काठमाडौं । ‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नारासहित दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विश्वभरीबाट छनोट भएका नाटकहरुको सूची र मञ्चन तालिका सार्वजनिक भएको छ ।
आउँदो मंसिर ९ गतेबाट सुरु हुने महोत्सवमा छनोट भएका २२ नाटकको सूची तथा ती नाटकहरुको मञ्चन तालिका महोत्सवको आधिकारिक वेभसाइट www.nitfest.org मार्फत सार्वजनिक भएको हो । मञ्चन तालिका अनुसार २२ नाटकको महोत्सवमा कुल ३२ मञ्चन (शो) हुनेछन् ।
आयोजक मण्डला थिएटर नेपालले सार्वजनिक गरेको सूचीमा नेपालका ६ नाटक र विश्वभरीबाट प्राप्त आवेदनबाट छानिएका १६ नाटकको मञ्चन तालिका प्रकाशित भएको छ । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरु समावेश रहेका मण्डला थिएटरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तालिका अनुसार मण्डला थिएटरको थापागाउँ, काठमाडौंस्थित मुख्य नाटकघर, स्टुडियो र खुल्ला परिसर गरी तीन स्थानमा हरेक दिन फरक–फरक नाटकको एकदेखि पाँच मञ्चनसम्म हुनेछन् । महोत्सवमा ९ नाटकको भने दुई–दुई मञ्चन हुने तालिकामा उल्लेख छ ।
नौ दिनसम्म आयोजना हुने महोत्सव मंसिर ९ देखि मंसिर १७ सम्म हुनेछ । उद्घाटनको दिन दुई र समापनको दिन एक नेपाली नाटक मञ्चन हुनेछन् । उद्घाटन मंसिर ९ गते दिउँसो १ः३० बजे र समापन मंसिर १७ गते साँझ ७ः३० बजे हुनेछ ।
नाटकको सूची र मञ्चन तालिका सार्वजनिक भएसँगै निटफेस्ट दोस्रो संस्करणको महोत्सव निर्देशक तथा मण्डला थिएटरका अध्यक्ष रङ्गकर्मी सिर्जना सुब्बाले नाटकहरुको उत्सव नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवलाई कलाप्रेमीहरुले आफ्नो समयको महोत्सव बनाउने विश्वास व्यक्त गरेकी छन् ।
विभिन्न देशका कला, संस्कृति, राजनीतिक–सामजिक परिवेश र वस्तुस्थिति तथा भावना र संवेगको समग्रता यस महोत्सव रहेको उल्लेख गर्दै यस कार्यलाई साथ, समर्थन र सहयोग मिल्ने पनि उनको विश्वास छ ।