site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राज्यको संयन्त्र शिथिल र अनुत्तरदायी बन्यो पनि कुशासनको थालनी हुन्छ । राजनीतिक संरक्षणका कारण ज्यान मुद्दाका फरार अभियुक्तलाई तक्मा दिने सिफारिस यस्तै कुशासनको उदाहरण हो । 

सुरक्षाकर्मीको हत्याको अभियोग लागेका फरार अभियुक्तलाई महोत्तरी जिल्ला प्रशासनले विभूषण दिने सिफारिस गरेछ । तालुक अड्डा गृह मन्त्रालयले पनि व्यक्तिको पृष्ठभूमि छानबिनै नगरी जिल्ला प्रशासनको सिफारिस सदर गरेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

विभूषण समिति र जिल्ला प्रशासनको गैरजिम्मेवार निर्णयले हत्याको अभियोग लागेको फरार अपराधीलाई राज्यले विभूषित गर्ने घोषणा भयो । विडम्बना, तिनै फरार अपराधी नेकपा (एमाले)का तर्फबाट प्रतिनिधि सभामा निर्वाचित भए ।
 
घाइते सुरक्षाकर्मीलाई अस्पताल लैजाँदै गरेको एम्बुलेन्सबाट थुतेर कुटपिट गरी मारिएको मारिएको थियो । अहिले प्रतिनिधि सभामा एमालेका तर्फबाट निर्वाचित ती व्यक्तिमाथि हत्याको योजना बनाएको अभियोगमा मुद्दा चलाइएको छ ।

विभूषण सिफारिस हुनेबेलामा जनता समाजवादी पार्टीका नेता रहेका यी फरार अपराधी चुनावमा एमाले प्रवेश गरे । एमालेले उनलाई पार्टीमा प्रवेश गर्नेबित्तिकै उमेदवार बनाएर चुनाव जितायो ।
 
फरार अपराधीलाई विभूषण सिफारिस गर्ने प्रमुख जिल्ला अधिकारी र छानबिन गर्नुपर्ने दायित्व पूरा नगर्ने गृह मन्त्रालयका सम्बन्धित अधिकारी चरम गैरजिम्मेवार हुन् । यस्तै, एमालेले गरेको उमेदवार बनाउने निर्णय पनि अनैतिक र अनुत्तरदायी हो ।
 
फरार अभियुक्तलाई विभूषण दिने निर्णय सरकारले तत्काल फिर्ता लिनुपर्छ । सरकारले फिर्ता नलिए राष्ट्रपतिको कार्यालयले सरकारलाई निर्देश दिनु उचित हुनेछ । अन्यथा, प्रतिनिधि सभामा निर्वाचित एमालेका नेतालाई जोगाउन खोजिएको लाञ्छना राष्ट्रपतिमाथि पनि लाग्नेछ ।  
 
प्रतिनिधि सभामा निर्वाचित भए पनि निज फरार अभियुक्त संसद्को शपथ ग्रहणमै उपस्थित हुन सक्तैनन् । त्यसभन्दा पहिले उनले राज्यसमक्ष आत्मसमर्पण गरे प्रहरीले पक्रेर थुनामा राख्नेछ । अर्थात्, निजको विजय थानगन्तीमै सीमित हुनेछ ।
 
अस्पताल जाँदै गरेको एम्बुलेन्सबाट झिकेर घाइते सुरक्षाकर्मीलाई मारेको अभियोग लागेका फरार अभियुक्तलाई उमेदवार बनाउनु पनि यथार्थमा राजनीतिक अपराध हो । एमालेले मानवता विरोधी अपराधका अभियुक्तलाई प्रतिनिधि बनाएर नेपाली जनतालाई नै हेपेको हो ।
 
राजनीतिक दलका रूपमा एमाले यस प्रकरणमा कलङ्कित भएको छ । जनतासँग सार्वजनिकरूपमा माफी मागेर र आत्मालोचना गरेर एमालेले आफूमाथि लागेको कलङ्क पखाल्न सक्छ । नभए जनताले नै उचित समयमा यसको सजाय दिने नै छन् ।
 
गृह मन्त्रालयको निर्णयलाई असावधानी र हेलचेक्य्राइँ अर्थात् मानवीय गल्ती माने पनि फरार अपराधीलाई विभूषण सिफारिस गर्ने व्यक्तिको नियतमै खोट देखिन्छ । यसैले सम्बन्धित कर्मचारीमाथि पनि कानुनबमोजिम कारबाही हुनुपर्छ । अन्यथा, प्रशासन र राजनीतिक दल मिलेर अपराधीलाई उन्मुक्ति दिएको ठहरिनेछ । 
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १३:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC