खुलामञ्च मासेर पार्किङ स्थल बनाउने काठमाडौं महानगरपालिकाको निर्णय प्रत्युत्पादक त हुँदै हो काठमाडौंका बासिन्दा र नेपाल मण्डलको सभ्यताप्रतिको द्रोह पनि हो । यसैले खुलामञ्चलाई थप खुला र हरियो बनाउनेबाहेक अरू योजनाको अध्ययनकै नाममा पनि खर्च गर्दा जनताको करको अपव्यय हुन्छ ।
काठमाडौंको मुटु मानिने टुँडिखेल पञ्चायतका पालामा छियाछिया बनाइयो । कुनैबेला एसियाकै सबैभन्दा ठूलो कबाज मैदान कहलिएको टुँडिखेलको धेरै भाग सेनाको नियन्त्रणमा पुग्यो । तैपनि, पार्क र मञ्चका नाममै सही टुँडिखेलको केही भाग जनसाधारणका लागि खुलै थियो । भूकम्पपछि भने टुँडिखेलमा सरकारी अतिक्रमणले सीमा नाघेको छ ।
यस्तैमा खुलामञ्च मासेर पार्किङ स्थल बनाउने बहुलठ्ठी योजना काठमाडौं महानगरपालिकाको नाममा बनाइयो । त्यसको मुख्य उद्देश्य भने पार्किङ सुविधा बढाउने नाममा टुँडिखेलका खाली भाग भूमाफियाको कब्जा गराउनु थियो । पार्किङ सुविधा बढाउने मनसाय हुँदो हो त तिनले पुरानो बसपार्क मास्ने नै थिएनन् ।
यही बुझेर नै काठमाडौंको माया गर्ने सं।क्षणकर्मी र अभियन्ताहरूले खुलामञ्च मास्ने मनसायले विस्तृत परियोजना प्रस्ताव तयार गराउने काठमाडौं महानगरपालिकाको निर्णयको विरोध गरेको हुनुपर्छ । खुलामञ्च मास्ने दुष्प्रयास काठमाडौं नगरको मौलिकता र सभ्यताको समाप्त पार्ने षड्यन्त्रको एउटा बिन्दु हुनसक्नेतर्फ पनि ध्यान दिनुपर्छ ।
खुलामञ्च मासेर काठमाडौं महानगरको हित हुँदैन भन्ने ‘झिल्के विकास’का नाइके र भूमाफियाका मतियारले बुझेको भए पनि उनीहरूको स्वार्थ जोडिएकाले यसभन्दा पहिले पटकपटक चेष्टा गरिरहेका थिए । तर, काठमाडौंलाई माया गर्नेहरूको विरोधले विगतमा उनीहरू सफल हुन सकेनन् । यसपटक फेरि तिनले महानगरपालिकाको नेतृत्वलाई प्रभावित गरेको देखियो ।
काठमाडौं महानगरपालिकाको कार्यपालिकाले यस आत्मघाती योजनामा पुनर्विचार गर्नुपर्छ र आवश्यक भए कार्यपालिकाका सदस्यहरूले नेतृत्वलाई रोक्नुपर्छ । खुलामञ्च मास्नु काठमाडौंका जनतालाई पछाडिबाट छुरी धस्नुजस्तै हो । त्यसैले जनताले पक्कै प्रतिवाद गर्नेछन् । खुलामञ्चमा पार्किङ बनाउन अध्ययन गराउने योजना नै महानगरपालिकाले खारेज गर्नु बुद्धिमानी हुनेछ ।