site stats
बाह्रखरी :: Baahrakhari
विदेश
पन्नू हत्या प्रयास : भारतीय नागरिकलाई अमेरिका सुपुर्दगी गर्न चेकको सर्वोच्चले लगायो रोक

नयाँ दिल्ली । एक अमेरिकी नागरिकको हत्या प्रयासका आरोपित भारतीय नागरिक निखिल गुप्तालाई अमेरिका सुपुर्दगी गर्न चेक गणराज्यको सर्वोच्च अदालतले रोक लगाएको छ । चेक गणराज्यकै तल्लो अदालतले यसअघि सुपुर्दगीका निम्ति अनुमति दिएको थियो ।

अमेरिकामा रहेका खालिस्तानी अभियानका नेता गुरपतवन्त सिंह पन्नूको हत्याको षड्यन्त्र गरेको गुप्तामाथि आरोप छ । इन्डियन एक्सप्रेसले ‘एक्सक्लुसिभ’ भन्दै मंगलबार प्रकाशित गरेको रिपोर्टमा जनाइएअनुसार, गुप्तालाई अमेरिका सुपुर्दगी गर्न केही ढिला भए पनि त्यसले आमजनताको हितमा कुनै नोक्सान नहुने अदालतको ठहर छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रिपोर्टअनुसार, गएको जनवरी ३० मा प्रागको संवैधानिक अदालतले एक अन्तरिम आदेशमा गुप्तालाई अमेरिका सुपुर्दगी गरेपछि सबैभन्दा बढी त्यसको नतिजा उनैले भोग्नुपर्ने उल्लेख गरेको थियो ।

चेक गणराज्यको न्याय मन्त्रालयका प्रवक्ता मार्केता आंद्रोवाले इन्डियन एक्सप्रेससँगको कुराकानीमा अन्तरिम आदेशको अर्थ खुलाउँदै भनेकी छन्, “जबसम्म संवैधानिक अदालतले निखिल गुप्ताको याचिकाको मेरिटमा रहेर फैसला गर्दैन, तबसम्म न्याय मन्त्रालय गुप्तालाई सुपुर्दगी गर्न वा यसलाई अस्वीकार गर्ने निर्णय गर्न सक्दैन ।”

गुप्ताले जनवरी १९ को प्रागको म्युनिसिपल कोर्ट र जनवरी ८ को प्रागकै हाइकोर्टको आदेशलाई चुनौती दिँदै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । दुवै अदालतले उनलाई अमेरिका सुपुर्दगी गर्नका निम्ति स्वीकृति दिएका थिए ।

गत वर्ष अमेरिकाले पन्नूको हत्या षड्यन्त्रबारे भारत सरकारलाई जानकारी साझा गरेको जनाइएको छ । उक्त षड्यन्त्रमा भारतीय अधिकारीको पनि भूमिका रहेको र त्यसको जाँच गर्नुपर्ने अमेरिकाले जनाएको थियो । बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १८:२८
प्रतिक्रिया दिनुहोस्