चुनावी परिणामले त्रिशंकु संसद् दिएसँगै सरकार बनाउन विभिन्न प्रयास भइरहेका छन् । सरकार बनाउने जनादेश न त नेकपा (एमाले)ले प्रायो न त पाँच दलीय गठबन्धनले नै । संसद्मा बहुमत नपुग्ने भएपछि गठबन्धनले सिके राउत नेतृत्वको जनमत पार्टीको समर्थनमा सरकार बनाउन खोजिरहेको छ । यसैबेला एमालेले पनि सरकार बनाउने प्रयास गरिरहेको समाचार छ । यस लेखमा एमाले सरकारमा अहिले किन जानुहुँदैन र आगामी दिनमा मुलुक र पार्टी दुवैको हितको लागि कुन बाटो पहिल्याउनुपर्छ भनेर चर्चा गर्ने प्रयास गरिएको छ ।
सरकारमा जाने कि नजाने भनेर चर्चा गर्नुअघि सरकारमा किन जाने भनेर विचार गर्न आवश्यक छ । सामान्यतः कुनै पार्टी सरकारमा जाने जनता र मुलुकको हितमा आफूले घोषणापत्रमा वाचा गरेका काम गर्नका लागि हो । अब अहिलेको परिस्थितिमा एमाले सरकारमा गएर जनतासँग गरिएका वाचालाई मूर्तरुप दिनसक्छ त ?
चुनावपछिको संसदीय अंकगणितअनुसार एमालेले नेपाली कांग्रेसबाहेक अरु थप एक वा दुई दलसँगमात्र मिलेर सरकार बनाउन सक्ने देखिँदैन । धेरै दल मिलाएर बनाएको सरकारले ‘डेलिभरी’ गर्न पनि धेरै गाह्रो हुन्छ । एकातिर प्रधानमन्त्रीलार्ई देश बनाउनभन्दा आफ्नो सरकार टिकाउनमै बढी समय र ऊर्जा लगाउनुपर्ने हुन्छ भने अर्कोतिर धेरैको गठजोडले बनेको कमजोर सरकारले नेपालजस्तो संवेदनशील भूअवस्थितिमा रहेको मुलुकको राष्ट्रिय स्वार्थको संरक्षण गर्न सक्दैन ।
प्रतिपक्षमा बस्नुपर्छ भन्दा कतिपयले पार्टी सरकारमा नगए जनमत घट्छ भन्छन् । विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि निरन्तर सरकारमा रहेको नेकपा (माओवादी केन्द्र)को ओरालो यात्राबाट स्पष्ट हुन्छ सरकारमा बसेरमात्र जनमत बढाउन सकिँदो रहेनछ । यसविपरीत जनताको आकांक्षालाई सम्बोधन गर्न नसक्ने तर सरकारमा जुका जसरी टाँसिने प्रवृत्तिले जनमत ह्वात्तै घटाइदिन्छ ।
तसर्थ विकासलाई गति दिन नसकिने, सरकार टिकाउनकै लागि विभिन्न स्वार्थ समूहहरुको अनुचित मागलाई सम्बोधन गर्नुपर्ने, अन्तर्राष्ट्रिय शक्तिहरुसामु राष्ट्रिय स्वार्थको पक्षमा स्पष्ट अडान लिन नसक्ने सरकार बनाउनुभन्दा त प्रतिपक्षमा बसेर जनता र राष्ट्रको पक्षमा आवाज बुलन्द पार्नु बढी वाञ्छनीय हुन्छ । प्रतिपक्षमा बसेको एमालेले आगामी चुनाव अघिसम्म आफ्नो संगठनलाई पुनः जागृत, पुनःप्रशिक्षित र पुनःसंगठित गर्न समय र ऊर्जा लगाउनुपर्छ ।
संविधान घोषणापश्चात नाकाबन्दीबीच बनेको केपी ओली नेतृत्वको एमाले सरकारले पार्टीका नेता कार्यकर्तामात्र होइन नेपाली जनतामा नै अपूर्व जागरण ल्याएको थियो । ओलीकै शब्दमा भन्नुपर्दा लामो समयपछि नेपाली जनताका मूच्र्छाबाट जागेका थिए ।
त्यसैको जगमा बनेको वाम गठबन्धनले लगभग दुईतिहाइ बहुमत हासिल गरेर नेपाललाई समृद्धिको यात्रामा अघि बढाउने अवसर प्राप्त गरेको थियो । दुर्भाग्य, त्यो जनमत खण्डित हुनपुग्यो र आज देशले त्रिशंकु संसद्को बोझ बोक्नुपरेको छ ।
यसपटक व्यापक प्रतिकूलताबीच चुनावमा होमिएको नेकपा (एमाले) धेरैको अनुमानविपरीत समानुपातिकमा पहिलो दल भएको छ भने प्रत्यक्षमा पनि कांग्रेसभन्दा जम्मा १३ सिटमात्र कम जितेको छ । यसले नेपाली जनतामा एमालेप्रति ठूलो आकर्षण र भरोसा रहेको पुष्टि गर्छ । तर, यो जनमत सरकार बनाउन अपर्याप्त छ ।
तसर्थ, अब नेकपा (एमाले)ले प्रतिपक्षमा बसेर पुनः एकपटक नेपाली जनता र नेता कार्यकर्तामा राष्ट्रको समृद्धि तथा जनताको सुखको लागि जागरण ल्याउन आवश्यक छ । अतः जनसाधारणका आकांक्षालाई हासिल गर्ने स्पष्ट मार्गचित्रसहित मुलुकले विगतमा छिचोलेका कठिनाइहरु र आगामी दिनका चुनौती एवं अवसरबारे गम्भीर विमर्श गर्नु आवश्यक देखिन्छ ।
तीव्र गतिमा बदलिँदो नेपाली समाजको आकांक्षालाई आत्मसात गर्नसक्ने र त्यो भावनालाई सम्बोधन गर्नेगरी नेतृत्व गर्नसक्ने पार्टीपंक्ति निर्माण गर्न लाग्नुपर्छ । यसका लागि एमालेमा पुनर्जागरण अनिवार्य छ जसको सुरुवात लामो समयदेखि स्थगित झैं रहेको प्रशिक्षणको व्यापक संचालनबाट गर्न सकिन्छ ।
एमालेका अध्यक्ष केपी ओलीको शब्दमा अहिलेको एमाले माओवादीसँगको एकताअघिको पुरानो एमाले हाइन । यो त दुई पार्टीको एकतापश्चात बनेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निरन्तरता हो । वास्तवमा एमाले र नेकपा (माओवादी केन्द्र) को एकताअघिको एमाले र अहिलेको एमालेमा धेरै अन्तर छ ।
अहिलेको एमाले नेकपाको एकता भङ्ग भएपछि पुनःस्थापित एमालेमात्र नभएर माओवादी परित्याग गरेर एमालेमै बसेको नेता रामबहादुर थापा ‘बादल’लगायतको समूह र अन्य थुप्रै नवप्रवेशी समूहहरुको सम्मिश्रणबाट बनेको छ ।
यसरी विभिन्न समूहबाट आएका नेताकार्यकर्ताले सँगै बसेर विचार विमर्श गर्ने र प्रशिक्षित हुने अवसर प्राप्त गरेका छैनन् ।
पछिल्ला केही वर्ष एमालेको पार्टी जीवनमा भएका केही ठूला परिघटना र त्यसलगत्तै विभिन्न चुनावमा पार्टी होमिनुपरेकाले नेता कार्यकर्ताले अपेक्षित प्रशिक्षण प्राप्त गर्नसकेका छैनन् । पार्टीलाई सामान्य जनताका विभिन्न समूहसँग जोड्न महत्त्वपूर्ण भूमिका खेल्ने सबैजसो भातृ संगठनको स्थिति पनि यस्तै छ ।
आवश्यक प्रशिक्षण प्राप्त नगरेका कम्युनिस्ट नेता कार्यकर्ता पार्टीको विचार र आदर्शलाई अवलम्बन गर्दै पार्टीलाई जनस्तरमा विस्तार गर्ने कार्यमा खरो उत्रन सक्दैनन् । तसर्थ, अब पार्टीले अनिवार्यरुपमा सबै नेता कार्यकर्तालाई पार्टीको आधारभूत सिद्धान्त, विचार, राजनीति, संगठन, इतिहास, तत्कालीन र दीर्घकालीन कार्यक्रम, कार्यशैली, जनजीविकासँग सम्बन्धित सबाललगायतमा नियमितरुपमा प्रशिक्षित गर्नुपर्छ । यसरी प्रशिक्षणबाट खारिएर आएका नेता कार्यकर्ताले मात्र पार्टी संगठनलाई नयाँ रक्तसञ्चार गर्नेछन् ।
नेपालमा सबैभन्दा व्यवस्थित र गतिशील संगठन भएको पार्टी भनेर एमालेको प्रशंसा हुनेगरेको छ । तर, पार्टीका महत्त्वपूर्ण भातृसंगठनहरु राष्ट्रिय युवा संघ नेपाल, अनेरास्ववियुलगायतमा आन्तरिक चुनाव र महाधिवेशन नभएको वर्षौँ भयो । लामो समयदेखि विनामहाधिवेशन चलिरहेका यस्ता संगठनमा अधिवेशन गराउनुपर्ने दायित्व छ ।
यस्तै दरिलो संगठन भए पनि आन्तरिक गुटबन्दी र नेताहरुका निजी स्वार्थका कारण पार्टी कतिपय ठाउँमा चुनाव हार्न पुग्यो । आगामी चुनावमा बहुमत प्राप्त गर्दै देशलाई विकास र समृद्धिको बाटोमा डोर््याउन यस्ता गतिविधि हानिकारक हुन्छन् । तसर्थ पार्टी संगठनमा रहेका आन्तरिक समस्यालाई समाधान गर्दै पार्टीलाई पुनः संगठित गर्नु आवश्यक छ ।
विगतमा भएका गल्तीकमजोरीको वस्तुनिष्ठ समीक्षा, वर्तमान अवस्थाको यथार्थपरक विश्लेषण र भविष्यको महत्त्वाकांक्षी तयारीसहित एमाले अघि बढ्नुपर्छ । अर्थात्, धेरैभन्दा धेरैलाई सदस्यता बाँड्नेमात्र होइन हरेक सदस्यलाई पार्टीसँग मन, वचन र कर्मले गोलबद्ध गर्ने हो । यसरीमात्र वास्तविक अर्थमा एमाले पुनःसंगठित हुँदै एकताबद्ध हुनसक्छ । यसरी नयाँ जागरणबाट जागृत हुँदै ताजा प्रशिक्षणबाट सुसज्जित भएर पुनःसंगठित भएको एमालेले समृद्धि र सुशासनको मृगतृष्णाले व्याकुल नेपाली समाजको आकांक्षालाई वास्तविक अर्थमा बोक्ने सामथ्र्य राख्नेछ ।
पुराना पार्टीबाट विरक्त जनमत पनि यसरी नयाँ स्वरुप र ऊर्जासहित आएको नेकपा (एमाले)प्रति आर्कषित हुनेछ ।
नेपाली जनताको भावना र सपनालाई वचन र कर्मले सम्बोधन गर्नसक्ने पार्टी निर्माण गर्न सकिएमा आगामी सबै तहका चुनावमा एमालेले सानदार विजय हासिल गर्नेछ र शक्तिशाली जनादेशसहित देशलाई समृद्धिको बाटोमा लैजाने अवसर प्राप्त गर्नेछ ।
(एमाले निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य)