हाम्रा पुर्खाहरुले लामो जीवन भोगाइका क्रममा प्राप्त अनुभव र ज्ञान समेटेर पछिल्ला पुस्ताका लागि जीवन उपयोगी खुराकका रुपमा थुप्रै उखान टुक्काहरु छाडेर गएका छन् । तीमध्ये कृषि पेसाको महत्त्वमा प्रकाश पार्न बनाइएको एउटा उखान थियो – “उत्तम खेती, मध्यम व्यापार, अधम जागिर” । हाम्रा पुर्खाले यो उखान हचुवाका भरमा बनाएका थिएनन् । बरु, जीवनको लामो अनुभव समेटेर बनाएका थिए ।
उनीहरुले देखाएको बाटो सही थियो । त्यो बाटो परित्याग गरेकाले आज हामी आर्थिकरुपमा पछि परेका हौँ । पुर्खाले देखाएको बाटो अपनाएर कृषिलाई प्राथमिकता दिएको भए हामी आज विकासोन्मुख देशहरुमध्ये पनि सबैभन्दा गरिबको सूचीमा पर्ने थिएनौ । हाम्रा पुर्खाहरुले खेतीलाई उत्तम मान्नुका बलिया आधार छन् । हाम्रो देश कृषिप्रधान देश हो । भनिन्छ, देशको आयको पहिलो आधार कृषि हो । यसलाई सबैले स्वीकार गरेका छन् । सरकारलाई राजस्व बुझाउने ठूला उद्योगहरु धेरै कृषिमै आधारित छन् ।
हामी प्राकृतिक स्रोत र साधनमा धनी छौँ । हाम्रो भूबनोट हिमाल, पहाड र तराईमा विभाजित छ । देशको कुल क्षेत्रफलमध्ये १५ प्रतिशत हिमाल, १७ प्रतिशत तराई र ६८ प्रतिशत भाग पहाडी क्षेत्रले ओगटेको छ । यही भौगोलिक विविधताअनुसारको बहुउपयोगी जल, जमिन, जङ्गल उपलब्ध छन् हामीसँग । त्यसैले त हिमाली र पहाडी भेगमा आर्युवेदिक औषधिको रुपमा प्रयोग हुने जडिबुटीदेखि औषधीय गुण भएका जौ, फापर, कोदो, आलु, मकै, गहुँजस्ता खाद्यान्न पाइन्छ भने स्याउ, सुन्तला, आरु, आलुपखडा, लप्सी जस्ता शक्तिबर्धक फलफूल पाइन्छ । यसैगरी अन्नभण्डार मानिने तराई भेगमा प्रसस्त मात्रामा धान, मकै, गहुँ, दालजस्ता खाद्यपदार्थ र उखु, जुट, सुर्ती, कपास र चिया जस्ता कृषिजन्य उत्पादन पनि उत्पादन हुन्छ । साथै आलु, गोलभेँडा, बन्दा, काउलीजस्ता तरकारी र आँप, लिची, भुइँकटहर, रुख कटहर, मेवाजस्ता फलफूलको पनि उल्लेख्य मात्रामा उत्पादन हुन्छ । हाम्रो देशमा एउटै वस्तु अलग अलग हावापानीमा उत्पादन हुन्छ । जस्तैः हिमाल, पहाड र तराई तीनवटै हावापानी भएको माटोमा आलु फल्छ भने धान गर्मी मौसम भएको झापादेखि हिमाली मौसम भएको जुम्लासम्मा हुन्छ ।
नेपालमा ६ हजारभन्दा बढी नदीनाला रहेका छन् । तिनबाट ८३ हजार मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने गरिएको छ। हामीसँग भएको जलस्रोतलाई विद्युत् उत्पादन र सिँचाईमा उपयोग गर्न सक्यौँ भने हामी कृषिमा आत्मनिर्भर हुन सक्छौँ । खाद्यान्न आयात गर्ने होइन बरु निर्यात गर्न सक्षम हुने छौँ । भनिन्छ, देशको ७० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा संलग्न छन् । कुल क्षेत्रफलमध्ये २८.७५ प्रतिशत जमिन कृषियोग्य छ भने कृषियोग्य जमिनको २९.७४ प्रतिशत सिँचाईयोग्ये छ । बाँकी जमिनमा खेती गर्न आकासे पानीमा भर पर्नुपर्ने अवस्था छ । तर, हामीले थप विद्युत् उत्पादन गरेको खण्डमा आकासे पानीमा भर पर्नुपर्ने जमिनलाई पनि हराभरा बनाउन सकिन्छ । नजिकै रहेको नदीको पानी तानेर सिँचाई गर्न सकिन्छ ।
