काठमाडौं । अभिनेता पूर्णविक्रम शाह (पल शाह)को तर्फबाट जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखरामा पुनरावेदन दर्ता गर्ने तयारी भएको छ । शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले यही हप्ता पुनरावेदन दर्ता गरिने जानकारी दिए ।
पलविरुद्ध नाबालिगमाथि जबरजस्ती करणी मुद्दामा नवलपुर जिल्ला अदालतले भदौ २१ सफाइ दिएको थियो । जबरजस्ती करणीको अभियोजनमा सफाइ दिएको भए पनि शाहलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै दुई वर्ष ६ महिनाको कैद सजाय र नाबालिकालाई १० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएको थियो ।
सोही फैसलाविरुद्ध पुनरावेदन पत्र दर्ता गराउन शाहका कानुन व्यवसायी उच्च अदालत पोखरा जान लागेका हुन् । शाहका वकिल यदुनाथ खनालका अनुसार जिल्ला अदालतबाट भएको सो फैसला त्रुटिपूर्ण छ र त्यही आधारमा उनीहरुले पुनरावेदन गर्न लागेका हुन् ।
जिल्ला अदालतको फैसलामा नाबालिगमाथि बलात्कार भएको पुष्टि हुन नसकेको भन्दै शाहले जबरजस्ती करणीको अभियोजनबाट सफाइ पाएका थिए । तर, प्रमाणमा प्राप्त भएका अडियो र मेसेजहरुको आधारमा बालयौन दुरुपयोगमा सजाय भएको हो ।
“न्यायाधीशले अभियोगमा माग नै नगरिएको बालयौन दुरुपयोगको अभियोग लगाएर सजाय तोक्ने फैसला गर्नु भएको छ, त्यो फैसला प्रथम दृष्टिमै त्रुटिपूर्ण छ,” खनालले भने । उनले वादीले आफूलाई जबरजस्ती करणी नभएको भन्दै अदालतसामु बयान गरिसकेपछि त्यही बयानलाई प्रमाणको रुपमा ग्रहण गर्नुपर्ने बताए । अदालत अगाडि बयान गर्दा नाबालिग र जाहेरवालाले ‘गलतफेमी’ले गर्दा जाहेरी दिएको कुरा व्यक्त गरेको हुँदा सो घटना नै नघटेको उनको तर्क छ ।
फौजदारी मुद्दामा अभियोग पुष्टि गर्ने भार अभियोगकर्तामा हुने र सोको पुष्टि हुन नसके अभियुक्तले सफाइ पाउने आधारको बर्खिलाफ न्यायाधीशले माग गरिएको अभियोगभन्दा छुट्टै अभियोगमा सजाय गर्ने गरी गरेको फैसला सर्वोच्च अदालतबाट स्थापित सिद्धान्तहरुको विपरीत भएको समेत खनालले बताए ।
यता नवलपुर जिल्ला सरकारी वकील कार्यालयका न्यायाधिवक्ता कमलराज पन्थीले भने अहिलेसम्म आफूहरुले प्रमाणित फैसला नै प्राप्त नगरेको बताए । उनले फैसला प्राप्त भएपछि मात्र पुनरावेदनमा जाने वा नजाने विषयमा निर्णय गरिने जानकारी दिए ।