site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
विश्वप्रसिद्ध अल्काट्राज बन्दीगृहमा एक दिन 
Sarbottam CementSarbottam Cement

तन्नेरी उमेरमा कुनै पनि व्यक्तिले मनले त चाहने तर यथार्थमा विरलै प्राप्त हुने एउटा खास चाहना (फैन्टसी)को एउटा स्यानो फब्ल्याँटो मस्तिष्कमा लुकाएर राखेको हुन्छ । दिनको कम्तीमा एकपल्ट ऊ त्यसको बारेमा घोत्लिएर सोच्छ । त्यो सोचाइ दिन वा रातको कुनै प्रहरमा पनि हुनसक्छ ।

एक छिन आँखा चिम्म गरेर त्यस सपनाभित्र रुमलिँदा ऊ आफूलाई रोमाञ्चित भएको पाउँछ । यदाकदा उसको त्यो चाहना उसको वास्तविक सपनामा केही छिनको लागि जीवन्त भएर पनि देखापर्छ । त्यस्तो अवस्थामा उसलाई हुनसम्मको आनन्दको अनुभूति हुने गर्दछ । मेरो पनि त्यस्तै एउटा चाहना थियो ।

अमेरिका आउनुभन्दा धेरैअघि मैले नेपाल छँदै अमेरिकाको विश्वप्रसिद्ध म्याक्सिमम् सिक्योरिटी प्रिजन (अधिकतम सुरक्षायुक्त बन्दीगृह) ‘अल्काट्राज’का बारेमा एउटा अंग्रेजी चलचित्र हेरेको थिएँ, जसको नाम थियो ‘इस्केप फ्रम अल्काट्राज’ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस चलचित्रमा कसरी त्यहाँका केही बन्दीहरूले जेलबाट भागेर समुद्र तरी स्यानफ्रान्सिस्को पुग्ने असफल प्रयत्न गरेको देखाइएको थियो । अहिलेको जस्तो डिजिटल प्रविधि त्यस बेला ननिस्किसकेकाले पुरानै प्रविधिको माध्यमबाट खिचिएको त्यो चलचित्र अलिक धमिलै थियो । तैपनि, कथा बुझिन्थ्यो र अल्काट्राज बन्दीगृहको दुर्भेद्यता राम्रैसँग देख्न र मनन गर्न सकिन्थ्यो ।

चट्टानैचट्टानले बनेको त्यस टापुमा निर्मित त्यो बन्दीगृह हेर्दा मात्र पनि शरीरमा काँडा उम्रने खालको थियो । मलाई किनकिन त्यो चलचित्र हेरेपछि एकप्रकारको रोमाञ्चको अनुभूति भयो र मस्तिष्कको एउटा कुनामा त्यो रोमाञ्चकारी ठाउँमा पुगेर चलचित्रमा देखाइएजस्तै दृश्यहरू हेर्न पाए हुन्थ्यो भन्ने गहिरो लालसा कुण्डली मारेर बस्यो ।

Global Ime bank

त्यसपछि सन् १९९३ मा अमेरिका आइसकेपश्चात् मैले अल्काट्राजसम्बन्धी अर्को एउटा चलचित्र हेर्ने मौका पाएँ । त्यस चलचित्रको प्रमुख भूमिकामा जेम्स बोन्डका रूपमा प्रसिद्धि कमाएका अभिनेता सन् कनेरी र युवा नायक निकोलस केज थिए । चलचित्रको नाम थियो ‘द रक ।’ चट्टान बुझाउने अंग्रेजी शब्द ‘रक’ अल्काट्राज टापुको चट्टानी भौगोलिक विशेषताको कारण मानिसहरूले दिएको उपनाम थियो ।

यो चलचित्र पनि हेरिसकेपछि त मेरो मनमा रहेको अल्काट्राजको फ्यान्टासीले झनै विकराल रूप लियो । अमेरिका आइसकेपछि आफ्नो फ्यान्टासी किन पूरा नगर्ने भन्ने ठनाइ आयो ।

तर, त्यो ठनाइ चौबीस वर्षसम्म ठनाइ नै रहिरह्यो ! पच्चीसौँ वर्ष लागेपछि मात्र त्यो रहर पूरा गर्ने अवसर प्राप्त भयो । चौबीस वर्षको अवधिमा मैले अमेरिकाका कैयौँ राज्यहरू घुमिसकेको थिएँ । करिब तीन हजार माइल पर अल्काट्राज रहेको स्यानफ्रान्सिस्को मात्र पुग्नसकेको थिइनँ ।

मेरो यो फ्यान्टासी कसरी पूरा भयो भन्ने कुरा सविस्तार भन्नुभन्दा अघि अल्काट्राज टापु र यसमाथि खड़ा गरिएको बन्दीगृहको बारेमा एउटा संक्षिप्त परिचय दिन उपयुक्त हुनेछ भन्ने ठान्दछु ।

अल्काट्राज टापु स्यानफ्रान्सिस्को खाडीमा पर्दछ, जुन स्यानफ्रान्सिस्को महानगरदेखि दुई किलोमिटरको दूरीमा छ । बाइस एकड जमिनमा रहेको यस टापुमा मुख्य बन्दीगृहका अतिरिक्त प्रशासनिक भवनहरू, ब्यारेक तथा जेल अधिकारीहरूका लागि आवास भवनहरू छन् ।

टापुको वरिपरि फैलिएको खाड़ी अत्यन्त गहिरो छ र यसको सतहमुनि बग्ने पानीको धार अत्यन्तै तीव्र गतिको छ । धारको विपरीत शक्ति (जहाज) को प्रयोग नगरेमा कुनै पनि वस्तुलाई त्यस धारले एक निमेषमा गोल्डेनगेट पुलमुनिको बाटो हुँदै प्रशान्त महासागरमा लगेर फ्यालिदिन्छ ।

यस टापुको वरिपरि रहेको खाडीको पानीको तापक्रम जुनसुकै मौसममा पनि अत्यन्तै चिसो रहन्छ । यस्तो ठिहिर्याउने पानीमा धेरै बेर टिक्न आम मानिसलाई असम्भवै हुन्छ ।

अल्काट्राज टापु पहिले अमेरिकी सैन्यको अधीनमा थियो । सन् १९३४ देखि यसलाई अमेरिकी संघीय सरकारले अधिकतम सुरक्षायुक्त बन्दीगृहको रूपमा परिणत गर्दै सन् १९६३ सम्म यसको सञ्चालन गर्यो । यस अवधिमा देशका अन्य जेलमा तह लगाउन नसकिएका खुँखार अपराधीहरूलाई यस जेलमा राखी सिधा पार्ने प्रयत्न गरिन्थ्यो ।

यस्ता दुर्दान्त अपराधीहरूमध्ये एक अमेरिकामा ‘प्रोहिबिशन’ (मदिराको उत्पादन, आयात, पारवहन अनि बिक्री–वितरण माथि सन् १९२० देखि १९३३ सम्म लागेको संवैधानिक प्रतिबन्ध) को बेलाको नामुद ग्याङस्टर डन् एल् ‘स्कारफेस’ कपोन् थियो, जो साढे चार वर्षसम्म अल्काट्राज जेलमा रह्यो ।

उसलाई पहिले जर्जिया राज्यको जेलमा राखिएको थियो, तर त्यहाँ बसुञ्जेल उसको बाहिरी दुनियाँमा रहेका आफ्ना मानिसहरूसँग गोप्य रूपमा निरन्तर सम्पर्क रहिरहेको र त्यसैको बलमा जेलबाटै ऊ शिकागो महानगरीमा आफ्नो अवैध धन्दा चलाउन सफल भइरहेको थियो ।

त्यहाँबाट अल्काट्राज सारेपछि ऊ चुमुक्क पर्यो । उसको जीवनी लेख्ने लेखक जोन कोब्लरका अनुसार एकपल्ट उसले जेलको वार्डेनलाई भनेको थियो रे, “अल्काट्राजले मलाई साँच्चै नै मेरो कन्धनीमैँ समात्यो ।”
    
एल् कपोन कति कुख्यात थियो भने उसलाई जर्जियाबाट अल्काट्राजमा सरुवा गर्दा ट्रेनमा ल्याइएको थियो । त्यस बेलाको जेल वार्डेन कैदीको सुरक्षाप्रति अत्यन्तै चिन्तित थिए । कपोनले भाग्ने प्रयत्न गर्ला भन्ने भयले उनले कैदीलाई ट्रेनबाट ओराली जहाजमा चढाउनुभन्दा बरु उसलाई राखेको रेलको डिब्बा नै जहाजमा राखी एक्कैचोटि अल्काट्राजमा ओराल्ने तजबीज मिलाए ।

अन्य कुख्यात बन्दीहरूमा जर्ज ‘मशीनगन’ केली थियो, जसले अपहरण अभियोगमा १७ वर्ष त्यहाँ बितायो । त्यस्तै अर्को थियो एल्भिन कार्पिस, जसले सबैभन्दा लामो अवधि २५ वर्ष त्यहाँ बितायो ।

त्यस्तै अर्को थियो रबर्ट स्ट्राउड, जसलाई सबैले ‘बर्ड म्यान’को उपनाम दिएका थिए । किनभने, अल्काट्राजमा आउनुभन्दाअघि उसलाई क्यान्सास राज्यको लेभनवर्थ जेलमा राखिएको थियो, जहाँ उसले जेलमै चराहरू पाल्ने गर्थ्यो ।

प्रायजसो संसारका सबै बन्दीगृहहरूमा केही मापाका सूरा कैदीहरूले भाग्ने जमर्को गर्ने गरेको पाइन्छ । त्यस्ता प्रयासमध्ये कतिपय सफल हुन्छन् त कतिपय विफल । जतिसुकै उच्चतम सुरक्षायुक्त बन्दीगृह भने पनि अल्काट्राजबाट पनि केही मशहूर कैदीहरूले भाग्ने प्रयत्न गरे ।

यस बन्दीगृहको २९ वर्षको इतिहासमा जम्माजम्मी १४ वटा भाग्ने प्रयासहरू भए, जसमा ३६ जना कैदीहरू संलग्न थिए । यी ३६ जनामध्ये २३ जना पक्राउ परे, ६ जनालाई भाग्दै गर्दा गोली हानी मारियो, २ जना डुबेर मरे र ५ जना बेपत्ता भए ।

बेपत्ता भएका ५ जना कैदीहरू अहिलेसम्म पनि पत्ता लागेका छैनन् । तिनीहरूका बारेमा स्यानफ्रान्सिस्कोमा अनेकौंँ किम्बदन्तीहरू सुन्न पाइन्छन् । जसअनुसार केहीले ती खाडी पार गरी स्यानफ्रान्सिस्को सहरमा गुमनाम जीवन बिताइरहेका छन् भन्छन् भने केहीले ती खाडीमै डुबी मरे भन्छन् ।

आजसम्म पनि ती पाँचजनाका कुनै हाडखोर वा त्यस्तै अन्य कुनै चिह्न फेला नपरेको हुनाले उनीहरू कहाँ गए वा उनीहरूमाथि के भयो भन्ने कुरा रहस्य नै रहिआएको छ ।

अरू कतै तह लाग्न नसकेका खुँखार अपराधीहरूलाई तह लगाउन स्थापित गरिएको अल्काट्राज बन्दीगृह अन्ततः सन् १९६३ मा पूर्ण रूपले बन्द गरियो । यसको प्रमुख कारण देशका अन्य बन्दीगृहहरूको तुलनामा यसको सञ्चालन खर्च अत्यधिक हुनु नै थियो ।

बन्दीगृह टापुमा भएकाले प्रत्येक वस्तु ठूलो रकम खर्च गरी जहाजबाट ओसार्नुपर्ने हुन्थ्यो । विशेष गरी पिउने पानी ल्याउने र टापुको फोहोरमैला लिएर जाने महाभारत सबैभन्दा ठूलो समस्या थियो । त्यसका अतिरिक्त टापुमा भएका जेलका भवनहरू नुनिलो समुद्री हावाको अनवरत चुटाइबाट भत्किन पनि लागेका थिए ।

अहिले अल्काट्राज टापु अनि यसको बन्दीगृह क्यालिफोर्निया राज्यको गोल्डेनगेट राष्ट्रिय मनोरञ्जन क्षेत्रअन्तर्गत राखिएको छ र यो स्यानफ्रान्सिस्को महानगरका कतिपय प्रमुख पर्यटकीय स्थलहरूमध्ये सबैभन्दा लोकप्रिय रहिआएको छ्र । यस टापुलाई चलचित्र निर्माताहरूले धेरैपटक आफ्ना चलचित्रमा पृष्ठभूमिका रूपमा पनि चित्रित गरेका छन् ।

यी त भए मेरो फ्यान्टासीको स्थानसम्बन्धी तथ्यगत परिचयात्मक प्रस्तुति । अब लागौँ मेरो यससम्बन्धी रोचक यात्रा संस्मरणतिर ।

अमेरिकामा धेरैवटा मनोरम दर्शनीय महानगरहरू छन्, जसमध्ये क्यालिफोर्निया राज्यअन्तर्गत पर्ने स्यानफ्रान्सिस्को महानगर पनि एउटा हो । मैले धेरै व्यक्तिहरूबाट यस ठाउँको बारेमा प्रशंसा नै प्रशंसा सुन्दै आएको थिएँ ।

त्यसका अतिरिक्त त्यहाँ खिचिएका चलचित्रहरूबाट पनि त्यहाँको उपल्लो दर्जाको मनोरमता सिने–पर्दामा मैले हेर्दै आएको थिएँ । झन् पहिले नै त्यहाँ एकपल्ट पुगेर आइसकेकी मेरी श्रीमतीले प्रशंसाको पुल बाँध्दा त मेरो अधैर्यले पराकाष्ठा नै नाघ्यो । कहिले जान पाउँला भनी मनमनै म छटपटिइरहेँ ।

त्यो छटपटी सन् २०१७ सालको जुलाई महिनामा शान्त भयो, जब हामी बूढाबूढीले वाशिङगटन राज्यको सियाटल भ्रमण सकेर स्यानफ्रान्सिस्को जाने निधो गर्यौँ । सबैले सियाटलबाट स्यानफ्रान्सिस्को जान हवाईजहाज होइन ट्रेन लिने सल्लाह दिए । किनभने, त्यसरी जाँदा अत्यन्त चित्ताकर्षक प्राकृतिक दृश्यहरू अवलोकन गर्न पाइने हुन्थ्यो ।

स्यानफ्रान्सिस्कोमा धेरै लामो समयदेखि बसोबास गरिरहेका हाम्रा भदाभदैसँग सल्लाह गरी हामीले रेलकै टिकट लियौँ । झन्डैझन्डै चौबीस घण्टा लाग्यो स्यानफ्रान्सिस्को पुग्न, तर त्यसको एकएक पल अविस्मरणीय बन्न पुग्यो ।

स्यानफ्रान्सिस्को डाउनटाउन पुगेपछि पनि हामीले अझै अलिकति यात्रा गर्न बाँकी थियो, किनभने हाम्रा भदाभदै त्यहाँबाट करिब पच्चीस मिनेट पर रहेको अर्को सहर स्यानब्रुनोमा बस्थे ।

मैले मेरो फोनमा रहेको उबर ट्याक्सीको एपबाट एउटा गाडी मगाएँ । झन्डै दश मिनेटमा एउटा सानदार कार आएर हाम्रो अगाडि रोकियो । हामी त्यसमा चढेर स्यानब्रुनोतर्फ लाग्यौँ । त्यस कारको मालिक टर्किश रहेछ र स्थानीय विश्वविद्यालयमा पढ्दै रहेछ । फुर्सदको समयमा उबर ट्याक्सी चलाई आफ्नो पढाइ खर्चको जोहो गर्दो रहेछ ।

हामी नेपालका हौँ भन्ने जानेपछि ऊ निकै खुसी भयो, किनभने उसले नेपालको बारेमा धेरै सुनेको रहेछ र भगवान् बुद्धको बारेमा उसलाई निकै ज्ञान रहेछ । गफगाफमै करिब २५ मिनेटमा हामी स्यानब्रुनो आइपुग्याँै ।

फोन गर्दा नै उबर कम्पनीसँग भाडा निधो भइसकेको र मेरो क्रेडिट कार्डबाट पैसा लिइसकेकोले ड्राइभरलाई धन्यवाद दिँदै हामी भदाभदैको स्वागतमा हेलियौँ ।

भोलिपल्ट स्यानफ्रान्सिस्को घुम्न जाने योजना बन्यो । मलाई चाहिँ सबैभन्दा पहिले अल्काट्राज नै हेरिहाल्ने हुटहुटी थियो । भदै अमीषाले डाउनटाउनमा आफ्नो काममा जाँदा हामीलाई पियर ३९ मा ओरालिदिइन् र साढे पाँच बजेतिर त्यहीँ लिन आउने भन्दै गइन् ।

पिएर भनेको पानीजहाज वा फेरी आएर पार्क गर्ने ठाउँलाई भनिँदो रहेछ, जहाँ पर्यटकहरूलाई जहाजमा चढाउने र ओराल्ने गरिँदो रहेछ । त्यहाँ जम्मा ४५ वटा पिएरहरू रहेछन् । जसमध्ये पिएर ३९ चाहिँ सबैभन्दा लोकप्रिय रहेछ ।

अर्को चाखलाग्दो कुरा के रहेछ भने सबै पिएरहरूको नम्बर बिजोडी रहेछन् । पिएर १ देखि पिएर ४५ सम्म बीचबीचमा पूर्ण नम्बरमा आधा नम्बर जोडिएको पिएर पनि हुँदोरहेछ, जस्तै १ १÷२ वा ४३ १÷२ (साढे एक वा साढे त्रिचालिस) ।

पिएर ३९ समष्टिगत रूपमा पर्यटकहरूको मुख्य आकर्षण केन्द्र हो, किनभने यस ठाउँमा प्रशस्त रमाइलो गर्ने ठाउँ र नयनाभिराम दृश्यहरू देख्न पाइन्छ । यो दुई तलामा बनेको छ र यसभित्र सयकड़ौँ पसलहरू, रेस्टुरेन्ट, फास्टफुड त छन् नै, साथै अल्काट्राज टापु र गोल्डेनगेट पुलको मनोरम दृश्य पनि राम्ररी देखिन्छ ।

यसको अर्को चाखलाग्दो पक्ष हो पुछारमा रहेको सी–लायन (समुद्री सिंह) को कोलोनी । यी सी–लायनहरू सन् १९८९ मा स्यानफ्रान्सिस्कोमा आएको भूकम्पपश्चात् तर्सिएर यतातिर सरेका हुन् ।

पछिपछि गएर तिनीहरूको संख्या निकै नै बढ्न थालेको देखी मानिसहरूले त्यहाँ राख्ने गरेका फेरी, नौका, जहाजहरू हटाएर लगे । अहिले त्यहाँ रहेका काठका च्याप्टा फलेकहरूमा यी सी–लायनहरूको रजाइँ चलिरहेको छ । यिनमध्ये अधिकांश मुर्दाजस्तै अचल भएर लम्पसारिएका देखिन्छन् भने एक्का–दुक्काचाहिँ घरी पानीमा हाम्फाल्ने घरी फलेकमा उक्लने गरिरहन्छन् ।

मेरी बूढीले त्यो देखेर ठट्टा गर्दै टिप्पणी गरेकी थिइन्, “मुर्दाजस्तै लम्पसार परेकाजति सबै सिनियर सिटिजन हुनुपर्छ ।”

पिएर ३९ का विभिन्न आकर्षणहरूमध्ये नाचगान र चटक देखाउने कार्यक्रमहरू पनि हुन् । विभिन्न देशबाट पढ्न आएका विद्यार्थीहरूमध्ये केहीले यहाँ आएर रमाइला चटक देखाउँछन्, हँसाउछन् ।

कोही कोही भूत वा राक्षसजस्तै मेकअप गरेर पेटीमा अचल भएर बसेका हुन्छन् । यदि, उनीहरूसँग उभिएर फोटो खिचाउन चाह्यो भने पैसा माग्छन् ।

पिएर ३९ को रमाइलो हेर्ने काम एक घण्टामा सिध्याएर हामी हतारहतार पिएर ३३ तिर लम्कियौँ, किनभने अल्काट्राज टापु जाने फेरी त्यहीँबाट मात्र पाइन्थ्यो । हुन त दुई–चारवटा अन्य पिएरहरूबाट पनि अल्काट्राज जाने फेरीहरू पाइन्छन्, तर ती त्यहाँ रोकिँदैनन्, केवल टापुको परिक्रमा गरेर मात्र फर्किन्छन् । पर्यटकहरूलाई त्यहाँ ओरालेर मनग्गे घुम्न दिई फर्काएर फेरि पिएरमा ल्याइदिने काम पिएर ३३ बाट चल्ने फेरीहरूले मात्र गर्छन् ।

पिएर ३३ मा पुग्नेबित्तिकै त्यहाँ लागेको मानिसहरूको लाम देखेर हाम्रो मन खिस्रिक्क भयो । एकजना पिएर कर्मचारीलाई टिकटको बारेमा सोध्दा त्यस दिनका लागि सबै टिकट बिक्री भइसकेको जानकारी दियो ।

परेन त फसाद ! उसले भनेअनुसार ग्रीष्मकालीन सिजनमा अधिकांश मानिसहरू हप्ता–दुई–हप्ताअघि नै अनलाइनबाट टिकट बुक गर्दा रहेछन् । हामी अति नै निराश भयौँ ।

हाम्रो नैराश्य देखेर त्यो कर्मचारी ‘लाखे है, म यस्सो बुझेर आउँछु...’ भन्दै फेरीतिर गयो । एकैछिनमा ऊ मुस्कुराउँदै आयो । ऊसँग एउटी जवान केटी पनि थिई ।

कुरा बुझ्दा त्यो केटी १२ जनाको समूहमा आएकी रहिछ र अन्तिम समयमा दुईजना नआइदिएकाले दुइटा टिकट उब्रिएको रहेछ, जुन ऊ बेच्न चाहन्थी । प्रतिव्यक्ति टिकट मूल्य ३५ डलर पर्थ्यो । उसले सत्तरी डलर मागी । मेरी श्रीमती मोलमोलाई गर्न खप्पिस भएकीले साठ्ठीमा अड्किइन् । आफ्नो ग्रुप छुट्ला भन्ने डरले विचरीले हतारहतार साठ्ठीमै हामीलाई दुइटा टिकट दिई ।

हामी दंगदास ! कर्मचारी पनि हामीलाई सहयोग गर्न सकेकोमा दंगदास ! उसले भनेअनुसार हाम्रो भाग्य निकै नै बलियो रहेको हुनुपर्छ, किनभने त्यसप्रकारले सिजनमा त्यसरी टिकट पाउनु त्यो पनि दश डलर डिस्काउन्टसहित ! त्यस्तो विरलै हुन्छ रे ।

टिकट लिएर हामी लाइनमा लाग्यौँ । ठिक टाइममा यात्रुहरूलाई फेरीभित्र प्रवेश खुला भयो । दुई तलाको त्यस विशाल जहाजमा केटाकेटी र युवाजति सबै माथिल्लो तलामा ठेलमठेल गर्दै थुप्रिए । माथिल्लो तला खुला भएकोले चारैतिरको दृश्य हेर्नलाई केहीले छेक्तैनथ्यो ।

तर, अत्यन्त जोडले हावा चल्ने हुनाले हामीचाहिँ तल्लो तलामै उभियौँ । हुन त त्यहाँ थुप्रै बेन्चीहरू पनि थिए, तर त्यहाँ बस्नका लागि को गएको हुन्छ र ! सबैजना उभिएरै दृश्यावलोकन गर्न चाहन्थे ।

झन्डै पन्ध्र मिनेट बित्न लाग्दा हाम्रो जहाज अल्काट्राज टापुको डकमा गएर रोकियो र एकएक गर्दै हामी सबै ओर्लियौँ । अल्काट्राज टापुको धरतीमा पाइला टेक्नेबितिक्कै मेरो शरीरभरि रोमाञ्चका काँडाहरू उम्रे्र ।

अन्ततोगत्वा म मेरो फ्यान्टासीको भूमिमा पाइला टेक्न सफल भएँ भन्ने सोचाइले मन फुलेल भयो । ‘इस्केप फ्रम अल्काट्राज’ र ‘द रक’ चलचित्रका दृश्य–परिदृश्यहरू एकपछि अर्को गर्दै मानसपटलमा चुल्बुलाउन थाले ।

हामी ओर्लिएको ठाउँलाई डक् क्षेत्र भनिँदो रहेछ । केही फराकिलो र केही समतल रहेको त्यस प्रवेश क्षेत्रमा एउटा बुकस्टोर र पानी, जुस, क्यान्डी, अनि चुइगम बेच्ने पसल मात्र थिए ।

डक क्षेत्रबाट मास्तिर उक्लिएपछि खानेकुरा लैजान वर्जित भएकाले डक्मा कुनै रेस्टुरेन्ट वा फास्टफुड राखिएका छैनन् । केवल पानीको बोतल मात्र लैजान पाइन्छ । त्यहाँबाट टापुको टुप्पामा अवस्थित बन्दीगृहको उँचाइ १३० फिट रहेछ, जुन १३ तलाको भवन उक्लिएसरह हुँदो रहेछ ।

ठाडो उकालो भएको हुनाले शारीरिक रूपले अशक्त व्यक्तिहरूका लागि प्रत्येक आधा घण्टामा डकबाट एउटा विद्युतीय गाडी माथि बन्दीगृहमा जाँदो रहेछ र अर्को आधा घण्टामा माथिबाट तल फर्किंदो रहेछ । कस्तो राम्रो सुविधा ! वास्तवमा अमेरिकामा शारीरिक रूपले अशक्त व्यक्तिहरूका लागि झन्डैझन्डै सबै क्षेत्रमा आवश्यक सरसुविधाको राम्रो प्रबन्ध छ ।

हामी उकालो चढ्दै, फोटो खिच्दै अघि बढ्यौँ । साँच्चै नै उकालो निकै मापाको थियो । सुस्ताउँदै, टक्क अडिँदै, स्याँस्याँ गर्दै हामी बन्दीगृह पुग्यौँ । भित्र पस्नेबित्तिकै मेरो आङ ढक्क फुलेर आयो । त्यो आङ फुलाइ अल्काट्राज बन्दीगृह बारेको मेरो व्यक्तिगत ज्ञान वा भावनाका कारण भएको नभएर त्यस बन्दीगृहको समष्टिगत ऐतिहासिक प्रभावशालीताको कारण थियो ।

भित्र पस्नेबित्तिकै यस्तो भान हुन्थ्यो, मानौँ म कुनै विशालकाय ओडारभित्र छु, म पनि यसका खुँखार अपराधीसरह एक हूँ र म पनि यस बन्दीगृहमा लामो समयको लागि कैद हुँदै छु । चारैतिर स्टीलले बनेका सेलहाउस (कैदीलाई राखिने कोठा) को सञ्जाल थियो भने तिनीहरूमा सजिलै पुग्नको लागि ‘ब्रोडवे’, ‘पार्क एभेन्यू’जस्ता नाम राखिएका विभिन्न करिडरहरू थिए ।

करिडरको दायाँ–बायाँ तीन तलाका कैदी गृहहरू बनाइएका थिए । राष्ट्रिय निकुञ्ज सेवाका अनुसार थालनीमा अल्काट्राजमा ३४८ वटा कैदी कोठाहरू थिए, तर पछि भर्याङ बनाउनुपरेकाले ३३६ मात्र रहन गए ।

लाइनमा लागेर बढ्दै गएपछि एकठाउँमा पर्यटकहरूलाई निर्देशन गरिरहेको गार्डको अघि हामी पुग्यौँ । आफैँ घुम्ने कि गाइडेड रेडियो टुर लिने भनेर उसले सोध्यो । हामीले गाइडेड रेडियो टुर लिने भनेपछि उसले हाम्रो हातमा एउटा स्यानो टेपरेकर्ड र इयरफोन दियो अनि टुर गर्दा कसरी कुन बटन दबाउने त्यो सिकाइदियो ।

हामी दुवैले आ–आफ्ना टेपरेकर्ड हातमा लियौँ र गार्डले निर्देशित गरेको भर्याङतिर पाइला बढायौँ । त्यस भ¥याङबाट हामी अल्काट्राजको मुख्य स्थान पहिलो तलामा आइपुग्यौँ । त्यहीँबाट भ्रमण सुरु हुने भएकोले हामीले आ–आफ्ना टेपरेकर्ड स्टार्ट गर्यौँ र इयरफोन कानमा घुसार्यौँ ।

टेपरेकर्डको स्वीच अन गर्नेबित्तिकै अचानक कानको जाली नै फाट्लाजस्तो आवाज आयो, जुन स्टील नै स्टीलले बनेको बन्दीकोठाको ढोका लगाउँदा उत्पन्न हुँदो रहेछ । त्यस्ता अनेकौँ ढोकाहरू खुल्ने र बन्द हुने आवाजको अतिरिक्त ती बन्दीकोठाहरूमा रहेका कैदीहरूको सामूहिक होहल्ला पनि उत्तिकै कर्णभेदी सुनिन्थ्यो ।

त्यस टेपरेकर्डभित्र रेकर्ड गरिएका सबै प्रकारका आवाजहरू वास्तविक थिए र अल्काट्राज बन्दीगृह पूर्ण सञ्चालनमा भएको बेला टेप गरेर राखिएका थिए ।

गाइडेड रेडियो टु्रको सबैभन्दा रमाइलो पक्ष रहेछ सिलसिलेबार ढंगले पर्यटकलाई एकपछि अर्को दृश्य देखाउँदै, तिनका बारेमा सविस्तार वर्णन गर्दै पर्यटकलाई पूरा जानकारी दिनु ।

पृष्ठभूमिमा गार्ड तथा कैदीहरूले मच्चाएको कोकोहोलो र स्टील ढोकाहरूको बन्द हुँदाको गगनभेदी आवाजलाई छिचोल्ने प्रयास गर्दै टेपबाट गाइडले प्रत्येक सेल ब्लक (कैदीकोठाहरूको टोल) को बारेमा परिचय दिँदै, ती कोठाहरूमा कुन र कस्ता अपराधीलाई राखिएको थियो भन्ने जानकारी दिँदै हामीलाई घुमायो ।

एक ठाउँमा चारैतिर खुला भएको, करिब दश–पन्ध्रवटा नुहाउने शावरहरू भएको ठाउँमा हामी पुग्यौँ । त्यो कैदीहरूका निम्ति हप्तामा एक दिन नुहाउने ठाउँ रहेछ । मनमनै सोचेँ— सशस्त्र गार्डहरूद्वारा घेरिएर कसरी पन्ध्रजना कैदीहरू सर्वांग नग्न भएर नुहाउँथे होला !

त्यहाँबाट हामी कैदीहरूले खाना खाने मेस हलमा पुग्यौँ । त्यो कुनै खास थिएन । ठूलो छात्रावासमा वा सैनिक ब्यारेकमा देखिने खालको हल थियो । मिलाएर राखिएका बेञ्चका लहर थिए ।

खाना पस्किने ठाउँमा त्यस बेला प्रयोग भएका भाँडाकुँडा, डेक्ची अनि डाडु–पुन्यूँ सजाएर राखिएका थिए । अल्काट्राजका कैदीहरूलाई खानको निम्ति फगत एउटा थाल, एउटा चम्चा र एउटा मग दिने गरिन्थ्यो  ।

त्यो मेस हल सर्सर्ती रूपमा हेर्दा कुनै खास नलागे पनि अल्काट्राजको इतिहासमा सायद सबैभन्दा महत्त्वपूर्ण स्थान थियो, किनभने त्यसै मेस हलमा केही समयको लागि खाना खान सबै कैदीहरू भेला हुन्थे र त्यही मौकामा भाग्ने योजना बनाउने, रिसइबी साध्ने, समूहसमूहका नाइकेहरूले रवाफ छाँट्ने अनि गैरकानुनी रूपमा पैसा र लागुपदार्थको तस्करी गर्ने कार्यहरू हुने गर्दथे ।

त्यहाँबाट टेपरेकर्डले हामीलाई डी–ब्लकतिर लग्यो । त्यसले भनेअनुसार डी–ब्लक अन्य ब्लकहरूभन्दा बढी प्रख्यात थियो, किनभने त्यही ब्लकमा नै धेरैजसो खुँखार अपराधीहरूलाई राखिन्थ्यो । स्टीलका छडहरूले बनेको ढोका भएकाले बाहिरबाट भित्र राम्रै देखिन्थ्यो ।

बी–ब्लक र सी–ब्लकमा भएका कैदी कोठाहरू औसतमा पाँच फिट चौडा र नौ फिट लामा थिए । डी–ब्लकमा भएका कोठाहरू तुलनात्मक रूपमा केही ठूला भए पनि त्यो ब्लक अत्यन्तै अलोकप्रिय थियो कैदीहरूमाझ, किनभने डी–ब्लकमा कैदीहरूलाई चौबीसै घण्टा थुनिन्थ्यो र हप्तामा केवल एकपल्ट मात्र मनोरञ्जनस्थल जान दिइन्थ्यो । त्यो पनि एक्लै  ।    

प्रख्यात डी–ब्लकमा एउटा फोटो खिच्ने रहर लागेर आयो र श्रीमतीलाई ‘खिच है’ भन्दै म एउटा खुला कैदी कोठामा डराईडराई छिरेँ । छिर्नेबित्तिकै आङ ढक्क फुलेर आयो, एकतमासको डर पनि लागेर आयो ।

केही गरी त्यो ढोका लाग्यो भने म त खत्तम ! तर, एक्कैछिनमा मनलाई थाम्थामथुम्थुम पारेँ । सोचेँ– अल्काट्राज बन्द भएको चौवन्न वर्ष भइसक्यो, अब त्यो ढोका कुनै हालतमा पनि बन्द हुनेवाला छैन ।

त्यस्ता सोचाइहरूलाई पञ्छाउँदै मैले कोठाको निरीक्षण गरेँ । पहिले भनेझैँ कोठाको आकार ५’ गुणा ९’ भन्दा अलिकति ठूलो थियो । एकातिर कुनामा सिटविनाको ट्वाइलेट कमोड थियो र त्यसको छेउमा एउटा अत्यन्तै स्यानो वाशबेसिन थियो ।

एकापट्टि भित्ताको छेउमा एउटा स्यानो खाट थियो । ती चिजका अतिरिक्त त्यस कोठामा अरू कुनै चिज थिएन । सरसफाइको कुरा गर्ने हो भने त्यो बन्दीगृह बन्द भएको बेलामा ट्वाइलेट, वाशबेसिन र खाटको जे अवस्था थियो, आज चौवन्न वर्षपछि पनि ठ्याक्कै त्यस्तै थियो ।

ट्वाइलेट र सिङ्क (वाशबेसिन) अत्यन्तै फोहोर थिए भने खाटमा भएका ओढ्ने–ओछ्याउने पनि अस्तव्यस्त थिए । भित्ताहरूमा अनेक चित्रहरू र लाइन कोरिएका थिए । यस्तो लाग्थ्यो, मानौँ अल्काट्राज सन् १९६३ मा बन्द हुँदा समय पनि ठ्याक्कै त्यही बेला सदाको लागि बन्द भएको थियो !

पहिले मैले स्टीलका छडहरू पछाडि बसेर आफू पनि कैदीजस्तै भएको देखाउन फोटो खिचाएँ । त्यसपछि दिङदिङ मान्दै म गएर खाटको पुछारमा बसेँ । श्रीमतीले खित्रिक्क फोटो खिचिदिइन् । एक छिनको लागि मैले आफूलाई पनि त्यस कोठामा कुनै बेला थुनिएको कैदीझैँ अनुभव गरेँ । यो पनि एउटा चिनो हुनेछ भन्ने सोच्दै हामी टेपरेकर्डको निर्देशनमा अगाडि बढ्यौँ ।

हाम्रो अर्को गन्तव्य थियो त्यसै वार्डमा रहेको सोलिटरी कन्फाइन्मेन्ट् सेल अर्थात् अनुशासन भंग गर्ने वा नटेर्ने वा अति दुःख दिने अपराधीहरूलाई सजायस्वरूप थुन्ने कोठा । छवटा यस्ता कोठामा कैदीलाई एक्लै मात्र होइन चौबीसै घण्टा पूर्णतः निस्पट्ट अन्धकारमा राखिन्थ्यो ।

यसका भित्ताहरू र ढोका समेत साउन्डप्रुफ बनाइएका थिए। जसको कारण भित्रको आवाज बाहिर जाँदैनथ्यो र बाहिरको आवाज भित्र सुनिँदैनथ्यो । यस्ता सेलमा कैदीलाई जम्मा उन्नाइस दिन राखिन्थ्यो । यी कोठाहरूको अर्को नाम पनि थियो ः होल, जसको निकटतम नेपाली रुपान्तर सायद ‘कालकोठरी’ नै हुनसक्छ्र ।

यस्तो कालकोठरीमा उन्नाइस दिन बिताएर पुनः आफ्नो पुरानो कोठामा वापस फर्काइएको एक बन्दी जिम् क्वीलेनले रिहाइपश्चात् लेखेको ‘इनसाइड अल्काट्राज ः माई टाइम अन द रक’ संस्मरणात्मक पुस्तकमा त्यस कालकोठरी बारे गरेको संक्षिप्तिकृत बयान चाखलाग्दो छ–

त्यस कालकोठरीमा एक दिन बिताउनु भनेको कहिल्यै नसिद्धिने एक दिन हुन्थ्यो । दिनको थालनी बिहान ६ः३० बजे हुन्थ्यो, जब बत्ती निभ्थ्यो अनि कानका जाली फाट्लाजस्तो आवाजले घण्टी बज्थ्यो । त्यसको लगत्तै गार्डले बाहिरपट्टि रहेको ठोस साउन्डप्रुफ ढोका खोल्थ्यो अनि गर्जिँदै खाटबाट उठ्ने आदेश दिन्थ्यो र एक छिनपछि ढोकामा भएको एउटा गुप्त प्वाल खोलेर एउटा थाल भित्र घुर्क्याइन्थ्यो, जसमा बिहानको खाना हुन्थ्यो ।

करिब बीस मिनेटजति पछि थाल वापस लगिन्थ्यो । तत्पश्चात् आफू सुतेको बेडिङ्ग पट्याएर बाहिरी र भित्री ढोकाको बीचमा रहेको तीन फिटको स्यानो ठाउँमा राख्न लगाइन्थ्यो । यो कार्य नसकिउञ्जेल गार्डले ढोकामा रहेको एउटा आँखीझ्यालबाट चेक गरिरहन्थ्यो ।

बेडिङ राखेर भित्री ढोकाबाट कोठामा छिरिसकेपछि बत्ती निभाइन्थ्यो र भित्री र बाहिरी ढोका बन्द गरिन्थ्यो । कैदी पूर्णतः अन्धकारमा त्यस कोठामा रहन्थ्यो ।

त्यस कोठामा एकजना मात्र अटाउने एउटा फलामे खाट, एउटा वाशबेसिन, एउटा ट्वाइलेट मात्र थिए । अरू केही थिएन । त्यहाँ पूर्ण निस्तब्धता व्याप्त थियो । त्यसको साथै त्यो कोठा अत्यन्तै चिसो थियो ।

कैदीलाई दिइने सीमित कपडामा एउटा कट्टु, एकजोर मोजा अनि हेर्दै खोलजस्तो देखिने एउटा ‘कमेज’ हुन्थे । स्टीलका भित्ता र भुईँले चिसो जमाइराख्ने भएकाले त्यति वस्त्रले जाडो छेल्न असम्भव हुन्थ्यो ।

तर, जाडोभन्दा पनि ठूलो कुरो त आफू पूर्ण रूपले संसारबाट बिल्कुलै अलग्गिएको अनुभूति हुनु नै थियो । जसको कुनै प्रकारको शारीरिक अपांगता छैन त्यस्ताका लागि केही पनि देख्न नसक्नु र केही पनि सुन्न नसक्नु भयंकर अनुभूति हुन्थ्यो ।

मैले सोचेँ— जब पूर्ण अन्धकार र पूर्ण निस्तब्धता चौबीसै घण्टा मेरा साथी हुने हो भने मेरो मस्तिष्कलाई व्यस्त राख्न मैले केही उपाय अपनाउनै पर्थ्यो । नत्र म केही दिनमै पागल हुन सक्ने थिएँ । त्यसैले पागलपनले नसमातोस् भन्नाका लागि मैले एउटा खेल आविष्कार गरेँ, टाँक खोज्ने । आफ्नो कमेजको एउटा टाँक निकाली त्यसलाई हावामा फ्याँक्ने ।

त्यो टाँक भुईँमा खसेपछि उभिएको ठाउँमा तीन–चारपल्ट फनफनी घुम्ने । त्यसपछि आँखा चिम्म गरी हात र घुँडा टेकेर त्यो टाँक खोज्ने । टाँक भेटिएपछि फेरि खेल सुरु गर्ने । यसप्रकारले त्यस बेलासम्म गरिरहने जबसम्म थकाइले चूर हुइँदैनथ्यो वा घुँडा रगताम्मे हुँदैनथे ।

जब टाँक खोज्ने काम दुसाध्य हुन्थ्यो अनि म ट्वाइलेटदेखि ढोका, ढोकादेखि ट्वाइलेटका बीच निरन्तर रूपले हिँड्थेँ । यदि, बिहान र बेलुकीको खाना दिन ढोका नखोलिने हो भने कुन दिन कुन रात छुट्ट्याउन सकिँदैनथ्यो ।

बेलुकीको खानापछि बिहान थन्काएको ओछ्यान वापस खाटमा ओछ्याई सुत्ने प्रयत्न गर्थेँ । एकान्त कैद एकपल्टमा उन्नाइस दिन दिने नियम थियो । यदि, कैदीले राम्रो आचरण गर्यो भने उसलाई पुनः वापस ल्याइँदैनथ्यो, गरेन भने उसलाई आफ्नो सेलबाट निकालिन्थ्यो, खान दिइन्थ्यो अनि दाँत माझ्न लगाएर फेरि अर्को उन्नाइस दिनको कालकोठरीवासको सजाय दिइन्थ्यो । साधारणतः पहिलो उन्नाइस दिनको चक्र नै प्रशस्त हुन्थ्यो ।

कालकोठरीको उन्नाइस दिनको कैद भुक्तान गरी म आफ्नो पहिलेको आम सेलमा फर्किएँ । (अल्काट्राजमा प्रत्येक कैदीलाई एक्लाएक्लै राखिन्थ्यो—ले.) दिनहरू पटक्कै चिप्लिँदैनथे । कुनै किसिमको एक्टिभिटी नहुने भएकाले मानिस निराशा र हताशपनामा चुर्लुम्मै डुब्थ्यो ।

आफू कहाँ छु र कस्तो अवस्थामा छु र जीवनमा प्राप्त गरेको सबै चिज यही नै हो भन्ने खरो अनुभूतिलाई केहीले पनि छोप्न सक्तैनथ्यो । जसले मानिसलाई बनायो उसले मानिसलाई खोरभित्र जीवनयापन गराउनुपर्छ भन्ने अभिप्राय कहिल्यै राखेन होला । कहिलेकाहीँ मलाई लाग्थ्यो, यस्तो अवस्थामा जिन्दगी बाँच्नु के उपयुक्त छ ?

आफू तन्नेरी भएकाले आत्महत्या गर्ने वा बौलाएर जाने कैदीहरूप्रति मेरो सहानुभूति कहिल्यै रहेन, किनभने यस्तो अवस्था आउनुमा उनीहरूका आफ्नै कर्तुतहरू जिम्मेवार थिए । यदि, कसैले कुनै गेम खेल्छ भने उसले त्यसको मूल्य पनि चुकाउन तयार हुनुपर्छ भन्ने मेरो दर्शन अनुरूप नै मैले सदा आफ्नो जीवन चलाउँदै आएको छु ।

तर, उन्नाइस दिनको कालकोठरीको बास र त्यसपछिको निरन्तर कैदले मलाई के सोच्न बाध्य बनायो भने माथि भनिएको कुरा तबसम्म मात्र सत्य हुन्थ्यो, जबसम्म मानिसमा आस जीवितै रहिरहन्थ्यो । आस नै मरिसकेपछि ती सब कुरा मनको लहड मात्र हुन्थे ।

यस कुराको पुष्टि मेरा लागि तुरुन्तै भयो । म कालकोठरीबाट निस्किएको केही दिनपछि डी–ब्लकको एकजना कैदी कुनै उपायले आफ्नो नाडी र कुहिनोका मुख्य धमनीहरू काट्न सफल भयो । त्यसपछि ऊ खाटमा लम्पसार परेर सुत्यो, ओढ्नेले पूरा शरीर तथा मुख छोप्यो अनि अत्यधिक रक्तस्राव गराउँदै केही बेरमै मर्यो । उसले आफ्नो मुक्ति पायो ।

यो यस्तो मुक्ति थियो जसका बारेमा सोच्न त सजिलो हुन्छ, तर कार्य रूपमा परिणत गर्न कठिन । हाम्रा इन्द्रीयहरूले हामीलाई जीवितै रहन उत्प्रेरित गर्दछन् । निराशा र हताशपनको अन्तिम बिन्दुमा पुगेपछि मात्रै मानिस माथि भनिएजस्तो अन्तिम निर्णय गर्न सफल हुन्छन् ।

अल्काट्राजमा आत्महत्या आक्कलझुक्कल मात्र आउने सोच हुँदैनथ्यो । अत्यन्तै कडा सुरक्षा व्यवस्थाको कारण र आत्महत्या गर्न आवश्यक उपकरणको अभावले गर्दा यस्ता घटनाहरू सजिलै घट्न पाउँदैनथे । (लन्डनबाट प्रकाशित हुने अंग्रेजी पत्रिका ‘द टेलिग्राफ’ मे ८, २०१८ बाट साभार)

वास्तवमा नै मैले त्यो कालकोठरी जोन क्वीलेनले वर्णन गरेजस्तै एकदम त्रासदायी पाएँ, यद्यपि कोठाका दुवै ढोका खुला थिए र त्यहाँ प्रशस्त प्रकाश थियो । उन्नाइस दिनसम्म चूक घोप्ट्याएजस्तो अन्धकारमा, मुटु नै छेड्ने चिसोमा अनि पूर्ण निस्तब्धतामा कैदीहरूले कसरी समय कटाए होलान् भन्ने सोचाइमा निकै बेरसम्म मेरो मथिङ्गल खल्बलिरह्यो ।

साथै, नयाँ वर्षको उपलक्ष्यमा स्यानफ्रान्सिस्को सहरमा हुने गरेको आतीसबाजीको आवाज सुनेर आम बन्दीकोठामा थुनिएका कैदीहरूको मन कस्तरी थक्कथक्क गर्थ्यो होला !

डी–ब्लक, कालकोठरीजस्ता प्रसिद्ध र ऐतिहासिक पक्षहरूको अवलोकन गरिसकेपछि अन्य खास दर्शनीय पक्ष केही थिएनन् । अँ, मलाई ‘द रक’ फिलिममा खलनायकले अल्काट्राजको भित्री बुर्जाबाट स्यानफ्रान्सिस्कोतर्फ प्रहार गर्न लागेको क्षेप्यास्त्रको दृश्य संस्मरण भएर आयो ।

त्यसका बारेमा एउटा गार्डलाई सोध्दा त्यस्तो प्रकारको भित्री बुर्जा त्यहाँ नभएको र सम्भवतः त्यो स्पेसल इफेक्ट विभागले कतै स्टुडियोमै निर्माण गरेको सेट थियो । अर्को कुरा, फिलिममा तहखाना पनि देखाइएको थियो, जसभित्रबाट भएर सन् कनेरी र निकोलस केज बन्दीगृहको क्षेत्रमा पुगेका थिए ।

त्यसबारे सोध्दा गार्डले त्यस्तो तहखाना त भएको तर त्यस क्षेत्रको भौगोलिक अवस्था अत्यन्तै सोचनीय भएकाले त्यो क्षेत्र पर्यटकहरूको प्रवेशका लागि निषेधित रहेको कुरा बतायो ।

प्रायजसो हेर्नुपर्ने ठाउँहरू हेर्ने काम सकिएपछि हामी टेप रेकर्ड जिम्मा लगाउँदै बन्दीगृहको बाहिरी बार्दलीतर्फ लाग्यौँ । त्यहाँबाट स्यानफ्रान्सिस्को सहर अत्यन्तै भव्य देखिन्थ्यो । साँच्चै नै त्यस महानगरका बारेमा सुनेका प्रशंसाका अभिव्यक्तिहरू सत्य रहेछन् ।

अर्कोतिर, मेरो ध्यान महानगर र अल्काट्राजको बीचमा रहेको स्यानफ्रान्सिस्को खाडीको पानीतर्फ पनि तानिइरहेको थियो । माथि सतहमा हेर्दा शान्त र स्थिर देखिने त्यो जलाशयको मुन्तिर तीव्र गतिले दगुरिरहेको धारको सामना ती भगुवा कैदीहरूले कसरी गरे होला ? एक दर्जनजति चोरिएका सैनिक बर्शादी (रेनकोट) बाट जसोतसो बनाइएको ‘नौका’ मा मध्यरातमा चढेर नाम मात्रको पतवार चलाउँदै ती पाँचजना कैदी कसरी भागे होला ?

सतहमुनि दगुरिरहेको शक्तिशाली धारले उनीहरूको नौकालाई स्यानफ्रान्सिस्कोतिर घचेट्यो कि गोल्डेनगेट पुलमुन्तिर हुँदै प्रशान्त महासागरमा लगेर थचार्यो ? नौका केही छिनमै पानी भरिएर कैदीहरूसहित डुब्यो कि कुनै समुद्री जनावरले तानेर उनीहरूलाई खायो ?

त्यसो भएको भए कतै न कतै उनीहरूका हाडखोरका टुक्रा पानीको सतहमा तैरिनुपर्ने ! आज चौवन्न वर्ष भइसक्दा पनि न त उनीहरूको न त नौकाको नै कुनै अवशेष भेटिनु के चमत्कार हो ? कहाँ गए त ती ?

यस्ता सोचाइ एकपछि अर्को गर्दै फाड्दोल ठोकेर मेरो मथिङ्गलमा सल्बलाए । तर, दुर्भाग्यवश ती प्रश्नमध्ये एउटाको पनि सही उत्तर कसैले दिन नसक्ने हुनाले मैले त्यसबारे सोच्नु नै मूर्खता हुने ठहर गरी टाउकोलाई एक झट्का दिएँ । सबै विचारहरू तितरबितर भए ।

अपराह्नको चार बजिसकेको थियो । हामी दुवै बन्दीगृहबाट निस्केर ओरालो लाग्यौँ । डक्मा आइपुग्दा फेरी पनि भर्खरै आइपुगेर यात्रुहरूलाई ओराल्दै थियो । केही छिनमा हामी पनि त्यही फेरी चढेर स्यानफ्रान्सिस्को फर्कियौँ ।

एक घण्टाजतिपछि भदै अमीषा हामीलाई लिन आइपुगिन् । स्यानब्रुनोतर्फ फर्किंदा यस्तो अनुभूति भयो, मानौँ हामी अझ पनि अल्काट्राजमै छौँ र त्यसैको ऐतिहासिकता अनि रहस्यभित्रै रुमलिरहेका छौँ ।

(निरोलाको हालै सार्वजनिक नियात्राकृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’बाट ।)    
    
    
    
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक १२, २०७९  ०८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement