तराई र काठमाडौं उपत्यकामा केही वर्षदेखि हिउँदमा सास फेर्न मुस्किल हुने गरी वायु प्रदूषण हुनेगरेको छ । यस वर्ष पनि वायु प्रदूषण स्वास्थ्यका लागि जोखिमपूर्ण हुनसक्ने चेतावनी जनस्वास्थ्यविद्हरूले दिएका छन् ।
प्राण वायुलाई बिखालु बनाउने धुवाँ र धुलो वायुमण्डलमा फैलाउने काम भने मूलतः प्रदूषणको मार सहनेहरूले नै गर्छन् । विशेषगरी मोटरबाट निस्कने धुवाँ, निर्माण कार्यबाट उत्पन्न हुने धुलोलगायतले सास फेर्ने हावा नै बिखालु हुने गरेको छ ।
यहाँको हावा बिखालु बनाउन नेपालभित्रै हुने वायु प्रदूषण नै पर्याप्त छँदै थियो छिमेकी मुलुकबाट पनि हावाले बिख बोकेर आउन थालेको समाचार छ । भारतको पन्जाब र हरियाणाका किसानले खेतमा पराल पोल्दाको धुवाँ यस वर्ष पनि नेपाल आइपुगेको बताइएको छ ।
बर्खामा सामान्य प्रायः भए पनि पानी पर्न छाड्नेबित्तिकै काठमाडौं उपत्यकाको हावा मानव स्वास्थ्यका लागि अनुपयुक्त हुन थाल्छ । पानी पर्न छाडेको साता दिन पुग्दा नपुग्दै जोखिमपूर्ण भइसकेको छ ।
उपत्यकाजस्तै तराईका केही सहरमा प्रदूषण सामान्य छ भने केहीमा बढी नै जोखिमपूर्ण भइसकेको छ । तराईमा हुरी चल्न थालेपछि अपेक्षाकृत प्रदूषण कम हुन्छ भने उपत्यकामा त हावाले उडाउने ठाउँ पनि छैन ।
श्वासप्रश्वासका बिरामी, बूढापाका र बालबालिकाका लागि वायु प्रदूषण ज्यानमारा पनि बन्न सक्छ । सामान्य स्वस्थ व्यक्ति पनि बिखालु हावामा सास फेर्न पर्दा बिरामी हुने जोखिम बढी नै हुन्छ ।
भारतबाट आउने बिखालु हावाको नियन्त्रणका लागि त दुवै देशबीच दीर्घकालीन सहकार्य आवश्यक हुन्छ । तर, स्थानीयरूपमा हुने वायु प्रदूषण भने सरकार र नागरिकले चाहेमा धेरै हदसम्म नियन्त्रण हुन्छ ।
निर्माण कार्यको निकट निगरानी गरेर धुलो उडाउन रोक्ने, सडकमा धुलो उड्न नदिने र इटाभट्टाहरूमा धुँवा नियन्त्रण गर्ने प्रविधि जडान गराउने गर्न सकिन्छ । यसैगरी सवारी प्रदूषण मापदण्ड नपुगेका गाडी चलाउन नदिने र धुवाँ हुने वस्तु घाम लागेका बेलामात्र पोल्नेजस्ता उपाय अपनाए वायु प्रदूषण केही मात्रामा घट्छ ।
हुनत, नेपालमा जनस्वास्थ्य राज्यको सबैभन्दा मुख्य प्राथमिकताको विषय अझै हुनसकेको छैन । डेङ्गु नियन्त्रणका लागि तीनै तहका सरकार उदासीन देखिनु यसैको प्रमाण हो । तैपनि, वायु प्रदूषण नियन्त्रण र रोकथाममा कम्तीमा स्थानीय तहमा निर्वाचित प्रतिनिधिहरू गम्भीर र जिम्मेवार बनिदिए हुन्थ्यो ।
दीर्घकालीनरूपमा त उपत्यकालगायत प्रदूषण बढी हुने सहरहरूमा सार्वजनिक यातायात प्रवर्धन गरेर विद्युतीय ऊर्जाको प्रयोग बढाउनु मुख्य उपाय हुनसक्छ । तत्कालका लागि निजी र सरकारी सवारी साधनहरूलाई नियन्त्रणका साथै धुवाँ फैलने काम गर्न रोक्नुपर्छ । उपत्यकाका हकमा नगरपालिकाहरू जिम्मेवार भए पुग्छ ।