल्प नहुँदा अहिले पनि सोही ठाउँमा व्यापार गर्न बाध्य छन् । 

दिनभर फुटपाथमा व्यापार गरी दैनिकी धान्ने व्यापारीहरु नगरप्रहरीबाट सुविधा र सहजीकरणको साटोे सास्ती खेप्न बाध्य छन् । नगरप्रहरीको निर्मम र धम्क्याउने शैली जस्ता गतिविधिहरुबाट फुटपाथ व्यापारी आक्रान्त छन् । 

महानगरले जफत गरेको सामान फिर्ता दिँदैन लिलाम गर्छ । तत्कालीन मेयर विद्यासुन्दर शाक्यले २०७४ मा कार्यपालिका बैठकबाट फुटपाथ र सडबाट जफत भएका सामान फिर्ता नदिने निर्णय गरेका थिए । 

स्थानीय तहको चुनावअघि काठमाडौंभित्रका फुटपाथ व्यापारीलाई खालि ठाउँ छुट्याएर व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका थिए । 

तर अहिले आफ्नै प्रतिवद्धता बिर्सिका छन् । यसबारे उनले कुनै पनि नयाँ कार्ययोजना नै बनाएका छैनन् ।  नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार महानगरले फुटपाथ व्यापारीलाई प्रोत्साहन गर्दैन । 

सडक पेटीमा फुटपाथ व्यापार राख्न नदिने काम भइरहेको बताए ।  “सडकपेटीमा व्यापार गर्न पाइँदैन । दिन्नौँ । नगरप्रहरी टोलीले काम गरिरहेको छ,” एसपी पाण्डेले भने । 

फुटपाथ व्यापार हटाएकै कारण नयाँ बानेश्वर, न्युरोड, रत्नपार्क, गौशलालगायतका सडक खाली हुन थालेको एसपी पाण्डेले बताए । अहिले पैदलयात्रुका लागि धेरै सहज र फुटपाथ सफा देखिन थालेको पनि उनले बताए । 

फुटपाथ व्यवस्थापन भन्दा पनि जबरजस्ती तरिकाले जफत गर्ने र बल प्रयोग गरेर मात्र सडक किनारा खाली गर्ने लक्ष्य लिएको महानगरले जनाएको छ । 

केही महिना पहिले नयाँ बानेश्वर क्षेत्रका सटर व्यापारीसँगको समन्यवमा महानगरले फुटपाथ खाली गराएको थियो । 

महानगर आन्तरिक प्रशासन तथा जरिवाना इकाइका प्रमुख नगरप्रहरी निरिक्षक राजन कुमार कार्कीका अनुसार साढे तीन महिनामा मात्रै ४०२ जना सर्वसाधारणका साइकल र ठेलागाडा जफत गरिएको छ । 

जसमध्ये १४३ ठेलागाडा र २५९ वटा साइकल हुन् ।  आर्थिक वर्ष ०७९–८० मा मात्रै ३४२ जना व्यापारी महानगरको कारवाहीमा परेका छन् । 

उनीहरुलाई जरिवाना तिराएर कुहिने सड्ने र गल्ने सामान (फलफुल, तरकारी, कपडा) फिर्ता दिएको कार्कीले बताए । 

२ लाख ९१ हजार ९०० जरिवाना संकलन भएको विभागले जनाएको छ । 

जरिवाना रकम साउनमा ३१ हजार ९००, भदौमा ८६ हजार ८००, असोजमा १ लाख १५ हजार ४०० र कात्तिकमा ५७ हजार ८०० रहेको छ । 

उनका अनुसार अघिल्लो आर्थिक वर्षमा महानगरले दुई किस्ता गरी ३१८ गाडा र ३५८ वटा साइकल लिलाम गरेको कार्कीले बताए । 

आर्थिक वर्षमा जफत भएका साइकल र गाडा अर्को महिनासम्म लिलाम विभागले जनाएको छ । लिलाम गरिएको रकम महानगरले राजस्वमा जम्मा गर्ने गरेको छ । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १०:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement