site stats
राजनीति
एमाले पनि सरकार गठनको गृहकार्यमा, पहिले सत्ता गठबन्धनको प्रस्तुति हेर्ने 

काठमाडौं । बाजुरा र स्याङजा–२ मा रोकिएको मतगणना हुने भएको छ । मंसिर ४ गते भएको निर्वाचनमा धाँधली भएको भन्दै परेको उजुरीमाथि निर्वाचन आयोगले निर्णय गरेसँगै मतणना सुरु हुने भएको हो । 

दोलखा–१ मा भोलि (बिहीबार) पुनः मतदान हुँदै छ । सुनसरी–४ को मतगणना जारी छ । जहाँ नेपाली कांग्रेसले बुधबार अपराह्नसम्म अग्रता लिइरहेको छ । 

हालसम्म १६१ स्थानको नतिजा आइसकेको छ । कांग्रेसले प्रत्यक्षतर्फ ५४ सिटमा जित हासिल गरेको छ । समानुपातिकतर्फ दोस्रोमा रहेको कांग्रेसले ३३ सिट ल्याउने सम्भावना छ । कांग्रेससँग ८७ सिट हुने देखिएको छ । 

S.A.U
Agani Group

प्रत्यक्षमा दोस्रो स्थानमा रहेको नेकपा एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । समानुपातिकतर्फ हालसम्मको अवस्थामा एमालेले ३५ सिट ल्याउने सम्भावना छ । अर्थात् एमालेसँग ७९ सिट हुनेछ । तर, नेकपा एकीकृत समाजवादीले थ्रेस होल्ड कटाएको खण्डमा समानुपातिकतर्फ सिट घट्ने छ । 

२७५ सदस्यीय प्रतिनिधिसभामा सरकार बनाउन बहुमतका लागि १३८ सिट आवश्यक पर्छ । सत्तारूढ गठबन्धनमा रहेका दलले सरकार गठनलाई लिएर छलफल गर्न थालेका छन् ।
 
एमालेले सरकार गठनका लागि औपचारिक पहल नथाले पनि अनौपचारिक छलफल भने थालेको छ ।

Global bank

चुनावमा सहकार्य भएका दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा),  जनता समाजवादी पार्टी (जसपा)को सिट जोड्दा पनि एमालेलाई आफ्नो नेतृत्वमा सरकार गठनका लागि सुविधाजनक सिट पुग्दैन ।  

राप्रपाले प्रत्यक्षमा ७ सिट पाएको छ । समानुपातिकामा ८ सिट थप हुने देखिन्छ । ऊसँग कूल १५ सिट हुने सम्भावना छ । 

प्रत्यक्षमा ६ सिट जितेको जसपाले समानुपातिकमा ५ सिट ल्याएर ११ सिट पुर्‍याउने सम्भावना देखिन्छ । अर्थात् यी दुई दलले सघाएको खण्डमा एमालेसँग १०५ सिट मात्रै हुने देखिन्छ । 

यो निर्वाचनबाट उदय भएको दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ ७ सिट जितेको छ । 

समानुपातिकमा भने १५ सिट पुग्ने सम्भावना छ । त्यसो भएमा रास्वपासँग २२ सिट हुनेछ । गठबन्धनमा रहेका बाहेका अरु दलले साथ दिँदा पनि एमालेको सरकार बन्ने देखिँदैन । 

तर सत्ता गठबन्धनमा रहेको माओवादीलाई ल्याएर पनि सरकार बनाउनुपर्ने दबाब दोस्रो तहका नेताले नेतृत्वलाई दिएको उच्च स्रोतको दाबी छ ।

राप्रपा र जसपासँगै रास्वपाले सहयोग गर्दा एमालेसँग १२७ सिट हुनेछ । यी दलले एमालेसँग सरकारमा जान सहकार्य गरे भने पनि थप ११ सिट एमालेलाई आवश्यक पर्नेछ । 
 
एमालेले सरकार गठन गर्ने हो भने अहिलेको सत्ता गठबन्धन टुट्नुपर्छ । गठबन्धनमा रहेको नेकपा माओवादीसँग तालमेल भए बहुमत पुग्न सक्छ । 

यही सम्भावना देखेर केही दिन अगाडि नै एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोनमार्फत मिलेर जाने प्रस्ताव राखेको माओवादीका नेताहरु बताउँछन् ।

माओवादीले प्रत्यक्षमा १७ सिट जितेको छ भने समानुपातिकमा १५ सिट पाउने सम्भावना छ । त्यसो भएमा माओवादीसँग ३२ सिट हुनेछ । माओवादीसँग तालमेल गरे पनि १३६ सिट हुनेछ । 

एमाले सत्ता गठबन्धनको प्रस्तुति हेरेर मात्रै सरकार गठनको पहल थाल्ने ‘मुड’मा देखिन्छ । एमालेका उपमहासचिव विष्णु रिमाल गठबन्धनको निर्णय हेरेर मात्रै अघि बढ्ने बताउँछन् ।

“पहिले गठबन्धनले के गर्छ त्यो हेर्ने हो । गठबन्धन नै चुनाव लडेको छ । कि जितेँ भनेर उसले सरकार बनाउनुपर्यो ,” उनले बाह्रखरीसँग भने, “होइन भनेँ हारेँ भनेर घोषणा गर्नुपर्यो । अनि हाम्रो पालो सुरु हुन्छ ।”
 
एमालेमा वाम गठबन्धनको सरकार बनाउनुपर्ने मतमा नेताहरू छन् । एमालेका अर्का उपमहासचिव पृथ्वी सुब्बा गुरुङ वामपन्थीहरूसँग मिलेर सरकार बनाउँदा नै उपयुक्त हुने धारणा राख्छन् । 

बाह्रखरीसँग केही दिनअघिको संवादमा गुरुङले लोकतान्त्रिक शक्तिहरूसँगै वामपन्थीहरू एकताबद्ध भएर सरकार बनाउनुपर्ने बताएका थिए । 

“एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्छ । तेस्रो शक्तिको रुपमा माओवादी, समानुपातिकको हिसाबाले रास्वपा चौथो शक्ति बन्ला,” उनले बाह्रखरीसँग भनेका थिए, “तर, प्रत्यक्ष सिट संख्याको हिसाबले माधव नेपालजीको पार्टी छ । त्यस्तै राप्रपा, जसपा, लोसपालगायत शक्तिसँग कुरा गरेर एकजुट भएर गयो भने राम्रो हुन्छ । अझै वामपन्थीहरूबीच एकता भएर जाँदा राम्रो हुन्छ ।”

एमाले–माओवादी सहकार्यको सम्भावना  

एमालेका नेताहरूमा सरकार गठनबारे विभिन्न कोणबाट छलफल भइरहेको छ । कांग्रेस संसदीय दलमा फेरबदल आए एमालेको सरकार बन्ने केही नेताको बुझाइ छ । 

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा संसदीय दलको नेता नभएर अरु नेता भएमा माओवादीसहितका दलसँग सहकार्य हुन सक्ने ती नेताहरू बताउँछन् । 

ओलीले प्रचण्डसँग कुरा गरे पनि प्रत्यक्षतर्फ १० सिट जितेको एकीकृत समावादीका अध्यक्ष माधव नेपालसँग भने छलफल गरेका छैनन् । 

एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि मुलुकको आवश्यकता एमाले नेतृत्वको वाम सरकार रहेको बताउँछन् । 

सम्भव भएसम्म एमाले नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने उनको भनाइ छ । 

हिमालयन न्युज एजेन्सीसँग उपाध्यक्ष ज्ञवालीले न्यूनतम साझा कार्यक्रम बनाएर पाँच वर्ष वामपन्थीले मुलुक सञ्चालन गर्न सबै तयार हुनुपर्नेमा ज्ञवालीको जोड छ । 

माओवादीलगायत अन्य कम्युनिष्ट पार्टीलाई ‘भाइ कांग्रेस’ नबन्न सुझाव दिँदै ‘भाइ कांग्रेस’ बने कांग्रेसलाई फाइदा र मुलुकलाई घाटा हुने उनको तर्क छ । 

ज्ञवालीले विगतलाई बिर्सिएर एमालेसँग सहकार्य गर्न अन्य कम्युनिष्ट पार्टीसँग आग्रहसमेत गरे । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्