निर्वाचनको पूरै परिणाम आधिकारिकरूपमा सार्वजनिक हुन अझै केही साता लागे पनि प्रतिनिधि सभा र प्रदेश सभाको चित्र भने लगभग स्पष्ट भइसकेको छ । कुनै दलले कतै पनि स्पष्ट बहुमत ल्याउन सकेनन् ।
यस अवस्थामा सरकार बनाउन दुई वा सोभन्दा बढी दलको गठबन्धन बन्ने वा बनाउने नै हो । यस अवस्थामा नेपाली कांग्रेस र नेकपा (एमाले( मध्ये एउटा दलको नेतृत्वमा गठबन्धन बन्नु स्वाभाविक देखिन्छ । यद्यपि, राजनीतिक दाउपेचमा अरू दलका नेताको नेतृत्वमा पनि सरकार बने अनौठो हुनेछैन ।
सत्तारूढ गठबन्धनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय सम्भवतः स्वाभाविक बाटो हो । निर्वाचनपूर्वको गठबन्धनले सामान्य बहुमत पाएका अवस्थामा त्यसको सम्मान गर्नु राजनीतिक नेतृत्वको नैतिक इमानदारी पनि हो ।
नेपालका राजनीतिक दलका नेताहरू विशेषगरी सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्षको निकट अतीतले भने सत्ता राजनीति कुनै पनि बेला कोल्टो फर्कि्यो भने आश्चर्य हुँदैन । विगतमा धेरैपटक यस्तो देखिएको पनि हो ।
गठबन्धन वा समीकरण बदलिँदैमा राजनीतिक अस्थिरता हुने पनि होइन । तर, सत्ताका लागि समीकरण बनाउँदा वा भत्काउँदा गलत र अनैतिक उपाय भने अपनाइनु हुँदैन । अहिले चिन्ता लिनुपर्ने मूल विषय सम्भवतः यही हो ।
सरकार बनाउँदा सहयोग गर्नेहरूले सरकारमा भाग खोज्नु पनि स्वाभाविकै हो । परन्तु, त्यही चक्करमा सामान्य आर्थिक जानकारी पनि नभएकाहरू अर्थमन्त्री बनाइँदा देशको अर्थतन्त्र नै सङ्कटमा परेको उदाहरण ताजा नै छ ।
यसैले अब सरकार बनाउन गरिने छलफल जनताले खोजेकाेजस्तो प्रधानमन्त्री छान्नमा केन्द्रित होस् । सरकारमा जाने व्यक्ति सम्बन्धित दलले छाने पनि संसदीय परम्परा र मर्यादाअनुरूप मन्त्रालय वितरण गर्ने प्रधानमन्त्रीलाई जिम्मेवारी र स्वतन्त्रता दिएर संसदीय राजनीतिक संस्कार देखाइयोस् ।
प्रधानमन्त्री हुने व्यक्तिले पनि सरकार नबन्दै छवि धमिलो हुनेगरी लेनदेन गरेको देखियो भने अस्थिरताको आरम्भ त्यही क्षणबाट हुन्छ । ‘नीलकण्ठ’ हुने रहर नभए कसैले पनि सत्ताका लागि राजनीतिक नैतिकता धरापमा पार्नु हुँदैन ।
मध्यरातमा कुनै अँध्यारो खोपीमा तय गरिने गठबन्धनका अदृश्य सर्तहरू अर्थात् कथित ‘भद्र सहमति’ बेलैमा पारदर्शी गरियोस् । अबको राजनीति गोप्य र रहस्यमय रहन सक्तैन । सरकार जनताप्रति उत्तरदायी हुन र जनताले सरकारलाई विश्वास गर्न सकेमात्र राजनीतिक स्थिरता हुन्छ ।