जलस्रोतको अभाव खेपिरहेका कतिपय विकसित देशहरुले पनि अन्यत्रबाट पानी ल्याएर मरुभूमिको बन्जर जमिनलाई समेत हराभरा बनाएर कृषि उत्पादन गरी निर्यात गर्न सक्षम भएका छन् । हामीसँग त प्रशस्त पानीका स्रोत उपलब्ध छन् । अर्को तरिकाबाट पनि आकासे पानीमा भर पर्नुपर्ने कृषियोग्य जमिनमा सिँचाई गर्न सकिन्छ ।
आवश्यकताअनुसारको पोखरी निर्माण गरेर पोखरीको माथिल्लो सतहमा पानी जमिनले नसोसोस भनेर प्लास्टिक बिछ्याइन्छ । यसलाई प्लास्टिक पोखरी भनिन्छ । हिँउदे बालीको लागि यो प्रविधि उपयुक्त हुन्छ । हाल यो सिँचाई प्रविधि प्रयोगमा आइसकेको छ । खास गरेर ग्रामीण भेगमा तरकारी खेतीका लागि यो प्रविधि अपनाइने गरिएको छ । यस कार्यमा राज्यबाट समेत पहल र आवश्यकता अनुसार सहयोग गर्नु जरुरी छ ।
कृषिको परिपूरकको रुपमा रहेको पशुपालनका लागि आवश्यक चरण क्षेत्रको पनि अभाव छै्रन । देशको कुल क्षेत्रफलको ४४.७४ प्रतिशत भाग जङ्गलले ढाकिएको छ । बन जङ्गलबाट पशुपालनका लागि आवश्यक सोतर, घाँस सहजै पाउन सकिन्छ र त्यसबाट खेतीका लागि आवश्यक कम्पोस्ट मल पनि उत्पादन हुन्छ । यसैगरी थुप्रै प्राकृतिक तालतलैयाहरु रहेकाले कृषिकै एउटा अङ्ग माछा पालन पनि आयस्रोत बढाउने उपायको रुपमा उपलब्ध छ । माछासँगै कुखुरा र बंगुर पालन पनि गर्न सकिने हुँदा त्यसबाट राम्रो आम्दानी गर्न सकिन्छ ।
दुःख लाग्छ, कृषिमा यति धेरै सम्भावना हुँदाहुँदै पनि आज ती कृषि योग्य सयौं रोपनी, बिघा भूमि कृषिमा काम गर्ने जनशक्तिको अभावमा बाँझो बनेर खेर गइरहेको छ । अनी हामी भने विदेशबाट महंगो मूल्यमा खाद्यान्न, तरकारी, फलफूल निर्यात गरेर उपयोग गर्न बाध्य छौँ ।
उपाय के त ?
यतिबेला ग्रामीण भेगका पनि धेरै ठाउँमा मोटर बाटो पुगिसकेको छ । त्यसले कृषि उत्पादनका लागि आवश्यक मल, बीउ, आधुनिक कृषि औजार वा प्रविधि गाउँसम्म र उत्पादित सामान बजारसम्म पुर्याउन विगतमा जस्तो समस्या छैन । सरकारले समयमा कृषकहरुलाई मलखाद र गुणस्तरीय बीउ खेती गर्ने समयमा उपलब्ध गराई दिए पुग्छ । यसको साथै कृषकहरुले उत्पादन गरेका वस्तुहरु खाद्यान्न, तरकारी वा फलफूल सरकार आफैँले उचित मुल्यमा खरिद गरिदिने वा वजार व्यवस्थापनको जिम्मेवारी लिनुपर्छ । अहिलेको दलाली प्रथा अन्त्य गरिनुपर्छ । यसरी उत्पादित वस्तुले सहजरुपमा बजार पायो र उचित मूल्य प्राप्त हुन सक्यो भने किसानलाई पनि खेती गर्न जाँगर लाग्छ ।
परम्परागत ढङ्गले खेती गर्नुभन्दा पनि सम्बन्धित विज्ञद्वारा माटो परीक्षण गराएर जुन खेती वा बाली लगाउँदा उपयुक्त हुन्छ सोही खेती गर्ने चलन सुरु गर्नुपर्छ । उदाहरणका लागि विगतमा खाद्यान्न लगाउने गरिएका ठाउँमा फलफूल खेती पो राम्रो हुन्छ कि ? वा औषधिजन्य जडिबुटी उपयुक्त हुन्छ वा असल जातका मूल्यवान् रुख लगाउँदा पो हुन्छ कि ? विचार गरेर खेती गर्नु उपर्युक्त हुनेछ ।
अहिले अर्को एउटा अवसर पनि प्राप्त भएको छ । धेरै नेपाली युवा विदेश गएर लामो समय कृषिमा काम गरेर फर्केका छन् । तिनको अनुभव, सीप, क्षमता र प्रविधिलाई नेपालको कृषि प्रणालीमा सदुपयोग गर्न सकियो भने कृषि व्यवशायले नसोचेको फड्को मार्नेछ । त्यस्तो जनशक्ति राज्यले नै खोजेर फाइदा लिन सक्नुपर्छ । यति गर्न सके न हामी कसैको निगाहमा बाँच्नुपर्छ न रोजगारी खोज्न घरखेत बन्धकी राखेर विदेसिनु नै पर्छ ।