काठमाडौं । वाणिज्य बैंकहरूमा निक्षेप घट्न थालेको छ ।
यही कात्तिक ४ गतेको तुलनामा कात्तिक ११ गतेसम्म वाणिज्य बैंकहरूमा निक्षेप घटेको छ । एक साताको अन्तरालमा निक्षेप १७ अर्ब १३ करोड रुपैयाँ घटेको नेपाल बैंकर्स संघले जनाएको छ ।
कात्तिक ४ गते ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप कायम थियो । कात्तिक ११ गतेसम्म उक्त निक्षेप घटेर ४५ खर्ब २३ अर्ब रुपैयाँ कायम भएको छ ।
कर्जा प्रवाह भने बढेको छ । पछिल्लो एक सातामा कर्जा प्रवाह ५६ करोड रुपैयाँ बढेको छ । कात्तिक ४ गतेसम्म ४२ खर्ब २४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकामा कात्तिक ११ गतेसम्म उक्त कर्जा प्रवाह ४२ खर्ब २५ अर्ब रुपैयाँ कायम भएको छ ।
वाणिज्य बैंकहरूमा निक्षेप संकलन घट्न थालेसँगै कर्जा–निक्षेपबीचको अनुपात (सीडी रेसियो) बढेको छ । कात्तिक ४ गते उक्त रेसियो ८७.२३ प्रतिशत थियो । कात्तिक ११ गते ८७.५८ प्रतिशत कायम भएको छ ।