site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधेयकमा बोल्न गएका राज्यमन्त्रीलाई सांसदहरूले पारे र्‍याखर्‍याख्ती !

काठमाडौं । भ्रष्टाचार निवारण ऐनमा आफ्नो संशोधन प्रस्तुत गर्न संसदीय समितिमा पुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई सांसदहरूले र्‍याखर्‍याख पारेका छन् । मन्त्रीकै पार्टी नेपाली कांग्रेसका सांसदसमेत रहेका महामन्त्री विश्वप्रकाश शर्माले नै प्रश्न उठाएपछि कान्छारामलाई जावाफ दिन हम्मेहम्मे परेको थियो । सांसद शर्माले कान्छारामकै कम्पनी कालोसूचीमा रहेको विषयमा कारण मागेका थिए ।

“उहाँको कम्पनी कालोसूचीमा परेक‍ो कुरा आएको छ । यसमा उहाँले स्पष्ट पार्नुपर्छ,” शर्माले भनेका थिए, “यसमा राज्य व्यवस्था समितिको पनि ध्यान जानुपर्छ ।”

जवाफमा राज्यमन्त्री कान्छारामले कालोसूचीको कारण खुलाएनन् । बरु राज्यमन्त्री हुनुअघि नै कम्पनीबाट बाहिरिएको बताए ।

“सांसदको टिकट पाउनुअघि साढे दुई वर्षअघि नै हात उठाएर कम्पनीबाट बाहिर निस्केको छु,” कान्छारामले भने, “अहिले  कानुनले ठहरे एक मिनेट पनि पदमा बस्दिनँ ।”

उनले कम्पनीमा आफू रहँदाको जिम्मेवारी लिने भन्दै सांसद पदबाट मात्र नभएर गलत ठहरिए राजनीतिबाटै सन्न्यास लिन तयार रहेको बताए । ठेकेदार पृष्ठभूमिका कान्छारामले गलत ठहरिए राजनीतिबाट पुरानै काममा फर्किने जवाफ दिए । 

“म माननीयबाट हैन, राजनीतिबाट बाहिर निस्कन तयार छु,” कान्छारामले भने, “सबै छाडेर म पुरानै काममा फर्कन्छु ।”

samiti-rajya-bebasta-1731661103.JPG

उनले आफ्नो कम्पनी २०४४ सालमा दर्ता भएकामा आफूले २०७९ को चुनाव टिकट पाउनुअघि नै छाडेको बताए । 
“अहिले कानुनले भन्छ भने सबै छाड्न तयार छु,” कान्छारामले भने ।

नेकपा (एमाले)का सांसद रघुजी पन्तले भने जवाफभन्दा परिणाम महत्त्वपूर्ण हुने बताए । त्यसकारण काम चाँडो गर्न उनको आग्रह छ ।

“मन्त्रीको कम्पनीले विकास निर्माण र बाटो नबनाएको भन्ने गुनासो छ,” सांसद पन्तले भने, “यसमा जवाफ चाहिएन, तपाईं अलग्गिए पनि काम छिटो गर्न भन्दिनुहोला ।”

त्यसपछि राज्यमन्त्री कान्छारामले कम्पनीसँग अर्बौको सम्पत्ति रहेको भन्दै गलत भए क्षतिपूर्तिका लागि पनि तयार हुने बताए ।

“अर्बौंको सम्पत्ति राखेर कम्पनी खोलेको छ । पैसा तिर्न तयार छौँ,” जवाफमा कान्छारामले भने ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३०, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्