site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
ब्लड क्यान्सरकाे उपचारका लागि धामीझाँक्रीमा साढे तीन लाख खर्च, सयौँ पशु बलि चढाइए 

काठमाडौं । रोजगारीका लागि बाग्लुङ पुगेका सल्यानको सिद्ध कुमाख गाउँपालिका–१, बाझकाँडाका बुद्दि बुढाथोकीलाई फोन आयो ‘तपाईं तुरुन्तै आउनू, नानीलाई गाह्रो छ ।’ घटना गत असार दोस्रो साताको हो, सल्यान जिल्ला अस्पतालबाट आएको फोन थियो ।  श्रीमती चित्रा र केही आफन्त साढे तीन वर्षे छोरीलाई लिएर अस्पताल पुगेका थिए । 

जिल्ला अस्पतालले छोरीलाई ‘रगत निकै कम छ, अवस्था जे पनि हुनसक्छ’ भन्दै काठमाडौं लैजान सुझाव दियो । खलंगाबाट आफन्तले नेपालगञ्जसम्म पुग्न जिप रिजर्भ गरिदिए । नेपालगञ्जमा पनि पार लाग्ने नदेखेपछि उनीहरू काठमाडौं आउने निर्णय गरे । उता नेपागञ्जबाट एक आफन्तको साथमा आमाछोरी र बाग्लुङबाट बुद्दि असार २० गते कान्ति बाल अस्पताल आइपुगे । छोरीलाई अस्पतालमै राखेर सम्भावित सबै परीक्षण गरियो । करिब २० दिनपछि रिपोर्ट आयो, ब्लड क्यान्सर भएको रहेछ । गाउँमा कसैलाई ब्लड क्यान्सर भएको नदेखेका र बच्चालाई पनि क्यान्सर हुन्छ भन्ने पत्तो नपाएका बुढाथोकी दम्पतीलाई त्यो कुरा सपनाजस्तो लाग्यो । 

“अब यो छोरी रहन्न घरमा भएका दुईवटाको पनि बिजोग हुने भयो, यति सम्झिएर धरै रोएँ । डाक्टरले छोरीलाई निको हुन्छ नअत्तिनुस् भन्दै सम्झाउनुभयो । अनि जति खर्च लागे पनि उपचार गर्छु भन्ने हिम्मत जागेर आयो,” बुद्दिले सुनाए । 
 
धामीझाँक्रीमा साढे तीन लाख खर्च, १९ भेडाबोका र सयौँ कुखुराको बलि
जन्मिदा ३ किलो पाँचसय ग्राम तौल भएकी छोरी तीन वर्षसम्म केही बिरामी नभइ हुर्किइन् । ०७८ माघदेखि अचानक ज्वरो आउने, जिउ सुन्निने, खान मन नगर्ने हिँड्न नसक्ने हुँदै गइन् । स्थानीय शारदा मेट्रो अस्पतालमा पटकपटक उपचार गराए, एन्टिबायोटिक दिएर केहीदिन ठिक भएजस्तो हुन्थ्यो । तर, केही दिनमा पुनः उस्तै । छोरीको उपचारका लागि  बुढाथोकी परिवारले सल्यानका कुनै अस्पताल लैजान बाँकी राखेनन् । सल्यानका अस्पतालबाट उपचार सम्भव नदेखिएपछि ०७९ वैशाखमा नेपालगञ्ज ल्याए । त्यहाँ ११ दिनसम्म भर्ना गरेर उपचार गर्दा केही सुधार त देखियो । तर, निको भएन । अस्पतालकै एक कर्मचरीले भने, “नानीलाई बर्मा, देउता लागेको हुनसक्छ । बरु गाउँघरतिरै लगेर एकचोटी झारफुक गराऊ ।” 

अनेक उपचारले छोरीलाई निको नहुँदा निरास भएका बुढाथोकी दम्पतीलाई ती कर्मचारीको कुरा ठिकै लाग्यो । गाउँ फर्काएर धामी खोज्नतिर लागे बुद्दि । अर्को गाउँका जान्ने भनेर ल्याइएका धामीलाई एक रात एकदिन धामी बसेको २४ हजार रुपैयाँ, एउटा बोका र तीनवटा कुखुरा बुझाए । धामीले छोरीलाई बुद्दिका बुवाको आत्माले दुःख दिएको बताए । उनका बुवा उनी १० महिनाको हुँदा अर्थात् ३५ वर्ष अगाडि बितेका थिए । त्यसपछि छोरीको उपचारका लागि निरन्तर धामी झाँक्रकै भर परिरहे । कुनै दिन त सात जनासम्म झाँक्री लगाए । तीन महिनाको अवधिमा उनीहरूले बोका, भेडा, साँडा गरी १९ वटा चौपाया बलि चढाए । कुखुरा त सैयाँै । बलि र भेटी गरी साढे तीन लाख रुपैयाँ सकियो । तर,  छोरीको रोग पत्ता लागेन । ब्यथा २० को १९ भएन । 

उपचारमा लागेको ऋण घर बेचेर तिर्ने योजना  
दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका बुद्दिसँग छोरी बिरामी हुनुअघि साढे दुई लाख रुपैयाँ हातमा थियो । त्यसमध्ये एकलाख रुपैयाँ सुरुको उपचारमा सल्यानका अस्पतालहरूमा सकियो, नेपालगञ्जमा ११ दिन भर्ना गरेर उपचार गराउँदा एक लाख रुपैयाँ खर्च भयो । धामीझाँक्री, बलि, भेटी गर्दा थप साढे तीन लाख सकियो । 

काठमाडौं आइपुगेपछि रोग पहिचान नहुँदासम्म एकलाख ८० हजार रुपैयाँ खर्च भएको बुद्दी सुनाउँछन् । क्यान्सर पहिचान भएपछिको उपचार सरकारको विपन्न सहुलियत उपचार सेवा (एक लाख रुपैयाँसम्म छुट पाउने कार्ड) मार्फत् भइरहेको छ । अस्पतालमा सबै उपचार सामान्य प्रक्रियामा भए चारदेखि पाँच लाख रुपैयाँ खर्चमा उपचार हुने बताइएको छ । “आफूसँग भएको पैसा सकिएपछि सबै ऋण गरेर चलाएको छु, उता दुईजना छोराछोरीको स्कुलको फि ४५ हजार भयो भनेर फोन आएको थियो । अब थप उपचार गर्न र ऋण तिर्न  घर बिक्रीमा राखेको छु । तर, बिकेको छैन,” बुद्दिले थपे “अब त चारै लाख आए पनि दिनुपर्ला भनेर पनि सल्लाह गर्दै छु ।” 

उनका १४ र १२ वर्षका छोरा र छोरी छन् । ७० वर्षीया आमा छिन् । यता, बुढाथोकी दम्पती र बिरामी बालाजु चोकनजिकै जस्ताको छाप्रोमा मासिक दुई हजार रुपैयाँ भाडा तिरेर छोरीको उपचारका लागि बसेका छन् । 

यसरी हुँदै छ उपचार 
बालिकाको उपचारमा संलग्न कान्ति बाल अस्पतालका बाल रक्त क्यान्सररोग विशेषज्ञ डा. सुधीर सापकोटाका अनुसार उनको अवस्था उच्च जोखिमयुक्त भने छैन । तर, ढिलो उपचारमा आइपुगेकाले उपचारकै क्रममा जटिलता हुने तथ अन्य संक्रमण हुने सम्भावना रहन्छ । अहिले उनको किमोथेरापीमार्फत् उपचार भइरहेको छ । चार चरणमध्ये अहिले तेस्रो साइकल किमो दिइँदै छ । चार साइकल पूरा भएपछि अवस्था हेरेर थप उपचार प्रक्रिया अघि बढाइनेछ । 
कान्ति बाल अस्पतालमा पहिचान भएकामध्ये ५० प्रतिशत बालबालिकामा रक्त क्यान्सर हुने गरेको तथ्यांक छ । तीमध्ये १० वर्षमुनिका बालबालिकामा पूर्ण रुपमा निको हुनसक्ने रक्त क्यान्सर देखिने गरेको छ । तर, बालबालिकामा पनि क्यान्सर हुन्छ । र, त्यसको समयमै पहिचान गर्नुपर्छ भन्ने चेतनाको अभावका कारण अभिभावकहरू वैकल्पिक उपचारमा पुग्ने गरेकाले र यस्ता घटनाहरू हुने गरेको डा. सापकोटाको अनुभव छ । 

बालिकाको उपचारमा सहयोग गर्न चाहनेहरूका लागि : ९८६८२७९४९३ बुद्दि बुढाथोकी 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, मंसिर ३, २०७९  ०७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro