काठमाडौं । हरिवंश आचार्यकी श्रीमती बितेकी हुन्छिन् । त्यो पनि धेरै वर्ष अगाडि । जेठो छोरो स्कुल सञ्चालन गरेर बसेका हुन्छन् । कान्छो डिपेन्डेन्टमा विदेश जाने तयारीमा । त्यसकै लागि कान्छो छोरो आफूलाई कसले विदेश लैजान्छ, खोजीमा हुन्छन् । जेठो छोरो स्कुलको व्यवसायमा व्यस्त, कान्छे विदेशको चक्करमा व्यस्त । हरिवंश घरमा एक्लै । तर, उनको छवि समाजमा यस्तो बनेको छ, उनलाई धेरैले भन्छन्– महापुरुष । र, गर्छन् आदर । यतिसम्मकी उनको टोलकै नाम छ, आदर्शनगर । आदर्शनगरको आफ्नै नियम छ । त्यो नियमभित्र आफूलाई बाँध्न सक्नेलाई मात्र आदर्शनगरको ढोका खुल्छ, अन्यथा सधैँ बन्द । आदर्शनगरको पनि आदर्श पुरुष हुन्छन् हरिवंश, जो सर्वप्रिय छन् । त्यसैले त भगवान्जस्ता आफ्ना बाको पुस्तक निकाल्ने अन्तिम तयारीमा जेठो छोरा छन् ।
यता, हरिवंश भने घरमा एक्लो जीवन बिताइरहेका छन् । उनको साथी सुगा भएको छ । त्यसैसँग बस्छन्, आफ्नो भावना साट्छन् । राति अबेरसम्म सुगासँगै एकोहोरो संवाद गरिरहन्छन् । यो कथा अहिले हलमा चलिरहेको चलचित्र ‘महापुरुष’को हो । सिनेमाको पूर्ण कथा के हो जान्न चलचित्र नै हेर्नुपर्छ ।
यो सिनेमाको ट्रेलर रिलिज भएपछि धेरैले अड्कल काटे– महापुरुषको कथा हरिवंश स्वयंको वास्तविक कथा हो । केही समय अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा उनले यही प्रश्नको सामना गरे । “मेरो जिन्दगीको पूरै कथा होइन । तर, ढाँट्नुपर्ने केही कुरा पनि छैन । मेरो जिन्दगीको अथवा मैले भोगेको केही अंश भने हो,” उनले जवाफमा भनेका थिए ।
हरिवंशकी श्रीमती मीराको निधन भएपछि केही समय उनी एक्लै भए । जेठो छोरा अमेरिकामा थिए । कान्छो घरमा । तर, उनको आफ्नै काम थियो । हरिवंश घरमा एक्लै हुन्थे ।
उनलाई काम गर्न मन लागेन । घरमै बसिरहन्थे । एक्लोपनले गाँजेको थियो । उनी जिन्दगीभर काम गरेको र आफूलाई चिनाएको कलाकारिता क्षेत्रबाट नै सन्न्यास लिने सोचिरहेका थिए । यो सब नजिकबाट नियालिरहेका थिए, प्रदीप भट्टराईले । जो महसञ्चारमा लामो समयदेखि हरिवंश र मदनकृष्ण श्रेष्ठसँगै काम गरिरहेका थिए ।
एक्लोपनले मान्छेलाई कति विक्षिप्त बनाउँछ, प्रदीपले नजिकबाट देखेका थिए । त्यसैले उनले योपटक सोचे– चलचित्रमार्फत यही कथा भन्नुपर्छ ।
पछिल्लो समय श्रीमती बितेर श्रीमान् वा श्रीमान् बितेर मात्र श्रीमती एक्लो भइरहेका छैनन् । छोरोछोरी विदेश जाँदा पनि अधिकांश बाआमा एक्लो भएका छन् । यति मात्र पनि होइन, घरमै छोराबुहारी हुँदा पनि उनीहरूले बिताउने व्यस्त समयले बाआमा एक्लो भएका छन् । त्यो समय न उनीहरूसँग बोलिदिने कोही छ न त भावना साट्ने कोही । यसैलाई टपक्क टिपेर बहस चलाउनुपर्छ भन्ने प्रदीपलाई लाग्यो । र, उनले यही कथा तयार पारे ।
हरिवंशको जिन्दगीको कथा हो तपाईंको सिनेमाको कथा ? “होइन, समग्र एक्लो जिन्दगी बिताइरहेकाहरूको कथा हो । भलै, मैले मीरा भाउजू बितेपछि उहाँले पनि केही समय एक्लो जीवन बिताउनुभयो । त्यो बेलाको उहाँको एक्लो र निरस जीवन मैले देखेको थिएँ । त्यसैले उहाँको जीवनको केही कालखण्ड मिल्छ,” प्रदीपले जिज्ञासा मेटाए ।
प्रदीपलगायत व्यक्तिको समूहले नै हो हरिवंश कलाकारिता नै छोड्छु भनेर बसिरहेका बेला कर गरेर ‘स्याबास !’ नामक टेलिफिल्म खेलाएको । त्यो श्रीमती बितेको १६ महिनाको अन्तरपछिको हरिवंशको सिर्जना थियो ।
कथा त प्रदीपले लेखे, अब समस्या थियो– हरिवंशलाई कसरी प्रस्ताव गर्ने भन्ने । कतै मेरै कथा पनि मिसाएछ भन्नुहुने पो हो कि ! उनमा डरले घर ग¥यो ।
तर पनि यो विषय सिनेमामार्फत उठाएर बहस सुरु गर्नुपर्ने थियो । त्यसैले उनले हिम्मत गरे हरिवंशलाई कथा सुनाउने । तर, उनले एकैपटक हरिवंशसहित श्रीमती रमिला र छोरो मोहितलाई सँगै राखेर सुनाए । हरिवंश सरप्राइज भएको देखेर प्रदीप नै सरप्राइज भए । उनले यति सहज रूपमा हरिवंशले लिनेछन् भन्ने सोचेकै थिएनन् ।
“कथा सुनिसकेर दाइले बोलेको पहिलो शब्द हो– मैले गर्न सक्छु त ?,” प्रदीप स्मरण गर्छन्, “यति सहज रूपमा लिनुहुन्छ भनेर मैले सोचेको पनि थिइनँ ।” त्यसपछि सुरु भएको हो समाजमा बहस सिर्जना गर्ने विषयलाई सिनेमामा रूपान्तरणको अभियान ।
समाजले जबरजस्त बनाइदिएको छविलाई जोगाउन व्यक्ति कसरी गुम्सिएर बसिरहेको छ र त्यसले उसमा कस्तो असर गरिरहेको छ ? सिनेमामार्फत प्रदीपले भन्न खोजेको विषय थियो ।
नेपाली समाजले बाआमाले छोरोछोरीका लागि जस्तोसुकै त्याग गर्छन् भन्ने छवि बनाइएको छ । आफूसँग केही छैन भने पनि दिनैपर्छ भन्ने मनोविज्ञानबाट नेपाली समाज निर्देशित छ ।
“अरूलाई दिन त देऊ, तर आफू पनि नरित्ती भन्ने यो सिनेमामार्फत भन्न खोजेका हौँ । सन्तानलाई खुसी दिने नाममा आफूचाहिँ दुःखी नबन भन्ने हाम्रो उद्देश्य हो,” प्रदीप अगाडि थप्छन्, “हामीले आदर्शको नाममा आफ्नो खुसीलाई बन्दकी नराख भनेका छौँ ।”
चलचित्रले श्रीमती गुमाएका पुरुषले विवाह गरेर गुमेको खुसी फर्काउन किन नहुने भन्ने प्रश्न गर्छ । तर, विवाह त आफूले देखाउन खोजेको कथा भन्ने माध्यम मात्र भएको प्रदीप स्पष्ट पार्छन् ।
कसरी मान्छेले गुमेको खुसी फर्काउन सक्छ, त्यो आफूले भन्ने खोजेको र यसमा सिनेमाको एउटा इलिमेन्ट्स द्वन्द्व सिर्जना गर्न विवाहको कथा घुसाइएको उनी बताउँछन् ।
“गृहस्थी जीवन सबै ठिक छ । तर, एक्लै भएकै कारण दुःखी भएको हो भने आदर्शका नाममा खुसीलाई तिलाञ्जलि दिने कि त्यसको विकल्प खोज्ने भन्ने हाम्रो उद्देश्य हो,” प्रदीप जसरी हुन्छ खुसी खोज्नुपर्ने तर आदर्शको जलप लगाएर भित्रभित्रै गुम्सिएर बस्नु गलत भएको जिकिर गर्छन् ।
छोराछोरी जतिसुकै सफल, सक्षम र इमानदार भए पनि कहिल्यै बाआमालाई तपाईंहरू खुसी हुनुहुन्छ ? तपाईंहरूको रहर के छ ? भनेर सोध्छन् ? अधिकांशले यो आवश्यकता देख्दैनन्, जसरी ‘महापुरुष’मा छोराहरू स्वयं बाको बिहे रोक्न खोज्छन् । यसका लागि अनेक जालझेल र तिकडम गर्छन् ।
बाआमा भन्नेबित्तिकै छोराछोरीको खुसीका लागि जे पनि भोग्न तयार हुनुपर्छ भन्ने सोच सही छ ? उनीहरूलाई खुसी हुने अधिकार छैन ? ‘महापुरुष’ले समाजमा छेड्न खोजेको बहस हो । यसले यो सामर्थ्य राख्छ वा सक्तैन त्यो त दर्शकको मूल्यांकनमा भर पर्छ ।