site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पुटिनको नयाँ ६ वर्षे कार्यकाल आजदेखि : अमेरिका र युरोपबाट समारोह बहिष्कार

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आउँदो ६ वर्षका निम्ति आफ्नो पाँचौँ चरणको कार्यकाल मंगलबार अबेरबाट सुरु गर्दै छन् । उनले विशाल क्रेमलिन दरबारको सेन्ट एन्ड्रुय हलमा आउँदो ६ वर्षका लागि राष्ट्रपति पदको शपथ लिनेछन् ।

सन् २०२० मा शपथ लिँदा उनले ‘प्रजातन्त्रको संरक्षण र विकास तथा रुसको हेरचाह’को प्रतिबद्धता जनाएका थिए । तर, प्रजातन्त्र राम्रो भएन । उनी देशभित्रका स्वतन्त्रताका हिमायतीमाथि कठोर देखिए । उनी रुसको इतिहास हेर्दा जोसेफ स्टालिनपछि दोस्रो धेरै समय शासन गर्ने व्यक्तिका रूपमा चिनिएका छन् ।

तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिवका हिसाबले स्टालिनले सन् १९२२ देखि १९५२ सम्म ३३ वर्ष शासन गरेको मानिन्छ । पुटिनले भने सन् १९९९ डिसेम्बर ३१ मा कार्यवाहक राष्ट्रपतिका रूपमा काम सुरु गरेका हुन् । उनको आउँदो कार्यकाल सन् २०३० सम्मका लागि हुनेछ ।

Dabur Nepal
NIC Asia

रुस अर्थतन्त्रको ‘कोल्याप्स’को अवस्थामा रहेकामा अहिले विश्वव्यापी सुरक्षामा चुनौती दिलाउने राष्ट्रमा उनले स्थापित गरेको कतिपयले जनाएका छन् । २०२२ मा युक्रेनमाथि आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रहरूले रुसमाथि नाकाबन्दी बढाएका छन् । रुस अहिले चीन, इरान र उत्तर कोरियाको सहयोगमा चलिरहेको मानिन्छ । युक्रेनमाथिको आक्रमणलाई दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो द्वन्द्वका रूपमा लिइएको छ ।

प्रश्न यो छ कि ७१ वर्षीय पुटिनले अबका ६ वर्ष आफ्नो देशमा र विश्वका निम्ति के गर्लान् ? रुसको सेनाले अहिले युक्रेनका भूभाग कब्जा गरिरहेको छ । युद्धस्थलमा रुस र युक्रेन दुवैले ठूलो क्षति व्यहोरिरहेका छन् । पुटिनको लोकप्रियता आन्तरिक रूपमा भने केही बढेको जनाइएको छ । तर, अन्तर्राष्ट्रिय रूपमा उनी आलोचित छन् ।

उनले २०१८ मा आफ्नो कार्यकाल सुरु गर्नुअघि रुसलाई विश्वको पाँचौँ अर्थतन्त्र बनाउने लक्ष्य लिएका थिए । उनले त्यो अर्थतन्त्र मोर्डन एन्ड डाइनामिक (आधुनिक र गतिशील) हुने बताएका थिए । अहिले रुसको अर्थतन्त्र युद्धमा अल्मलिइरहेको अवस्थामा छ ।

विश्लेषक पुटिनले अर्को नयाँ ६ वर्षे कार्यकाल सुरु गरेपछि सरकारले युद्धकै खर्च जुटाउन कर बढाउने र बढीभन्दा बढी मानिसलाई सेनामा भर्ती हुन दबाब दिने अनुमान गर्छन् । उनले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद् पनि बनाउने सम्भावना रहेको जनाइएको छ ।

उनले मुख्य क्षेत्रका रूपमा रक्षा मन्त्रालयलाई हेर्नेछन् । रक्षा मन्त्रालय सम्हाल्नेहरू विगतमा विवादमा मुछिएका थिए । गएको फेब्रुअरीमा विपक्षी नेता अलेक्सेई नाभाल्नीको विवादास्पद रूपमा जेलमा मृत्यु भएको थियो । उनका अरू कतिपय आलोचक कि जेलमा छन् कि विदेश गइसकेका छन् । विदेशमा रहेका उनका विरोधी समेत सुरक्षालाई लिएर डराइरहेका छन् । क्रेमलिनले स्वतन्त्र मिडिया, अधिकारकर्मी समूह र समलिंगी समूहलाई पनि पुटिनको कार्यकालमा अप्ठ्यारो अवस्था सिर्जना गरेको छ ।

अमेरिकामा पहिला ह्वाइट हाउसका सुरक्षा सल्लाहकार रहिसकेकी फियोना हिल अहिले पुटिनले आफूलाई ‘रसियन जार भ्लादिमिर द ग्रेटजस्तै ठानेको’ बताउँछिन् ।

रुसमा गएको मार्च १५ देखि १७ सम्म राष्ट्रपति निर्वाचन भएकामा पुटिनलाई करिब ८८ प्रतिशत मत प्राप्त भएको थियो । उनका प्रमुख आलोचक नाभाल्नीको जेलमा मृत्यु भएलगत्तै निर्वाचन गरिएको थियो ।

मंगलबार हुन लागेको नयाँ कार्यकालको शुभारम्भ गर्ने पुटिनको विशेष समारोहमा अमेरिका र धेरैजसो युरोपेली राष्ट्रले आफ्ना राजदूतलाई नपठाउने जनाएका छन् ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पत्रकारसँगको कुराकानीमा आफ्नो देशका प्रतिनिधि उक्त समारोहमा नजाने बताएका छन् । यस्तै, बेलायत र क्यानडाले पनि आफ्नो देशका कोही प्रतिनिधि समारोहमा नजाने जनाएका छन् ।

बाल्टिक राष्ट्रहरू इस्टोनिया, लात्भिया र लिथुआनियाले पनि आफ्ना कोही प्रतिनिधि त्यहाँ नजाने जनाएका छन् । एबीसी न्युज, बीबीसी र अलजजिराबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro