काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक घट्दो लयमा रहेको छ । गत वर्षको भदौ २ गते हालसम्मकै उच्च ३२ सय विन्दुमा पुगेको नेप्से परिसूचक हाल साढे १८ सय विन्दुको आसपास छ ।
परिसूचकसँगै कारोबार रकम पनि घट्दै गएको छ । परिसूचक उच्च विन्दुमा पुग्दा २१ अर्ब रुपैयाँसम्मको सेयर कारोबार भएकोमा हाल ५० करोड हाराहारीमा कारोबार हुँदै आएको छ ।
विभिन्न कम्पनीको सेयर मूल्य पनि घटेको छ । बजार बढेर उच्च विन्दुमा पुग्दा एक हजार रुपैयाँभन्दा बढी पुगेको कम्पनीको सेयर मूल्य अहिले घटेर २००/३०० को हाराहारीमा छ । कतिपय राम्रै नाफा आर्जन गर्ने र प्रतिफल दिने कम्पनीको सेयर मूल्य पनि अहिले कम छ ।
यसरी सेयर मूल्य कम भएको समयमा दीर्घकालीन लगानी गर्नेहरूलाई अवसर हुन सक्ने सेयर विश्लेषकहरू बताउँछन् । तर, कम मूल्य हुने कम्पनीहरूमा पनि त्यसको पफोर्मेन्स हेरेर मात्र लगानी गर्नुपर्ने उनीहरूको सुझाव छ ।
मूल्य कम हुनेमा हाइड्रोपावर कम्पनीहरू बढी छन् । वाणिज्य बैंकको पनि सेयर मूल्य कम छ ।
यही कात्तिक ६ गतेको बजार मूल्यलाई आधार मान्दा २९ कम्पनीको सेयर मूल्य २१० रुपैयाँभन्दा कम छ । सबैभन्दा कम सेयर मूल्य हिमालयन दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको छ । यो कम्पनीको सेयर मूल्य १५४ रुपैयाँ छ ।
२०० रुपैयाँभन्दा कम सेयर मूल्य हुनेमा १७ कम्पनी छन् । धौलागिरि लघुवित्त वित्तीय संस्था, सिटिजन्स बैंक, लक्ष्मी बैंक र नेपाल इन्फ्राइट्रक्चर बैंक (निफ्रा)को सेयर मूल्य २०० रुपैयाँभन्दा कम छ ।
हाल लक्ष्मी बैंकको सेयर कारोबार १९८.२० रुपैयाँमा करोबार भइरहेको छ । निफ्राको १८७.१०, सिटिजन्स बैंकको १८४.९० र धौलागिरि लघुवित्तको १७९.७० मा कारोबार भइरहेको छ ।
यस्तै, प्रभु बैंक, सनराइज बैंक र सोल्टी होटेलको २०० रुपैयाँको आसपासमा सेयर कारोबार भइरहेको छ ।
२१० रुपैयाँभन्दा कममा सेयर कारोबार हुनेमा २२ हाइड्रोपावर कम्पनी छन् । यी हाइड्रोपावर कम्पनीको सेयर मूल्य बजार बढ्दा ४०० रुपैयाँमाथि पुगेको थियो ।