कुलचन्द्र वाग्ले
राजनीतिमा दलहरुबीच हुने ध्रुवीकरण नौलो र अनौठो होइन । सामाजिक र आर्थिक विषयमा पनि एकरुपता वा भिन्न मान्यता राख्ने दलहरुबीच समेत ध्रुवीकरण हुनेगर्छ । समान धारणाबीच हुने सहकार्य वा नीतिगत सम्मिलन नै ध्रुवीकरणको आधार हो ।
निर्वाचन हो । स्वदेशी चासो त हुने नै भयो । थप वैश्विक चासो र केही मुलुकको अपेक्षा मिश्रित गहिरो दृष्टिसमेत यहाँ आउने परिणामतिर छ । यसमा कारण छन् । नेकपा (एमाले)मा स्थापित हुने भावी नेताको चर्चा पनि यो चुनावको रोचक विषय हो ।
यतिबेला चाहिँ नेपाली राजनीतिमा चुनावी ध्रुवीकरणको गज्जब दृश्यगोचर भइरहेछ । यसै अर्थलाई कतिपयले झर्रो शब्दमा कित्ताकाट भनिएको हुनुपर्छ । चुनावी गठजोडको कित्ताकाटमा दुई ध्रुव जब्बर शैलीमा प्रतिस्पर्धामा उपस्थित छन् ।
दुई गठजोडबीच बाजी कसले मार्ला ? अर्थात् प्रतिनिधि सभा र प्रदेश सभामा बहुसंख्यक उमेदवार विजयी बनाएर कुन गठबन्धनले आगामी सरकार(हरु)बनाउला ? वा परिणामले फेरिदिने समीकरणको कारण अहिलेको गठजोडभन्दा फरक सरकार बन्ला ? वा त्यो कस्तो होला ? सबैमा कौतुहल छ ।
प्रतीक्षा लामो छैन । आगामी मंसीर ४ गते मतदानपछि क्रमशः तस्बिरको आकृति बन्नेछ । यसको केही दिनपछि सरकारको आकार प्रस्टिने नै छ । निश्चित चाहिँ के हो भने सरकार बनाउने नेतृत्व यिनै दुई गठबन्धनकै कित्तामध्ये एउटाको भाग्यमा जानेछ ।
भनिसकियो, दलहरुवबीच चुनावपछिको समीकरण यही वा अर्को कस्तो बन्ला ? तर सरकार गठबन्धनकै बन्ने पनि करिब निश्चितै देखिन्छ । कुनै पनि दललाई एकल बहुमतको सम्भावना यस पटकलाई टरेको छ ।
अहिले निर्मित गठजोड चुनावी परिणामपछि पनि खासै फेरिने परिदृश्य छैन । केही दलको संख्या बढ्ला वा घट्ला तर गठबन्धन यही नै रहने आकलन सही लाग्छ । दुई ध्रुवीय गठजोडलाई चुनौती दिने अन्य शक्तिको उदय यतिबेला सम्भव देखिएन ।
सत्तासीन र प्रतिपक्षी गठबन्धनबीचको स्पर्धा नै लोकतान्त्रिक गणतन्त्रअन्तर्गतको दोस्रो निर्वाचनको परिदृश्य हो । यस्तो परिदृश्यबीच पनि परिणामगम्य अनुमानको लक्षण आइसकेजस्तो देखिन्छ ।
चुनाव रोचक छ, हुने नै भयो । स्वदेशमा त छ नै विदेशमा बसेका नेपालीबीच पनि कौतुहल पक्कै होला । राजनीतिक गर्मीको यस्तो स्थितिमा आफ्नो अनुपस्थिति कतिपयलाई खट्किएको चुकचुक हुने नै भयो । तिनमा पनि मुलुकी राजनीतिको चासोले अभिभूतहरुको अनुभूति विदेशी मुलुक बस्नेलाई पक्कै मीठो छैन ।
थप अन्तर्राष्ट्रिय जगतमा पनि नेपाली चुनावी स्पर्धा र परिणामबारे गहिरो चासो हुनुपर्छ । भूराजनीतिक परिवेशमा दक्षिण र उत्तर दुई विशाल वा विश्व शक्ति स्पर्धामा तल्लीन भारत र चीनबीचमा नेपाल छ । यी दुईभन्दा सानो तर भूअवस्थितिको कारण नेपाली चुनावी चर्चा वाह्य विश्वलाई पनि चासो र अपेक्षा मिश्रित प्रतिस्पर्धा हो ।
लोकतान्त्रिक र कम्युनिस्ट भिन्नभिन्न राजनीतिक दर्शन सत्ताले शासित भारत र चीनबीच भूक्षेत्र र जनघनत्वको तौलमा सानो भए पनि नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, लोकतान्त्रिक मुलुक हो । भूराजनीतिक वा सामरिक र लोकतान्त्रिक सार्वभौम विशेषता नै नेपालप्रति अन्तर्राष्ट्रिय चासो रहुनुमा कारण हो । यिनै कारण नेपाली चुनाव वैश्विक हेराइमा समेत परेको छ । छिमेकी चासो त हुने नै भयो ।
अर्को कारण, लोकतान्त्रिक वाम गठबन्धन र वाम तथा पुरातनवादी भनिने सोचबीच भिन्नाभिन्नै दुई धु्रवीय चुनावी गठजोड पनि अन्तर्राष्ट्रिय हेराइलाई आकर्षित गर्ने विषय बन्यो । यो परिणामअघिको गठबन्धन हो, परिणामपछिको बाँकी नै छ ।
