site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
सागरमणिझैँ नेपाल फर्कन्छन् विश्व !
Sarbottam CementSarbottam Cement

कथाकार विश्वराज अधिकारी केही महिनाअघि काठमाडौंमा थिए । पाताल प्रवासमा रहेका उनी काठमाडौं ओर्लिएदेखि साहित्यिक सक्रियतामा व्यस्त भए । जति दिन स्वदेश बसे, उनको दैनिकी साहित्यसँग कुनै न कुनै रूपमा गाँसिएर रह्यो ।

दश लघुकथासंग्रहको सामूहिक विमोचनमा कथाकार अधिकारीसँग भेट भयो । त्यस बेला उनको पनि एउटा लघुकथाकृति सार्वजनिक हुँदै थियो, ‘पिरको आवाज’ । त्यसको केही दिनपछि नै उनको अर्को कथाकृति सार्वजनिक भयो, ‘सागरमणि दाइ नेपाल फर्किनु भयो’ ।

काठमाडौं आउनुपूर्व नै उनका केही साहित्यिक कृतिहरू प्रकाशनका लागि तयार थिए । अमेरिकामा हुँदा नै आफूले केही कृति तयार गरेको म्यासेन्जरमा कुराकानी हुँदा उनी बताउँथे ।
उनले काठमाडौं छोड्नुअघि ‘मेघदूतमा के छ ?’ सार्वजनिक गरे । महाकवि कालिदासको संस्कृत काव्यकृति मेघदूतको व्याख्यासहित त्यसका अनेकन् प्रसंग यस कृतिमा रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

साहित्यमा समर्पित भएर लाग्नु सजिलो नभएको उनको अनुभव छ । दुरूह नमान्दा नमान्दै पनि यो काम दुरूह नै भएको उनको भनाइ छ ।

अधिकारी भन्छन्, “जसलाई साहित्यमा रुचि रहेको हुन्छ, उसले कहीँ कतै हेर्दैन । दुःख र पीडा भन्दैन । यसबाट आर्जन होस् अथवा नहोस्, रचना गर्ने काम गरिरहेको नै हुन्छ । ख्याति–प्रख्याति पछिका कुरा हुन् । त्यो प्राप्त हुन पनि सक्छ, नहुन पनि सक्छ । तर, साहित्यमै लाग्छु भन्नेले जेजस्तो अवस्थामा पनि रचनाकर्मलाई निरन्तरता दिइरहेको नै हुन्छ ।”

Global Ime bank

विनाआर्थिक उपार्जन जीवन निर्वाह कठिन छ । जब केही आर्जन हुँदैन, यस्तो क्षेत्रमा किन हात हाल्ने ? साहित्यकर्ममा सक्रिय व्यक्तिले यस्ता प्रश्न खेप्ने गरेका छन् । अधिकारी साहित्य सिर्जनालाई साधना भएकाले आर्थिक प्राप्ति नहेर्ने जिकिर गर्छन् ।

उनी भन्छन्, “तुलसीदासको एउटा भनाइ प्रसिद्ध छ– स्वान्त सुखाय तुलसी । आफ्नो आत्मसन्तुष्टिका लागि नै केही काम गरिन्छ भने यो भनाइ सार्थक छ । मलाई पनि यही लाग्छ । म जेजति पनि लेख्छु, आफ्नो सुख र खुसीका लागि नै लेख्छु ।” तर पनि मानिसमा केही स्वार्थ लुकेकै हुने उनी स्वीकार गर्छन् ।

साहित्यिक क्षेत्रमा प्रवेश गर्ने अनेक कारण हुन सक्ने उनी बताउँछन् । उनी भन्छन्, “मानिसलाई कुन विषयले कसरी प्रभाव पारिरहेको हुन्छ भन्नेमा भर पर्छ । कसैलाई कुनै घटनाले प्रभावित पार्ला र लेख्ला । कसैलाई कुनै अर्को विषय, प्रसंगले प्रभाव पार्ला ।”

उनले एउटा उदाहरण दिए । जेम्स कट नाम गरेका एक व्यक्ति ४४ दिनसम्म गोसाइकुण्डको हिमक्षेत्रमा हराएका थिए । ४४ दिनपछि उनको सकुशल उद्धार गरियो । पाटन अस्पतालमा केही समय उपचारपछि स्वस्थ भए ।

ती व्यक्ति कुनै लेखक वा साहित्यकार थिएनन् । तर, तिनै व्यक्तिले पछि आफ्नो जीवनी लेखे । र, उनको त्यो किताब अत्यधिक बिक्री हुने पुस्तकको सूचीमा पर्यो । पेसेवर लेखक नहुँदा नहुँदै पनि उनको किताब मन पराइयो ।

अधिकारीले भने, “जेम्सले घटनाबाट प्रभावित भएर जीवनी लेखे । त्यस्तै एक अर्की युवती थिइन्, जसले केही टिपोटहरूलाई व्यवस्थित गरेर किताब लेखेकी छन् । उनको त्यो किताब पनि खुबै चलेको थियो ।”

कुनै घटना, परिस्थिति, भोगाइ अनुभूत गरेर कसैले पनि केही लेख्न सक्छ । आफूले जानेको भाषामा एउटा व्यक्तिले आफ्नो भोगाइ वा जीवनका आयामहरूलाई लेख्न सक्छ । त्यसमा साहित्यिक रोगन लगाउन सक्नु नसक्नु त्यो फरक कुरा भएको उनी बताउँछन् ।

उनी भन्छन्, “साहित्य मूलतः सञ्चार (कम्युनिकेसन)को एउटा सशक्त माध्यम हो । आफूलाई छोएको विषय वा प्रसंगलाई अक्षरका माध्यमबाट कम्युनिकेट गर्न सक्छ, कुनै पनि लेखक वा साहित्यकारले । कसैले कविताबाट गर्ला, कतिले कथा वा उपन्यासबाट कम्युनिकेट गर्ला । कसैले निबन्धबाट पनि गर्ला । तर, साहित्यको मूल ध्येय भनेको कम्युनिकेसन नै हो ।”

एउटा लेखकमा भाषासँगै शिल्प र शैलीको ज्ञान पनि हुन जरुरी रहेको उनी औँल्याउँछन् । तर, कसैको भाषा कमजोर छ भन्दैमा उसले लेख्न सक्दैन भन्ने सोच्न पनि नहुने उनको भनाइ छ ।

उनका कथा, लघुकथा, गीत, संस्मरण, दृष्टिकोणलगायत रचनाहरूको संग्रह प्रकाशित छ । अमेरिकामा रहेर साप्ताहिक रूपमा सूचना प्रविधिका माध्यमबाट साहित्यिक कार्यक्रम सञ्चालन गर्दैै आएका छन् ।

साना–ठूला गरेर डेढ दर्जनजति कृति प्रकाशनमा ल्याइसकेका कथाकार अधिकारी आफू यस क्षेत्रको प्रारम्भिक विन्दुमा नै रहेको बताउँछन् ।

विश्वराज थप्छन्, “म अहिले पनि लेख्न सिकिरहेको छु । सिक्दै अगाडि बढिरहेको छु । विश्व प्रसिद्ध दार्शनिक कन्फ्युसियसको भनाइ छ, ‘मानिसले मर्नुभन्दा अगाडिसम्म पनि केही न केही सिकिरहेकै हुन्छ ।’ यसैलाई म सत्य पनि मान्छु । मैले सिकिसकेँ भन्न सायद कुनै पनि लेखकले चाहँदैन । म त्यो सोच्न पनि सक्दिनँ । लेखकको बारेमा बोल्न सक्ने त पाठक मात्रै न हो ।”

पछिल्ला दिनहरूमा विदेश जानासाथै पुस्तक प्रकाशित गर्ने लहर छ । विश्वराज यसलाई देशको मायासँग जोडछन् । विदेश जाने जो कोही व्यक्तिले सर्वदा सम्झिरहेको हुन्छ, देश । त्यसैले मनका उकुसमुकुस पोख्ने माध्यमका रूपमा लेखनीलाई लिइएको उनको कथन छ ।

त्यसकिसिमको अभिव्यक्तिले साहित्यलाई बलियो र स्तरीय बनाउँछ कि बनाउँदैन ? प्रश्न यो पनि उठन सक्छ । किनभने, डायस्पोरिक भनिएका कतिपय पुस्तक प्रकाशनमा मात्र सीमित भएका छन् । चर्चा–परिचर्चा खासै हुने गरेको पाइँदैन ।

लामो समयदेखि अमेरिकाको ओक्लहोमाको कलेजमा प्राध्यापन पेसामा समेत संलग्न रहेका उनी आफूले के लेखिरहेको छु र पाठकले के चाहिरहेका छन् भन्नेतर्फ ध्यान दिनुपर्नेमा जोड दिन्छन् ।

“मलाई नै कतिपय व्यक्तिले तिम्रो कथामा आख्यानपक्ष कमजोर छ भन्दै आउनुभएको छ । र, मैले यसलाई सधैँ स्वीकार्दै आएको छु । यही स्वीकारोक्तिले मेरो आगामी लेखनीलाई बलियो बनाउन मद्दत मिल्छ,” विश्वराज भन्छन्, “नेपालमा आत्मप्रशंसामा रमाउने बानी छ । र, त्यही बानीबाट युरोप, अमेरिकाका साहित्यकारहरू पनि पीडित छन् । आलोचना र निन्दा अलिकति पनि खप्न सक्दैनन् । साहित्यमा पनि गुनगानकै परम्परा बस्दै गएको देख्छु म ।” यसले कालान्तरमा नराम्रो नतिजा दिने उनको भनाइ छ ।

आलोचनाले केही सिकाउने, आउँदो कृतिलाई अझै राम्रो र पठनीय बन्न मद्दत पु¥याउने उनको तर्क छ । यसै सन्दर्भसँग जोड्दै विश्वराजले पौराणिक पात्र दत्तात्रयको एउटा प्रसंग सुनाए, “दत्तात्रय ऋषिले आफूभन्दा साना–सानालाई पनि गुरु बनाएका थिए अरे ! उनले माछालाई गुरु मानेका थिए, कुकुरलाई गुरु मानेका थिए । बाजसँग केही सिकेका थिए भने माहुरीसँग पनि केही सिकेका थिए ।”

विश्वराजको कथा ‘सागरमणि दाइ नेपाल फर्किनुभयो’ ले अमेरिकाबाट एक व्यक्ति लामो समयपछि नेपाल फर्किएको र देशकै माटोमा केही गर्नुपर्ने सन्देश दिएको छ ।

कथाको एक पात्रमार्फत प्रेषित यो सन्देश विश्वराजको आफ्नै सोचाइ त होइन ? कुराकानीको बिट मार्दै गर्दा प्रसंग उठ्यो । उनले भने, “त्यो कथामा मैले अमेरिकामा नेपालीहरूको भोगाइ, तिनका जीवनशैली र तिनका समस्यालाई देखाउने प्रयास गरेको छु । जहाँसम्म नेपाल फर्किने कुरो छ, म पनि केही वर्षभित्रै नेपाल फर्किन्छु । मेरो मुलुक र माटोका लागि मैले केही गर्नुछ । मैले साहित्य सिर्जनाका लागि पनि केही गर्नु त पर्छ नै ।”


 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १९, २०७९  ०६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement