
नयाँदिल्ली । भारतकाे मुम्बई र त्यस वरपरका क्षेत्रमा दादुराको कारण १२ जना बालबालिकाको ज्यान गइसकेको स्थानीय निकायले जनाएको छ ।
पहिलो मृत्यु २६ देखि २७ अक्टोबरमा भएको थियो । ४८ घन्टाभित्र तीन बालबालिकाको ज्यान गएको थियो । बुधबारसम्म मुम्बईमा २३३ बालबालिका दादुरा संक्रमित भएको पुष्टि भएको छ ।
यो तथ्यांक गतवर्षको तुलनामा तेब्बर बढी रहेको छ । गतवर्ष ९६ जना दादुरा पीडित भएकोमा दुईजनाको मृत्यु भएको थियो । स्थानीय प्रशासनले कोभिड महामारीको दौरान दादुरा विरुद्धको खोप अभियान मन्द हुन पुगेकाले यसरी तीव्र रूपमा दादुरा फैलिएको जनाएको छ ।
स्थानीय महानगरीय निकायले जारी गरेको प्रेस विज्ञप्तिमा मंगलबार आंशिक खोप लगाइएका आठ महिने शिशुको मृत्यु भएको जनाइएको छ । दादुरा कोभिड भन्दा छिटो फैलिने रोग हो । साथै, यसले विशेषगरी पाँच वर्ष मुनिका बालबालिकालाई घातक असर पार्न सक्दछ ।

यस रोगका लक्षण खोकी लाग्नु, शरीरमा राता टाटा देखिनु र ज्वरो आउनु हो । यसलाई मम्पस, मिजल्स र रुवेल्ला (एमएमआर) खोपको दुई डोज प्रयोग गरेर रोक्न सकिन्छ ।
एमएमआर खोप कम लगाइएका युरोपभरिका थुप्रै मुलुकमा पनि दादुराको ठूलै महामारी फैलिने गरेको छ ।
खोप नलगाइए दशमध्ये नाैजना बालबालिकामा दादुरा लाग्ने संभावना हुन्छ । समयमै सही उचार नभएको खण्डमा दादुराकै कारण निमोनिया लाग्ने र मस्तिष्क सुनिन्ने जस्ता समस्याहरू सिर्जना हुनुका साथै बिरामीको ज्यानै जान सक्दछ । बीबीसीबाट