झन्डै दुईतिहाइको सरकार असफल भएपछि बनेको सरकार त गठजोडकै थियो । चुनाव पूर्वको ‘चुनावी गठजोड’प्रति भने निकै बहस चल्यो । दलका सम्बद्ध कार्यकर्तामा व्यापक असन्तुष्टि जाहेर भयो । आफ्नो सिद्धान्तले रोजेको चुनाव चिन्हमा मतदान गर्न नपाउने गठजोड स्वीकार्य नहुने राय पनि घनघोर आए ।
सिद्धान्तहीन गठबन्धन वा विपरीत सिद्धान्तबीचको सत्तास्वार्थी चुनावी गठजोड भन्दै चिन्तकवृत्तमा व्यापक विरोधसमेत वाद र प्रतिवाद भयो । बहस पनि भयो । कतिपयले यस्तो बहसलाई बुद्धिविलास आरोपित गरे । बुद्धिविलास होइन, बहस सैद्धान्तिक नै थियो । बहस टुङ्गिएको छैन, लम्मिएको चाहिँ छ, प्रकट, अप्रकट ।
गठबन्धन समर्थकले आआफ्नै तर्क र आवश्यकता बताए । सिद्धान्तको आआफ्नै भुइँमा टेकेर व्यावहारिक गठबन्धन बनाएको आदि दलिल प्रस्तुत गरे । अन्ततः अहिलेको यथार्थ दुई ध्रुवीय गठजोड नै कामयाब भयो । असन्तुष्टि यति चरम थियो कि परिणाम दलका विद्रोही उम्मेदवारको संख्या यसअघि कहिले नभएको संख्यामा देखियो ।
दलहरुको चेतावनीबीच पनि त्यस्ता सयौँ उम्मेदवार चुनावी मैदामा छन् । असन्तुष्टिको ऐना दलहरुले आआफ्ना कार्यकर्तालाई गरेको कारबाहीले नै देखाएको छ । दलका कार्यकर्ताको असन्तुष्टि र विद्रोहको रन्कोले रमाएका सयौं उम्मेदवार स्वतन्त्रको पगरी गुथेर चुनावी मोर्चामा छन् ।
सरकार चलाउने हैसियत र जिम्मेवारी भने दलकै गठबन्धनतिर जाने निश्चित छ । अनुमानमै सही चुनावी परिणामको आकलन गर्न मिल्ने परिदृश्य क्रमशः उघ्रिएको छ । मत आआफ्नै हुन्छन्, संगत पनि त्यसै समान । एकैछिन मतमुक्त हुँदा परिदृश्य समान गोचर हुनसक्छ ।
दुवै गठबन्धन कोभन्दा को कम भने जस्ता छन् र पनि मतदाता नागरिकको लामो मौनपछि केही मुखर संकेत आएको छ । एकातिर सत्तारुढ गठबन्धनमा सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेससमेत छ ओटा दल सामेल छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नेसपा (भट्टराई) र राष्ट्रिय जनमोर्चा सत्तासीन गठबन्धनका चुनावी सहयात्री हुन् । गठबन्धनबीचमा यही सत्ता गठजोड बलियो देखिन्छ ।
प्रतिपक्षी गठबन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल, परिवार दल लगायतका पार्टीहरु आबद्ध छन् ।
गठबन्धनबीचको जनशक्ति तुलना गर्दा आगामी सरकार बनाउन अहिलेकै सत्ता पक्षीय गठजोडको तुलो गरुंगो देखिदै छ । परिणामको प्रतीक्षा त हुने नै भयो ।
रोचक प्रसंगमा, एमालेको लागि अहिलेको चुनाव पार्टी नेतृत्व स्थापित गर्ने पर्व पनि हो । समकक्षीबीच त्यहाँ को स्थापित हुने ? स्पर्धात्मक द्वन्द्व छ । यही द्वन्द्वको आन्तरिक कारण नै आफ्नो दलको भावी प्रधानमन्त्रीमा अध्यक्ष केपी शर्मा ओलीलाई नै घोषणा गर्न एमाले बाध्य भएको हो ।
विश्राम निकट अध्यक्ष शर्मा ओली पार्टीभित्र जसलाई स्थापित गर्न चाहन्छन् उसलाई जिताउन लाग्नेछन् । एक दुई प्रतिपस्र्धी हार्ने छन् । हारको मूल कारण अध्यक्ष स्वयं भए अनौठो मान्नु पर्दैन । राजनीति हो । गलत अभ्यास हुनेगरेकै छ ।
अध्यक्ष ओलीपछि अहिलेसम्म एमालेमा भरपर्दो राष्ट्रिय नेता स्थापित छैन । ओलीले केहीलाई किनारा लगाइसके । सुवास नेम्बाङ, ईश्वर पोखरेल र शंकर पोखरेल आन्तरिक स्पर्धामा छन् । हेरौँ परिणाम ।
अन्य दलमा आन्तरिक स्पर्धा एमालेमा जस्तो कठोर छैन । अलिकति रड्कियो भने भावी दिनमा एमाले नेतृत्वहीन वा विशृंखलित हुने लक्षण देखिँदैछ । त्यसपछि संगठन भत्किन थाल्नेछ ।
राष्ट्रिय, अन्तर्राष्ट्रिय, अन्तर दलीय, आन्तरिक दलीय र गठजोड जस्ता आदि कारण आसन्न चुनावी स्पर्धा र परिणाम अत्यन्त रोचक हुने अहिले नै देखिएको छ ।